Nepalese Folk Music

Wednesday, October 28, 2009

टोल टोलको कथा

अहिले टोल भरि जनसंख्या पनि कति साह्रो बढेको हो गाँठे ! हरेक घरलाई आफ्नो आर्जनीले आफ्नै सन्तान पाल्नु गाह्रो भैसक्यो । सन्तानले चाहेको-भनेको जस्तो पुर्याईदिनु नसक्ने घरपरिवारलाई गाह्रो छ । खुवाउनु नसक्ने घरपरिवारको सन्तानलाई भने हुनेखाने छिमेकीसित मागेर खाने बानी भैसक्यो र हुने छिमेकीलाई चै "भनेको बेलामा चाहिए जस्तो काम अर्हाउने निहुँमा मत्रै मद्दत दिने" बानी भैसक्यो ।

कुन-कुन छिमेकीकोमा वा कुन्चै टोल तिर चै काम पाईन्छ भन्दै, आमाको सन्तानहरु एउटा देखिन् अर्को गर्दै, जता-जता त काम पाईन्छ, त्यतैतिर एकपछि-अर्को गर्दै लम्किदैछन । आफ्नै सन्तान पाल्नु नसक्ने घरपरिवार भने धन्न अलिकति भएपनि बोझ हल्का हुनेभयो भनेर दुख माने जस्तो गरेपनि एक हिसाबले ढुक्क छन । उतातिर भने अर्काको सन्तानलाई पाल्दिनु पर्ने आमाहरु चै "थुईया! कुन जुनीमा पाप गरिएछ" भन्दै नामको लागि मात्र भएपनि सौतेनी आमाको रुपमा आफ्नो घरमा बास दिदैछन। सित्तैमा बास दिन त सबैलाई गाह्रो हुन्छ । अनि आफ्नो नाजायज सन्तानलाई सानोतिनो कामहरु दिएर घुँडा तिखारुन्जेल काम गराउन तर आफूलाई दोष नपर्ने गरि सौतेनी आमैले मौकाको फाईदा उठाउन ध्यानपुर्वक व्यवस्था गरेको हुन्छिन् ।

सानोतिनो काम गरे वापत टुप्लुक्कै बाँच्नु मात्रै पुग्ने हुनाले नाजायज सन्तानहरु चै खान-लाउन नपुगेको गुनासो गर्दछन । तर सौतेनी आमाको आँखा छलेर फ्रीजबाट खानेकुरा आफै झिकेर खान जान्नेहरु पनि टन्नै हुन्छन । उनिहरु चै आफुलाई खानलाउन पुगेको ठोकुवा नगरेपनि, गुनासो गर्नेहरुसित भने मत मा मत मिलाउदछन । यिनीहरुलाई सौतेनी आमाले बेलाबखतमा निहुँ खोजेपनि बास बस्नु चै दिन्छिन् है !

अब सौतेनी आमाले भनेको र चाहेको जस्तो सबै काम ठ्याक्कै पुर्याउन जान्ने चेपारेहरु चै सौतेनी आमाको favorite सन्तान हुनुपुग्दछन् । त्यस वापत favorite सन्तानहरुले दुई-चार कपडा बेसी र अलिक मिठो-मिठो खान पनि पाईहाल्छन । तर चाकरी गर्नु नजान्नेहरुलाई भने सौतेनी आमाले "उसो भए तेरो आफ्नै घर जा!" भनेर धपाउनु पनि बेर लाउदैनिन् । अलिक ढिंठ पल्टेर बसिराख्नेहरुलाई भने समातेर ढ्वाँङमा पनि हाल्न भ्याउछिन् । हुन त सौतेनी आमैको टोलमा पनि जनसंख्या भने बढेकोबढै छ । जतासुकै सरे पनि, अहिलेलाई दुई-चार जनालाई खानलाउन पुगे पनि, ढिलो नभए छिटो, टोलको समस्या त जहाँको त्यै छ । हैन र ?

तपाईको टोलको कथा कस्तो छ ?

Wednesday, October 14, 2009

थत्त तेरिका !

ब्रुनाईमा हुँदा धेरैजसो बेल्कीपख हामी साथीभाइहरु माथि तल्लाको पछाडी बार्दलीमा प्राय गफ्फा लडाउदै बस्थ्यौ । एकपल्टको कुरा हो, प्रबता बहिनी, म र सकुन हो कि सन्देश हो क्यारे त्यो बेला गफ्फा लडाउनेहरु । त्यो बेला नेपाल छोडेर बाहिर निस्केको कति नै भाको थियो र? त्यसैले होला म भित्र नेपाल प्रतिको माया तात्त्तातो नै थियो । जे कुरामा पनि नेपाली, यो पनि नेपाली, त्यो पनि नेपाली नै राम्रो भन्दै निकै राष्ट्रप्रेमी पल्टिनुपर्थ्यो मलाई । अहिले पनि नभाको त होइन तर जे होस् यस्तै नेपालको बारेमा गफगाफ हुँदै थियो हाम्रो त्यो बार्दलीमा ।

त्यो बार्दली धेरै ठुलो त थिएन, चारपाटे सानो, झन्डै चार-पाँच जना मत्रै अट्ने खाले थियो । त्यो बार्दलीमा केटाहरुले लुगा धुएर सुकाउनुको लागि एउटा देखिन अर्को भित्तामा दोरी झुन्डाएर राखेको थियो । त्यो दिन चै म ठ्याक्कै त्यो लुगा सुकाउने दोरीको मुनि एउटा सानो कुर्सीमा उपरखुट्टी लगाएर बसेको मलाई याद छ । अन्त गफैगाफको सुरमा भरै त प्रबता हो की सन्देश... कोस्ले हो गफ्फा लडाउने सुरमा चाल् नपाई अचानक दोरी हल्लाउनु पुगेछ । भरै त म बसेको छेउपट्टि त्यो दोरीमा त कुन्चै मोरा को हो कुन्नि एउटा घिनलाग्दो कट्टु घाममा पाप्पड जस्तै ककरक्क परुन्जेल सुकिराको रैछ । ठ्याक्कै दोरी पनि हल्लिनु, कट्टु त खसेर सिधै मेरो टाउकोमा खप्प !!

