Nepalese Folk Music

Monday, March 9, 2015

longest prank

मेरो एकजना साथीले सानो स्कुले हुँदा मलाई ढाँटेको रैछ । न्याउरो मुख लगाएर "म त एक्काईस् बर्ष सम्म मत्रै बाँच्छु हरे" चिना हेर्दिने ज्योतिषीले भनेको  भनेर त्यो सानो टाउको हल्लाएको अनुहार मलाई अझै याद छ । साह्रो माया लागेको थियो । बिचराको के-के गर्ने सपना अधुरो नै हुने भ भन्दै सम्झेर एकदमै बिस्वाद लागेको थियो । त्यसपछि SLC पनि सक्यो, समय पनि बित्दै गयो । म एककाईस् बर्ष पुग्दा तेस्लाई एक्चोटी सम्झिएको थिए । अन्त धेरै बर्ष पछि अचानक त्यो फलानो साथीको facebook पेज देख्दा "अपुई यो त जिउँदै पो छ??" जस्तो लागेको थियो।  साथी देख्नु पाउदा त खुसी नै लाग्यो तर हरेक बर्ष बित्दै जाँदा, "ए! यो त फेरि यो बर्ष पनि बाँचेछ!" खाले कुरा दिमागमा आईराख्ने ।

Friday, March 7, 2014

कहिले होला फेरी

त्यो बेला घरमा धमिलो पहेलो चिम मतै थ्यो । गरम महिना । भान्सामा बसेर खाँदा पसिना आउने । छतमा शित्तल हावा । एकदिन जुनको उज्यालो छर्‍लङ्गै न्युजपेपर पनि पढ्नुमिल्ने खाले हुँदा आमाले "जा, गुन्द्री लेर बिछा, आजु चै माथि छतमै बसेर खाने" भन्दै कुकरमा पाकेको भात लेउनु जानुभह् । दिदीहरुले चै करहैमा पाकेको तर्कारी ।

मुनलिट डिनर भन्दै भड्डुमा पाकेको दाल डाँडुले भातमाथि खनाई गज्याङ् गज्याङ् मुछेको यो हातले, आँखा चिम्लेर ठुल्ठुलो गाँस मुखमा हाल्दा, हावाले पसिना सुकाउदै लगाको भेस्ट फररर हल्लाउदा साह्रो मजा आको थ्यो । आज बाहिर जुन देख्दा त्यैकुरा याद आयो । एकैछिन आँखा चिम्लेर गाँस हालेको पनि सम्झिए ।

Saturday, October 5, 2013

interview aftermath

जब एउटा अमेरिकीले गल्ति गर्छ, अमेरिकी द्रीष्टिकोणले, त्यो गल्ति खाली उसैको मत्रै हुन्छ । बाँकी अमेरिकी समाजले उसको गल्तिलाई आफ्नो गल्ति भन्ठान्दैनन् । individualistic society. 

तर नेपाली दृष्‍टिकोणले, जब एउटा नेपालीले कुरा फुस्काउछ, त्यो बेला सारा नेपालीले उसको actions लाई आफ्नै actions सरह मानेर लाज भाको महसुस् गर्छन् । communitarian society.

जो जो रिसाए, उनीहरुमा collectiveness ताजै रैछ । 
जो जो रिसाएनन्, उनिहरु individualistic?

American हुनलाई भित्रको गुदी पनि change हुनुपर्ने रैछ कि क्या हो? hehe.

Sunday, September 15, 2013

तर्कै तर्क

अचानक आधा रातमा उठेर टाइप गर्नु बस्दैछु । सम्झेको बेलामा लेखिहालुम् नत्र भोलि बिहान उठ्दा सम्म बिर्सिसक्छु अन्त लेखिहाल्नु पर्ने रैछ थुईका!!! जस्तो नहोस् भनेर लेख्दैछु । नेपालमा वास्तविक्तामा आधारित "द् ग्रेटर नेपाल" जस्तो डक्युमेन्ट्री चै प्रसारण निषेद अनि इतिहास बंगाइएको हिन्दी सिरियल चै प्रसारण गर्नु मिल्ने हरे । यो चै मैले बुझिन ।

खास कुरा भन्दा, म बुद्ध भारतमा जन्मेको भनेर सुन्दैमा साँसै फेर्न नसक्ने मान्छे पनि होइन् । रिसाएर धोती धोती भन्दै फेस्बुकमा अघिबढेको नेपाली ठेलामा झ्वाम्मै हामफाल्ने खालेपनि होइन । डलरमा कमाईराकोछु, खान लाउन पुगिराछ, के मत्लब । तर भित्तामा दुलोबाट पानी चुहिराको छ भने आफ्नो औंलाले नटाले पनि अर्कालाई देखाउनु त पाईयो नि हैन र?

