Nepalese Folk Music

Saturday, December 22, 2007

पट्टु र राशिफल

म सायद ३ क्लासमा पढ्थे । सानोमा आफ्नो बाबा र कजन् भाई सित बजार घुम्नु जादा बाटोमा भविष्य पढ्ने पट्टु फेला पर्यो । पाँच रुपिया तिर्यो भने जालीबाट निस्केर चिट्ठी तान्दै पट्टुले भविष्य बताईदिने । कस्तो बुद्धिमान पट्टु !

भाईको जोखना हेराउने भनेपछि त्यो पट्टुले थुप्रै चिट्ठी मध्ये एउटा चिट्ठी तानेर भविष्यवाणी निकाल्यो जसले भाइलाई ७५ बर्ष सम्म बाँच्नेरैछौ भन्यो । भाई दङ्गै पर्नु स्वभाविक नै थियो । मलाई पनि जोखना हेरा भनेर कर गर्नुभयो । कतै बुद्धिमान पट्टुले मलाई चै तँ त अब दुइ बर्ष मात्रै बाँच्नेछस पो भन्ने हो कि भनेर डर लागेर आयो । मैले जोखना हेराउनु मानिन । बाबा र भाई दुवैले हास्दै,"छि यो नाथे डरायो " भनेर जिस्काए ।

हामी घरतिर लाग्यौ ।

महिनौ दिन बितिसक्दा पनि मेरो कलिलो दिमागमा मृत्यु प्रतिको त्रास निकैबेर घुमिरह्यो ।

सानो हुँदा आमालाई सबैले अनेकथरि प्रश्नहरु गर्छन । आमाहरु सित सबै प्रश्नको उत्तर भने हुदैन । सबै प्रश्नको उत्तर हुने आमाले पहिलोपल्ट आफ्नो प्रश्नको उत्तर दिन नसेको थाहा पाएपछि, आमालाई त्यै प्रश्न बारम्बार दोहोराएर वाक्कै पार्नु पनि रमाईलो नै हुन्छ । यसै सन्धर्भमा मैले पनि आमालाई, " यो संसारमा सबैजना मर्‍यो र एउटा मात्रै मान्छे बाच्यो भने कस्तो हुन्छ होला ? ममी " भनेर सोध्दा मेरो आमाले " त्यस्तो त हुनै सक्दैन" भनेर उत्तर दिन्थिन । फेरि पनि म खालि त्यै प्रश्न गरिराख्थे । चिडाउनु रमाइलो हुन्थ्यो ।

आज मलाई के होला, भोलि के होला भन्ने सायद यस्तै प्रश्नहरुले गर्दा होला मैले राशिफल हर्नु थालेको । आमाले "ह्या एस्तो राशिफलमा पनि पत्त्याउछ कसैले??" भनेर मलाई सल्लाह दिनुहुन्थ्यो तर फेरि आफै राशिफल पढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, " म त खाली रमाईलोको लागि मात्रै पढ्छु नि !"

मलाई लाग्छ मान्छेहरु केवल रमाइलोको लागि मात्र राशिफल पक्कै हेर्दैनन । यो राशिफल भन्ने कुरा पनि साह्रो अचम्मको छ । हाम्रो दिमाग भित्र कुनै न कुनै एउटा कुनामा यस्ता कुराहरुले यस्तो छाप पारिरहेको हुन्छ जसलाई चाहेर पनि नकार्न सकिन्न । कसैलाई स्रोत थाहा छैन तर मान्छेहरु पत्त्याउछन । जति पढेलेखेको मान्छे भएपनि खबरपत्रिकामा पहिलो हेडलाईन पढेपछि सिधै अन्तिम पेजको राशिफलमा आँखा लाउछन् । हेर्नुस है म तपाइलाई नेपालीहरु कता कताबाट चै राशिफलको हेर्नु भ्याउछन, बताउनेछु ।