झन राष्ट्रप्रेमले प्रेरित भएर कस्तो साह्रो देशभक्ती feelings हरु आईरहेको बेलामा त्यस्तो घिनलाग्दो कट्टु टाउकोमा झरेर फिट हुँदा त हत्त न पत्त त्यसलाई उता फालेर निधार खुम्चाउदै, अकस्मात मेरो मुखबाट पनि निस्किहाल्यो "ह्याँss.. के यो यार झन् ढाका टोपी लगाउने ठाँउमा यस्तो?"

Friday, October 2, 2009

मेरो farmville कथा

जिम जानु अगाडी छोराले नुनपानीमा भिजाएको एक ग्लास चना चपाउदै निस्किदा बाबाले भन्नुहुन्थ्यो "तलाई के को जिम जानु पर्यो बरु एता आएर हामीलाई माटोको डल्ला फुटाउनु सघा न, तेरो मसल पनि बन्छ । हामीलाई सजिलो पनि हुन्छ ।" कुनै दिन फेरि बेल्काको चिया-सिया खाएर टिभी हेर्नु बस्दा ठ्याक्कै आमाले भुईतल्लाबाट "अन्ते!! धारामा पानी आयो होला, पानी हेर्नु जा!" भनेर चिच्चाउनु हुन्थ्यो । अनि पानी थप्ने काम सकेपछि बारी गोड्नु त sure बोलाउनु हुन्थ्यो । अनि त्यसपछि रिसको झोंकमा माथ्थि देखिन नै सिढींमा भ्याट-भ्याट चप्ली बजार्दै ओरालो झर्थे । तर के गर्नु, जत्तिसुकै जोडले भुईमा चप्ली बजारे पनि आमाको अगाडी कै काम लाग्दैनथ्यो ।

अनि कोदालो टिपेर माटोको डल्ला फुटाउने तिर लागिन्थ्यो । हातमा ठेला त कत्ति हो कत्ति ! बारीमा ख्याल-ख्याल्यैमा आलु पनि रोपियो । बोडी सीमी, टमाटर सागसब्जिहरु सबै रोपियो । कुखुरालाई चारो खुवाउने देखिन लिएर सुली जति सफा गर्ने सबै गरियो । खोर सफा गर्दा मच्छरले खुट्टैभरि फोकैफोका पार्दिन्थ्यो । ढाडे बिरालो ले कत्ति चल्लाहरु पनि खाईदिन्थ्यो । भालेलाइ त समात्नै नसकिने । पोथीलाई छोप्दा चै थपक्कै बस्थ्यो । पोथीलाई काखमा राख्दा कस्तो तातो हुन्थ्यो । कुखुराको अन्डा टिप्नु चै कुन्नि किन हो साह्रै रमाईलो हुन्थ्यो । हामीले त अन्डा पसलमा लगेर पनि बेच्थ्यौ ।

जे होस् बारीमा पस्यो कि मच्छरले टोकेर हैरान पार्ने । पराल बालेर धुवा पार्दा चै अलिक सन्चो हुन्थ्यो तर फेरि गरम हुन्थ्यो । तर जे होस् रिस्सिन्दै भएपनि आमाबाबालाई सघाउनु चै सघाईदिन्थे । त्यो बेला रिसाई रिसाई काम गरेको आज्काल निकै याद आउछ । सबैले फेस्बुकमा फार्मभिल खेलेको देख्दा आफ्नो साँच्चिकै फार्मभिलको कथा साँट्नु मन लागेर लेखेको । आफ्नै बारीमा तरकारीहरु उमारेको भएर बजारमा किन्नु पनि त्यति जानु नपर्ने । झन त्यैमाथि सानो परिवारलाइ त पुगिहाल्ने । पैसा पनि जोग्गिने । ताजा तरकारीहरु पनि खानु पाइने । रमाईलो थियो ।

अहिले त नेपालमा महंगी बढेर जेसुकैको भाउले आकास छुएको छ हरे भनेर सुन्छु । बेला बेलामा आमाबाबालाई घरमा फोन गर्दा बारीमा के के रोप्नु भाको छ त भनेर सोद्धा, "अब त बुढो भैइयो, पहिला जस्तो काम गर्नु सकिन्न त्यसैले पहिला जस्तो रोप्नु पनि सकिन्न, सघाउने मान्छे पनि छैन । " भनेर भन्नु हुन्छ । त्यस्तो कुरा सुन्दा खेरि चै अलिक् भित्रै पोल्छ अनि पहिले पहिले आफु बित्थामा रिसाएको कुराहरु याद आउछ । नरमाईलो लाग्छ ।

त्यति खेर चै बारीमा करैले काम गरिन्थ्यो । रिस् उठ्थ्यो ।

अहिले चै बारीमा काम गर्ने एक्दमै रहर छ । रिस् पनि उठ्छ तर ...मौका नपाएर ।