यो सबै बुद्ध-भारत-नेपाल-बहस पछाडी खास के रहस्य छ, त्यो त जान्नेहरुलाई नै थाहा होला तर नेपालमा जति कराएपनि छिमेकीले नेपाली च्यानल हेर्दैनन् क्यारे ! अनि तर्कलाई तर्कैले काट्नु पर्छ भन्छ त्यैमाथि कोसैलाई पनि हानी नपुराईकिन विवादलाई तर्कै तर्कले बहस गर्नु त लामाहरुलाई पनि सिकाईन्छ नि हैन र?
त्यसैले आजु उनिहरुले दिएको तर्कलाई खोताल-खाताल पारेर हेरुम् । जसरी भारतिय मिडियाले सिद्धार्थ गौतम नेपालमा जन्मेको तर बुद्धत्व भारतमा प्राप्त गरेकोले बुद्ध भारतमा जन्मेको भन्छ, यो गलत तर्क हो । यो faulty logic अनुसार मोहनदास करमचन्द को जन्म भारतमा तर गान्धित्त्व ब्रिटिस शिक्षा फल्स्वरुप भनौ वा महात्मा गान्धीको जन्म दक्षिण अफ्रिकामा भाको हो भन्नु मिलेन र? यी कुरा नभए गान्धी पनि हुने थिएनन् । यसै अनुरुप हामीहरुको ज्ञान यी महान व्यक्तिहरुको जतिको praiseworthy नरहे पनि जन्म चै नेपालमा तर अमेरिकामा ज्ञान हासिल गरेकोले तर्क अनुसार आफैलाई अमेरिकी भन्नु पाईनुपर्ने हो हैन र? (रहर छ भने. lol) उदाहरणको लागि मान्नुस् तपाईले गुगलमा काम पाउनु भो । तर त्यहा काम गर्दा बखत तपाईलाई आफ्नै नयाँ बिज्नेस गर्ने आईडिया आयो भने त्यो आईडिया तपाईको हुनेछ वा गुगलको? तपाईको सोच माथि कसैले अधिकार वा हक जमाउनु जायज छ कि छैन? जब तपाईको सोच फुर्नु पछाडी सानै देखिनको व्यवहार देखि लिएर धेरै अन्य कुराहरुले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । त्यसलाई credit दिने कि नदिने?

आखिर तर्ककै कुरा गर्ने हो भने बुद्धले बुद्धत्व हासिल गर्नु पछाडीको श्रोत नेपालबाटै बटुलेर लगेका हैनन् त? बुद्धलाई गयामा ठुलो रुखको छाहारी मात्रै त मिल्यो जहाँ  उनले धेरै समय आँखा चिम्लेर ध्यानमै बिताए । आखिर चिन्तन बस्तु र प्रेरणाको श्रोत नेपालबाटै लगेका नै त हुन् भन्नु मिल्दैन र? त्यो बेला गयामा, "यो रुखमुनि बस्छु है" भनेर भारत सित कुनै intellectual property बारे सम्झौता भाको contract paper त sign गरेको थिएनन् होलान् नि बुद्धले। कि कसो?



Saturday, September 15, 2012

Thursday, May 24, 2012

किन होला?