सबैभन्दा पहिलो राशिफल बिहान को एफ एम रेडियोबाट सुरु हुन्छ जुन्बेला धेरैजसो सुतेका नै हुन्छन् । अनि त्यस्पछि पसलमा दुध लिन जानेहरुले पत्रिका मार्फत आफ्नो रशिफल हेर्ने गर्दछन् । त्यस्पछि अलि ढिलो उठ्नेहरुले टिभीमा नेपालीमा समाचार सकिनु अगाडी राशिफल हेर्छन् । समाचार हेर्न नभ्याउनेले ईमेज चेनल हुन्छ कि नानाथरि योगा-सोगा वा जोगीहरुको चेनलबाट राशिफल हेरेर हुन्छ, अनि आफ्नो दिन सुरु गर्छन् । भित्र भान्छामा दुध उम्लेर गैसक्यो, उता राशिफल हेर्नैमा व्यस्त । हेर्नुस त, रशिफल हेर्नै को लागि मात्रै कत्रो होडबाजी । राशिफल हेरेर मात्रै आफ्नो योजना बनाउने अनि दिन्चर्या सुरु हुने यो कस्तो चलन !

जताबाट राशिफल थाहापाए पनि (विदेशी ॠण हरेक नेपालीको टाउकोमा लघभग १४ हजार पुगेको पत्तो छैन) आफ्नो रशिफल राम्रो लागेपछि नेपालीहरु " आज त मेरो दिन एक्दमै ठिक छ " भन्दै दङ्ग पर्छन । हुन त म आफै पनि राशिफलमा राम्रो-राम्रो लेखेकोछ भने पत्त्याउथे, नराम्रो लेखेछ भने, "ह्या एस्तो कुरामा पनि बिस्वास गर्छ ??" भन्दै पत्रिका एकातिर हुरराईदिन्थे । लौ भन्नुस त, तँ भोलि सिडीबाट बल्ड्याङ खाएर चेट हुन्छस भनेर कुन राशिफलमा लेखिएको हुन्छ ? तपाई हामी सबैलाई थाहा भएकै कुरो, धेरै जसो सबैलाई सामन्य रुपमा राम्रै भविष्यवाणी गरिएको हुन्छ । तोकिएर भविष्यवाणी देखाइन्छ भने पो हेर्ने ।

हजारौ बर्ष पुरानो तारा नक्षत्रहरुको ज्ञानमा आधारित बिज्ञान र आजको जमानामा फेला पर्दै आएका नया नया तारा मण्डलहरुको ज्ञान अनुसार पहिलेको राशिफल बनाउने प्रणाली आफैमा अपुग भएको भनेर बुझ्न सकिन्छ । राशिफल हेर्ने र साइतमा मात्रै चल्ने हो भने अहिले सम्म नेपालमा सबैकुराको परिणाम राम्रै निस्किनु पर्ने हो , होइन र ? यस्तै अन्धविश्वास र राशिफलमा चलेको हाम्रो देश अनि समाजमा सिर्जिएको वर्तमान परिस्थिती हेर्दा त, लाग्छ बुद्धिमान पट्टुले कतै हामी नेपालीहरुका लागि गलत चिट्ठी त तानेन ?

Wednesday, December 19, 2007

के तपाईलाई बिहे गर्ने टेन्सन छ ?

मलाई ? खै ? दिमागमा यो कुराले कता-कता घोचेको जस्तो पनि लाग्छ, खै के हो ?

मेरा साथीभाईहरुले के-के लेख्छ हँ एस्ले लेखनुपायो भन्दैमा भन्छन होला तर मलाई आफै सित ईमान्दार हुनु मनलाग्छ । मलाई थाहा भए अनुसार यस्ता कुराहरु सबैले झेल्छन तर थोरैले मात्र कुराहरु साट्छन । आखिर फुर्सदको कुराकानी न हो ।

अहिले जताततै पुरानो साथीहरुलाई कन्ट्याक्ट् गर्यो, जसले पनि एह त्यस्ले बिहे गरेछ नि हैन, उस्ले पनि बिहे गरेछ, लौ हामी त अब बुढो हुनु आट्यौ भनेर अत्त्तालिन थाल्छन्, तैले बिहे गरिस ? - भनेर पनि सोध्छन् । घरमा फोन गर्यो, आमाले पनि उहि कुरो, "हेर है छोरा, अब त तेरो पनि बेला हुनु आट्यो नि !"