मेरो दाईले मलाई धेरै माया गर्छ । सँगै खाना पनि ख्वाउछ । होमवर्क पनि नगरिकिन मो सित मतै खेलिरान्छ अन्त आमाको गाली खान्छ । तर मेरो दाई आजभोलि म सित धेरै खेल्दैन । मलाई अलिक सन्चो पनि छैन । छाद्ने र छेर्ने, मुखबाट र्‍याल बग्ने के भाको हो कुन्नि मलाई ? टोल तिर बौलाएको कुकुरहरुलाई नगरपालिकाले जहर ख्वाउदै मार्छ हरे भनेर आमाले कुरा गर्नुभाको त सुनेको हो । एकदिन आमाले दाईहरुलाई ठुलै काम अह्राउनु भयो क्यारे । दुर्गा दाईले बाहिर जान साईकल निकाल्नु भयो । मेरो दाई पनि म तिर आउनुभयो । दाईले मलाई पक्रेर माया गर्नुभयो, एकैछिन खेल्यौ, टाउको सुम्सुम्याउनु भयो । म धेरै खुसी भए । दाईहरुले मलाई पनि सँगै घुमाउन लैजानु भयो । म झन खुसीले उफ्रिनु थाले र रमाउदै दाईहरु सितै गए । अगाडी दुर्गा दाईले साईकल चलाउनु भाको थियो र पछाडी मेरो दाईले मलाई भुईमा नलडोस् भनेर राम्रो सित पक्रिनु भएको थियो । साईकलमा बस्दा हावा मज्जाले लाग्दरैछ । दाया र बाया हेर्नु रमाईलो हुदारैछ । बाटोमा कति धेरै मान्छेहरु । कैले नदेखेको सबै नया नया कुराहरु हेर्नु पाईने । सधै दाईसित हिडेर घुम्नु जाँदा, आधा बाटो बाटै फर्किहाल्नु पर्ने तर आज त निकै पर सम्म जानु पाईयो । रमाईलो लागिराको थियो । बजार हेर्दै जाँदा रमाईलो भैराको थियो । पछि बजार पनि सकिन्दै गएपछि ठुलोठुलो ट्रकहरु मत्रै देख्खिनु थाल्यो । मान्छेहरुको भिंड पनि थोरै हुदैगयो । पर पट्टि निकै लामो पुलको बाटो देखिन्थ्यो । हामी त्यतै लाग्दैथियौ । साइकल उकालो चढ्यो । पुलमाथिबाट मुनि खोला हेर्दा एक्दमै रमाईलो लाग्दरैछ । पुल पारी पुगेपछि दुर्गा दाईले बिस्तारी साइकल ब्रेक हान्यो । आबो त यहाबाट हिंडेर घुम्ने होला जस्तो लाग्यो । दाईले मलाई राम्रो सित हेरिराको थियो । उनिहरु एक आपसमा गुनगुन् कुरा गर्दैथियो । मलाई चै कहिले भुईमा झार्छ र बाटोमा हिडुम् भनेर हत्तार भैसकेको थियो । दाईले मलाई बिस्तारी भुईमा राख्नुभयो । म खुसी हुदै अलिक अगाडी सम्म कुद्दै पुगे । दाई पनि आउनु भयो । अगाडी पुगेर दाईलाई पर्खेर बसे । दाई अलिक नजिक आएपछि अझै अगाडी जान्छु भनेर सोच्दैथिए । साझको बेला घाम अस्ताउनु आटेको थियो । अध्यारो निकै परिसकेको थियो । दाईले टक्क अड्केर एक्छिन् मलाई एकहोरो हेरिराख्नु भयो । भरै त दाई फनक्क फर्केर कुद्दै साईकलमा बस्नु पुग्यो र दुर्गा दाईले साईकल कुदायो । म तर्सिए । मैले त कुरै बुझिन । म पनि कुद्दै कुद्दै पछ्छाए । जति छिटो भेट्टाउनु कुदे, साईकल त्यत्ति नै छिटो कुद्दै गयो । पुलको बाटो निकै लामो थियो । म मरुन्जेल कुदे तर पनि साइकललाई भेटाउनु सकिन अन्त साईकल बिस्तारी बिस्तारी सानो सानो देखिन्दै गयो र निकै पर पुगेर थोप्ला हुदै मेरो आखा अगाडीबाट लोप भयो ।

Saturday, December 31, 2011

२०११ त्यस्तै रह्यो

मार्च । राती १० बजेको थियो । भात खादै टिभी हेर्दैथिए । ए! ए! भन्दा-भन्दै मान्छे, गाडी, पुल, घर सबै पानीले बगाएर लग्यो -जापानमा । २०१२ मा के-के सपना पुरा गर्ने रहर थियो होला बिचराहरुको, न्युज हेर्दाहेर्दै हातमा भात सेलाएर, दाल पनि सुकेर कक्रक परिसकेछ । अन्त ठुल्ठुलो गाँस सोह्रेर तरकारी थप्नु मात्रै के उठेको थिए -बाहिर एक्कासी पुरै टोल-बजार भरि नै साइरन बज्नु थाल्यो । लामो intervals मा च्वाँss च्वाँss गर्दै साईरन बजिराख्दा त war हुनु आटेको जस्तो लाग्ने । कता-कता पर्ल हार्बर मुभीको scene जस्तो । त्यस् पछि फोनहरु बज्नु थाल्यो । लौ हवाईमा पनि सुनामी आउने हरे evacuate गर्नु पर्छ हरे भनेपछि, "कोस्ले पो भाँडा माझिरान्छ" भन्दै थाल् जति sink मा फालिदिए ।