सोमालियामा खान नपाएर मान्छे मरिराछन, सबैलाई बिहे गर्नैको चिन्ता छ । ढिलो भए नि छिटो भए नि, आखिर हुने बिरुवाको चिल्लो पात भैहाल्छ । किन त्यसै बित्थामा अताल्लिनु हैन र ? हा.. हा.. अलिक भन्नु खोजेको नमिलेको जस्तो लाग्यो ।

मेरो भनाईको तात्पर्य के हो भने, पहिला आफ्नो इच्छालाई प्राथमिकता दिने कि कसो ?

युनिकोड नेपाली डट कम मा नेपाली टाइप गर्दै बसेको त ठ्याक्कै मुन्तिर जीवनसाथी डट कम को विज्ञापन - कस्तो अचम्म । मैले बिहे गर्नु पर्यो भने यस्तो म्याच-मेकिङ साइट बाट चै गर्नु नपरोस् । कसैले भन्छन् अरेन्ज्ड मेरिज राम्रो, कोहि भन्छन् लभ मेरिज । मेरो लागि चै कुन राम्रो होला कुन्नि ? सोच्दै छु , सायद दुइटैको मिसावट बनाउनु पर्ला । लभ परेर मेरिज भाको राम्रो कि मेरिज भएपछि लभ परेको ? हुन त जुनै भएपनि दुइटै राम्रो, त्यैपनि भनेको जस्तो हुन्न रे भन्छन ? खै जान्ने बुझ्ने तपाईहरु नै हो , लौ सल्लाह् दिनु पर्यो ।

तर ढुक्कको कुरो के भने, बिहे गर्ने अधिकतम् उमेर ३० हो भने मेरो त अझै २-३ बर्ष डिपोजिट् छ । क्या मोज !

This is not for Nepalese

आज मैले ठमेल सम्बन्धि ब्लग्माण्डुमा एउटा पोस्ट पढे । पोस्ट पढ्दा त अहिले भर्खरै टिकट काटेर ठमेल जाउ जस्तो लाग्ने । विदेशी पर्यटकहरुको भीड, साथीभाईहरुको जम्घट, साना साना गल्ली र पसलहरु, झिलिमिली बत्ति, मोटरसाइकल र गाडीहरुको टिटिट् र पिपिप - कल्पना गर्दा त मनै थाम्न नसकिने । ब्लग चाहर्ने क्रममा तलपटि कमेन्ट पढे । सो ठमेल बारे लेखिएको पोस्टले खालि राम्रा राम्रा कुराहरु मात्रै जनाएकोमा एक्जना असन्तुस्ट पाठकले ठमेलमा नराम्रा कुराहरु पनि भएको कुराहरु लेखिनुपर्ने भनेर गुनासो गर्नुभएको रहेछ । कुरो ठिकै हो जस्तो लाग्यो । अनि मैले पनि कमेन्ट थपे ।

" बुट्वलबाट पढ्ने सिल्सिलामा काठमान्डु पुगेका मेरा मित्रले ठमेल घुम्दा एक जोर ट्राउसर किन्न भनेर ठमेलको एउटा पसल भित्र पसेछन् । पसल भित्र छिरेर उन्ले "यो ट्राउसरको दाम कति हो दाई" भनेर सोध्दा त पसलेले झर्किदै अङ्रेजीमा सेखी झार्दै " दिस् इच् नट् फर नेपलिज् !!" भनेर थर्कायो यार भन्दै उनि मुर्मुरिएको मलाई अझै याद छ । त्यतिखेर म लगायत मेरा साथीहरु उ माथि मुर्छा परि-परि त हास्यौ तर आज यहि कुरो एसो विचार गर्दा अचम्म लाग्छ । के ठमेलमा यस्तो नेपाली र विदेशी ग्राहक छुट्ट्याउने पसलहरु पनि छन ? "

मैले यहि कुरा कमेन्टमा हालेको थिए । एसो विचार गर्दा आफ्नो ब्लग पनि खालि भाको - भरिहालौ न यहिकुरो आफ्नै ब्लगमा पनि भनेर ब्लगिहालेको । मेरा सो मित्र हालै क्यान्सस राज्यमा अध्यन्नरत हुनुहुन्छ । त्यो भन्दा बढि त के भन्ने, नत्र फेरि लात् खाइन्छ ।

Tuesday, December 18, 2007

कागबेनीको छाप

हालै प्रदर्शन अघि नै चर्चामा आएको नेपाली चलचित्र " कागबेनी " बाट - नेपाली दर्शकहरुले १० बर्ष अघि देखि नै कुर्दै आएको उच्च स्तरको छायाँकन एवं कलाकारिताको माग पुरा होला जस्तो छ । यसो ट्रैलर मात्रै हेर्दा पनि म निकै आशावादी भएकोछु । यो पाली चै मलाई यो नेपाली चलचित्र हेर्नै पर्ने जस्तो लागिरहेको छ । यसमा कलाकारहरुको एक्टिङ शैली पनि बिछट्टै राम्रो देखिन्छ ।



अरु सामान्य नेपाली चलचित्र हेर्ने हो भने त्यहा कलाकारहरुको एक्टिङ पनि भारतिय कमर्शियल चलचित्रका एक्टिङ शैली संग दुरुस्तै मिल्न जान्छ । पटकथा, पात्र, छायांकन, निर्देशन देखि लिएर पहिरन, मेक-अप, संगित, म्युजिकल बेकग्राउन्ड् सबैकुरा दुरुस्तै हिन्दि फिल्म जस्तो हुन्छ र केवल फरक भनेको मान्छे मात्रै नेपाली । अनि सबैकुरो हेर्दै भारतिय पात्रहरु जस्तो लाग्ने चलचित्रले पनि कतै नेपालीको मन जित्नसक्छ त ? त्यस्तै खाले चलचित्र हेर्ने हो भने त बरु सबैजना सिधै हिन्दि फिल्म् नै हेरी हाल्छन नि ।

मेरो विचारमा कागबेनी संगै नेपाली चलचित्र क्षेत्रमा नौलो आशा पलाएकोछ । म आशा गर्दछु यो चलचित्रमा कथावस्तु कतै नबरालियोस् र सबैको प्यारो चलचित्र बनोस् । मेरो भनाईमा सधै हिन्दि चलचित्र मात्रै हेर्दै आएका नेपाली जनताले यो चलचित्रमा हिरो र हिरोइन् गीतको बोलमा नाचेको हेर्ने माग पटक्कै नगरुन् । नेपाली दर्शकले गीत र नाच भन्दा नेपाली कथावस्तुको माग गरुन् । यो चलचित्र आउदो भविष्यमा बन्ने अरु चलचित्रहरुका लागि राम्रो उदाहारण बनोस् र अहिले पैसाले मात्रै निर्देशक-निर्माता बन्ने हरुले पाठ सिकुन् ।

तर मैले जेसुकै लेखे पनि अब खास कुरो हेर्न त बाँकी नै छ । हेरौ कागबेनीले नेपाली चलचित्र जगतमा नयां क्रान्ति नै ल्याउछ कि नत्र जुन् जोगी आएपनि कानै चिरेको भनेर सिद्ध गर्नेछ ।

यस्को नेपाली उल्था पढ्दा कस्तो हुन्छ होला ?