छिमेकीहरु अताल्लिन्दै, गाडीमा सामान ओसार्दै भागेको देख्दा "ह्या! यो कुइरेहरु त्यत्तिकै डराउछन, किन जाने हो जाबो डाँडामा?" भन्दै हाम्रो कोही कोही साथीहरु धक्कु लाउनु थाले । (खासमा तिनीहरु कुइरे पनि होइनन, अर्कोपाली कृपया नझुक्किनु होला मित्रहरु!..lol ) पक्कै सुनामी आएर लग्यो भने त पछुताउनु पनि नपाईएला, त्यसैले हिरो पल्टेर पछि पछुताउनु भन्दा समयमै बुद्धि पुर्याउनु ठिक भन्ने कुरा बुझाएपछि सबैजना आ-आफ्नो सामानहरु पेकिङ गर्नु तर्फ लागियो ।

सबैभन्दा सुरुमा त मैले मेरो उकुलेले र टुङ्ना झोलामा हालिहाले-त्यो बेला ज्यान भन्दा पनि प्यारो मेरो मात्र कुरा । अनि मत्रै बल्ल पास्पोर्ट, वालेट, एक्-दुइ जोर लुगा फाटा चेपेर निस्के । गाडीमा सबैजना डाँडातिर उकालो लाग्यौ । बाटोमा मान्छेहरु कुदा-कुद्, ग्याँस स्टेसन, पसलहरुमा बोत्तल खानेपानी सबै बिक्री भैसकेछ । फुस फुस् पानी पार्नु थालिसकेको थियो । रेडियोले अरु evacuation spot हरु कता कता छ, एमर्जेन्सीको लागि फोन नम्बरहरु दोहोर्याएर दिंदैथ्यो ।

आम्मा हौ, डाँडामा को टुप्पोमा पुग्दा त बाटोको दाया-बाया दुवै तर्फ गाडी नै गाडी, कस्तो लामो लाईन् । सबैभन्दा पछाssssडी पुगेर मात्रै पार्किङ पाको । झ्याल खोल्दा मच्छेरले टोकेर हैरान । मान्छेहरु कोहि ध्यान दिएर रेडियो सुन्दैथिए । कोहि भने ठुल्ठुलो म्युजिक घन्काएर गाडी माथि छतमा बसेर समुन्द्र तर्फ हेर्दै बिअर खादैथिए । Dock मा भाको पानी जहाजहरुले असर गर्ला भनेर समुन्द्र पारी पठाईएको रैछ । माथि डाँडाबाट हेर्दा आधा रातमा समुन्द्रको बिच्चमा यति धेरै पानी जहाजहरुको झिलिमिलीले माथि पुरै आकास नै उज्यालो देखिन्थ्यो । लोकल न्युज च्यानलको गाडी छेउमा थियो । मान्छेहरु सित इन्टरभिउ लिदैथ्यो । घाँस मैदान टेन्ट नै टेन्ट ले भरिएकोथियो । सुनामी आयो भने चै के चै गर्ने होला? भनेर बिचार गर्दा घर परिवार निकै याद आउदरैछ । बिहा गरेको भापो बुढी सम्झिनु ।

हुरी बतास चल्नु थाल्यो । पानी निकै जोडले पर्नु थाल्यो । बिहानको २ बजे रेडियोले अब २० मिनेटमा सुनामीले हिर्काउछ भन्दा फेरि फेरि साईरन बज्नु थाल्यो । त्यस्तो बेला ५ मिनेट पनि कत्ति ढिलो बित्दोरैछ । घरबाट राती ११ बजे निस्केको, बिहानको ३ अनि ४ अनि ५ बज्यो । समुन्द्रमा पानीको सेतो धर्का त देखिन्थ्यो तर धन्न सेलाएर गोयो । पानी पर्नु पनि रोक्कियो । राती हतार हतारमा झोलामा हालेको ७-८ ओटा स्याउ पनि बाँढेर खाईसकेछु । अरु बेला सित्तिमित्ती तिर्खै नलाग्ने, त्यो जम्बो कोकको बोत्तलमा भरेको पानी पनि पालैपिलो पिउँदा सकिसकेछ । तर धन्न warning clear भैसक्यो अब घर फर्के हुन्छ भनेर रेडियो फुकेपछि ओरालो लाग्यौ ।

कोठामा पुग्दा त भान्सामा हिजो को भाँडा जस्ताको त्यस्तै थुप्रिराको रैछ । "ह्या! कोस्ले पो माझिरान्छ" भन्दै सुत्नु गोए । साथीहरु "मैले भनेको होइन? मैले नजाम भनेकै त हो नि! बित्थामा गोएर मच्छेरलाई टोकाउनु मात्रै" भन्दै हास्नु थाले । आफुलाई त निन्द्रै प्यारो ।