के तपाईहरुलाई उल्था गर्नु मनलाग्छ ? मनलाग्छ भने पहिले यसलाई उल्था गर्नुहोला । तपाईले जतिसुकै मात्र उल्था गर्नसक्नु भएपनि कृपया तल कमेन्टमा हाल्दिनुहोला । तपाईहरुको उल्था पढ्न म साह्रै उत्सुक छु । म पनि सकेसम्म प्रयास गर्नेछु । कल्पना गर्नुहोस तपाई र मेरो काम तल राखिएको अङ्रेजी चलचित्रको नेपाली subtitle बनाउने हो । नेपालीमा subtitle पढ्दा कस्तो हुदो हो कुन्नी ?

Happy Translating !

Vendetta Speech.



Voilà! In view, a humble vaudevillian veteran, cast vicariously as both victim and villain by the vicissitudes of Fate. This visage, no mere veneer of vanity, is a vestige of the vox populi, now vacant and vanished. However, this valorous visitation of a by-gone vexation, stands vivified, and has vowed to vanquish these venal and virulent vermin van-guarding vice and vouchsafing the violently vicious and voracious violation of volition. The only verdict is vengeance; a vendetta, held as a votive, not in vain, for the value and veracity of such shall one day vindicate the vigilant and the virtuous. Verily, this vichyssoise of verbiage veers most verbose. So let me simply add that it is my very good honor to meet you and you may call me V.

Sunday, December 16, 2007

The Birth of Saka

के तपाईहरुले सबैभन्दा माथि इन्टर्नेट ठेगाना हाल्ने ठाउँमा साकाहारी लेखेको देख्नु भयो ?

यहाहरुले यो केटा त साकाहारी पो रैछ भनेर अनुमान लगाउनु भयो होला । तर म पक्का साकाहारी होइन । ल्वाङ खाएर स्वाङ हो कि स्वाङ खाएर ढ्वाङ के-के हो भन्ने नेपाली उखान छ नि, हो त्यस्तै हो म । भन्नलाई साकाहारी तर चिटिङ गर्छु बेला-बेलामा ।

यहा एउटा रेस्टुरेन्ट्मा पहिलो चोटि काम गर्दा विदेशीहरुलाई मेरो नाम उच्चारण गर्नु अप्ठ्यारो भएकोले मलाई सजिलो नाम छैन तेरो भनेर सोधे । एउटाले भन्यो, हामी अब देखि तलाई Andy भनेर बोलाउछौ है भन्यो । मलाई त्यो विदेशी नाम मन परेन । त्यै माथि अझ मैले नेपालमा कृष्णलाई Kris, श्यामलाई Sam, हरिलाई Harry, रबिलाई Robbie भन्न रुचाउने नौटंकीहरु थुप्रै देखेछु । त्यो गोराले मलाई Andy भन्दा हो त्यै कुरा याद आयो । मलाई त्यस्तो तोर्पे नाम पिटिक्कै मनपरेन । अनि के नाम दिउ भनेर आफै सोचे । यहा तरकारी भन्दा कुखुराको मासु सस्तो । जहिले पनि कुखुरा खाँदा-खाँदा वाक्क भएर मासु खान कम गरेको बानी । आफैलाई अलि-अलि साकाहारी भएको भ्रम पनि भएको । "कल् मी - साकाहारी !" - भने ।

आश्चर्यचकित कुइरेहरु "व्हाट् द हेल् डज् दयाट् मीन् ?" भन्न थाले ।

तिनीहरुको अगाडी आफु प्रकृतिप्रेमी भएको ढोंङं गर्दै सबैलाई impress पार्ने स्वरमा भने - "इट् मीन्ज् दयाट् आइम् भेझटेरियन् !"

कुइरेहरु - "रियली ? यु डन्ट् ईट् एनि मिट् ? ईज् दयाट् सम्थिन् रिलिज्यस् ? "

मलाई फेरि ढाट्नु मन लागेन । के गर्नु सोझो मान्छे परे । त्यसैले हत्तार-हत्तार सच्याउदै भने - "नो ! नथिन् रिलिज्यस् । एक्चुअलि आई ईट् व्हाटेवर आई वान्ट् । जस्ट ट्राइन् कट् डाउन् मिट कन्सम्प्सन , यु नोह् , सो आइम् हाफ-भेझटेरियन ।" ( मासु खान कम गर्दै लैजाने भएकोले अर्ध-साकाहारी भने )

सबैजना हास्न थाले । सबैभन्दा ठुलो बेलायती कुक ले दिमाग लगाएर भन्यो - "इफ् यु आर् हाफ-भेझटेरियन, दयाट् मीन्स् यु आर् हाफ-साकाहारी । व्हाई डन्ट वी जस्ट कल यु हाफ अफ साकाहारी ? वी विल् कल् यु साका !" मलाई आईडिया मनपर्यो ।

उनिहरु सबैले भने -" वेल्कम टु द हाउस SAKA !! "

Friday, December 14, 2007

पुरानो स्कूल याद आयो

जीन्स्को पेन्ट लगाएर , पछाडीको गोजीमा एउटा काईयो र हातमा कापी चेपेर हिड्ने दिनहरु पनि गए । डिंगो जुत्ता कहिल्यै पनि लगाइन । पहिला नै एकचोटी पेन्टको मुन्तिर तिन्कुने कपडा टासेर लगाउने फेसन् निकै चलेको थियो । म पनि ट्राई गर्छु भनेर त्यस्तै स्कूल पेन्ट् बनाएर लगाएको त भरै स्कूलमा मिसले कैचीले काटेर फाल्दियो ।

बिहान एसेम्ब्लीमा लाइन बस्दा हातको नङ काटेको छ कि छैन, टाउकोमा तेल लगाको छ कि छैन, जुत्ता पलिस गरेको छ कि छैन भनेर चेक गर्थ्यो । एकदिन हतार्-हतारमा स्कूल् जाँदा जुत्ता टल्काउनै बिर्सेछु । त्यो दिन मोरा टिन-टिन ले ठ्याक्क् मेरो अगाडी उभिएर मलाई हेर्दै भन्यो :

के हो ? घरमा बूट-पलिश छैन ?


( त्यो दिन चै साह्रै लाज लाग्यो )

तपाईहरुको पनि एस्तै आफैलाई लाज्लाग्दो क्षणहरु छ कि छैन ?

रेड्यी, खोइ हासेको? ही ही

जीन्स्को पेन्ट लगाएर अनि पछाडीको गोजीमा एउटा काईयो र हातमा कापी चेपेर हिड्ने दिनहरु पनि गए ।एउटा केटा र एउटी केटी कलेज जान छाडी छाडी खोला खोला रोमान्स् गर्दैछन् ।

केटाले "रेड्यी, खोइ हासेको ?" भन्छ
केटीले चै "छि बाई नि" भन्दै लजाएर मुख् छोप्छिन् ।

तर जे होस् मलाई यो चै साह्रै मनपर्यो ।

Monday, December 3, 2007

यस्तो पनि हुँदरैछ

अस्ति भर्जिनियामा नेपाल पास पुच अमेरिकाये द्वारा आयोजित नेपाली कार्यक्रममा इन्डियन आईडल विजेता प्रशान्त तामाङको प्रस्तुति हेर्न पुगेको थिये। पहिले पहिले साथीभाईहरुले प्रशान्तको चर्चा गर्दा मैले त्यति ध्यान दिएको थिइन, न त टेलिभिजनमा कुनै प्रतिस्पर्धाको भाग नै हेरे, मैले केवल एकैचोटि मेरा मित्र प्रज्वल श्रेष्ठज्युले कर गरेर देखाउनु भएको youtube भिडियो चै हेरेको हु ।


एउटा नेपाली भएको नाताले मैले नेपाली कार्यक्रम नचुकाउने भनेर दाईहरु सित भर्जिनिया कर्यक्रमस्थलमा पुगे । कार्यक्रम सुरु भयो । मङोलियन हार्ट्सका राजु लामाले सर्वप्रथम नेपाली गीत् गाएर सबैलाई अभिनन्दन गरे । त्यस् पछि चै प्रशान्त तामाङले गीत गाउन थाले । मेरो सिट पछाडी बस्नु भएका नेपाली दिदी बहिनीहरुले मेरो कानै टुन्न हुनेगरी चिच्चाएर समर्थन गरे । प्रशान्तले चै अगाडी स्टेजबाट नेपाली गीत गाइदिएर दर्शकको मन जिते । उनले आफ्नो हिन्दी गीत गाउने कलाको प्रस्तुति पनि गरे । अनि फेरि नेपाली ढाका टोपी लगाएर "यो मन त मेरो नेपाली हो" भन्दै १९७४ ए डी को गीत गाएर दर्शकमाझ आफ्नो लोकप्रियता बढाए ।

प्रशान्त तामाङले कार्यक्रमको बिच-बिचमा छोटो ब्रेक लिदाबखत- सारङा श्रेष्ट र सरोज खनालले नेपाली गीतमा भारतीय पोशाकमा सज्जिएर पो नाच्नु थाले । एकछिन त म के नमिलेको के नमिलेको जस्तो लग्यो । हैन सायद यिनीहरुले अमेरिका आएर नेपालीको अस्तित्व नै बिर्सेका त होइनन् भन्ने जस्तो मलाई लाग्यो । त्यति मात्रै कहाँ हो र? क्यानडाबाट पाल्नु भएका दुइटा नेपाली बहिनीहरु कुनि के-के नाम हो क्यारे, अब त नेपाली पोशाकमा सजिएको नेपाली नाच हेर्न पाइने भयो भनेको त भुत्रो हुनु - जिप्सी जस्तो खाल्के लुगा लगाएर जिउ र कम्मर नछाटटिएको भएपनि जबर्दस्ती Belly Dancing गरेर मरे । त्यै पनि हिन्दी गीत हो कि अरबि गीतमा । हुन त अनुहार हेर्दा पनि केटा नै जस्तो देखिन्थ्यो । मलाई यिनीहरुले जानीबुझी रिस् उठाउन खोजेको हो कि के हो कुन्नि, भर्जिनिया कै एउटा लोकल बहिनीले अन्त्यमा अफ्नो नाचने कला प्रस्तुत गरिन् । त्यो पनि फेरि हिन्दि गीत मै नाचेर । हैन, मैले एउटा कुरा बुझ्नु सकिन, नेपाली गीतमा नाचेको भए के बिग्रिन्थ्यो? अझ गुन्यो चोलो लगाएको भए सुनमा सुगन्ध हुन्थ्यो नि हैन र? हुन त त्यो बहिनी हेर्दामा पनि साह्रै राम्री थिइन् तर के गर्नु, मेरो मन भने जितनुसकिनन् । हुन पनि बिचरीको के दोष । यतै अमेरिकामा हुर्किउन्जेल यस्तै सयौ नेपाली कार्यक्रममा गइन् होलि र जहिले पनि नेपाली गीतमा भारतीय पोशाक लगाएर नाचेको देख्दा भारत र नेपाल त एउटै हो भनठनिन् होला । बिचरालाई कसैले पनि भारत र नेपाल दुई भिन्न राष्ट्र हुन् र उनिहरुको आ-आफ्नो भेष-भुषा हुन्छ भनेर सिकाएन क्यारे ।


सयुक्त राज्य अमेरिका मैले आएपछि सबैभन्दा पहिलोचोटि उपस्थिति जनाएको नेपाली कार्यक्रममा टन्नै हिन्दी गीतहरुमा प्रस्तुति देखे तर नेपाली पोशाकमा सजिएर गरिएको नाच भने एउटा पनि देखनुपाइन । धिक्कार छ आयोजक तिमीलाई र हिन्दी र नेपाली अस्तित्व बिच फरक फरक पहिचान नराखनेहरुलाई । आफुलाई मनपरेको कुरा जोसुकैले अप्नाएपनि आफ्नो पहिचान भन्ने कुरा सदैव आफुसाथ राखनुपर्दछ ।