Nepalese Folk Music

Tuesday, January 29, 2008

धेरै हतार नगरौ

जाडोको महिना थियो क्यारे । टि भी कोठामा हिटर बालेको थियौ । पाहुनालाई डाईनिङ रूममा चिसो होला भनेर टि भी कोठामा नै भात खुवाउने भन्नुभयो । त्यस्तो राम्रो कार्पेट माथि भातको सिठा अथवा चिल्लो तरकारी वा तेल-सेल झार्ला भनेर टेबल मेट बिछाईयो । पाहुनाले खाना खाएर सकाउनुभयो । पाहुनालाई Tissue Paper ल्याएर दिनु नभ्याउदै पाहुनाले त हत्त न पत्त छेउको newspaper ट्याप्प टिपेर काच्याक कुचुक पार्दै हातमुख पुछ्न थाल्नुभयो । Newspaper परेछ एक्दमै low quality paper को । हुन्छ नि त्यो सुन्धारा असन तिर बेचिने दृष्टि, देशान्तर, जनादेश खाले खबरपत्रिका । पक्कै पनि त्यस्तो पत्रिकामा सस्तो खाले मसीको प्रयोग भएको हुनुपर्छ । अब त्यस्तो खाले कागजले मुख पुछेपछि के होला ?

बिचरा हाम्रो पाहुनाले मुख पुछेर टाउको ठाडो पार्दा त उन्को गाला, मुख र निधार भरि जताततै देशान्तर र जनादेश लेखिएको अक्षरै अक्षरले पोतिएको ।

Sunday, January 20, 2008

इन्डोनेस्यन आमै

एका बिहान इन्डोनेस्यन आमैले आफ्नो नातिनीको फोटो देखाउदै भनिन् - "लुक दिस इज माई ग्रेन्डटर । " हामी जस्तो ठिटालाई के खान देखाउनु पर्यो होला उस्को नातिनीको फोटो । अझै उ अहिले तरुनी भैसकी भनेर पनि भनिन । हामी सोझो मान्छे अलिकति लजाएको एकटिङ पनि गरिहाल्यौ । मैले पनि मौकामा थपिहाले,"शी इज भेरी प्रिटी! वि केन बी कावान-कावान ! बुढि आमैले हास्दै आफ्नो नातिनीको फोटो हत्तपत्त लुकाइन् । भरै भोलिपल्ट त पुरै फेमिली एल्बम नै बाहिर टेबलमा, त्यैपनि दुई-दुई ओटा । तर अहिले मलाई एल्बम हेर्ने फुर्सद भने छैन । यी आमैले केरालाई तेलमा तारेर पकौडा जस्तो बनाउद रैछिन । अन्त सिद्रा माछा पनि इन्डोनेस्याको एक्दमै सबैलाई मनपर्ने खाना भएको बताउछिन । वहाँले पकाउनु भएको खाना खाँदा त ब्रुनाईमा नासी कातोक खाएको याद आँउछ । दुईजना बुढाबुढी सधै मस्जिद जाँदा केई न कै खानेकुरा पकाएर लैजाने गर्दछन । आवाशले भन्यो धर्म नै गर्नु छ भने घरबाट नै सुरुगरे भैहाल्यो नि हैन ? त्याँ मस्जिदमा लगेर खुवाउनु भन्दा बरु हामीलाई नै मिठो मिठो पकाएर खुवाए कति उपकार हुन्थ्यो, हामीलाई सधै भात पकाई राख्नु पनि पर्दैनथ्यो । यस्तै यस्तै कुरामा अर्को कुरा निस्कियो । मान्छे हरु किन मन्दिरमा गएर मात्र खाना बाँढछन । बाटोमा बसेको माग्ने लाई पनि किन मन्दिरमै पुग्नुपर्ने ? उपकार गर्नेहरुले के मन्दिर वा मस्जिदमै गएर मात्रै अर्काको भलो गर्नुमिल्छ भनेर सोच्दछन ? सांचो परोपकारीले त यसरी आफ्नो उपकार गर्ने गन्तव्य पक्कै पनि छुट्टाउदैनन् ।

कतिपयले भलो गरेवापत स्वर्ग पुगिन्छ भन्ने लोभमा उपकार गर्दछन । त्यो उपकार होइन, लोभ हो । त्यो उस्ले स्वर्गको ढोकाभित्र छिर्ने टिकट बनाउनु खोजेको मात्रै हो । त्यहाँ ढोकामा बस्ने accountant लाई लौ! हेर भग्वान मैले कत्ति धेरै मान्छेलाई उपकार गरेकोछु भनेर भन्नुको लागि मात्रै हो । पक्का उपकारीलाई न स्वर्ग चाहिन्छ न त पाताल नै । न उस्लाई कसैको पुजा गर्नु छ न कसैले आफुलाई पुजोस भन्ने आश नै । धर्मको कुरा गर्ने हो भने कहिल्यै पनि सकिन्दैन र मान्छेहरु एक आपसमा सधै म ठिक र त बेठिक भनेर लड्छन । यै कुराले धर्म भनेको मानव निर्मित institution हो भनेर बुझिन्छ नत्र त्यो युगमा दैविय शक्तिहरु भएको भए पक्कै पनि आजसम्म मानिसहरु यसरी लडिरहेको हुदैनथिए । धर्म भनेको अन्धोहरुको लागि हो तर यो भन्दै गर्दा मैले आफैलाई ज्ञानी भन्नु खोजेको पनि होइन । म नाष्तिक होइन । मलाई सबै धर्मको teachings हरु मनपर्छ तर धर्मसंगै संस्कृतिबाट गाँसिएर आउने rituals को भने म सबैभन्दा ठुलो शत्रु हुँ । मलाई भग्वानको फोटो पुज्नु मनलाग्दैन । बरु उस्ले सिकाएको पाठ अनि राम्रो कुराहरु पुज्नु मनपर्छ (rituals excluded)।

कहाँ इन्डोनेस्यन आमाको कुरा कहाँ गाग्रामा पुगिराको । भैगो आजलाई यति नै । त्यो फोटो एल्बम चै कुनै दिन हेरौला । पक्कै पनि त्यहाँ उन्को थुप्रै राम्री राम्री नातिनीहरुको फोटो हुनुपर्छ ।

Saturday, January 19, 2008

तातो पानी

टोइलेटभित्र बाट कसैले बेस्सरी चिच्चाएको आवाज आयो, ”आsssत्था! मा...ने !"
सुन्दा पनि साह्रो हाँसुठ्यो । पक्कै पनि प्रज्वललाई तातो पानीले झुक्काएर पोलेको हुनुपर्छ । अहिले घरमा shower बिग्रेकोछ । तातो पानी कतिखेर एकैछिनमा व्हात्त आउने हो थाहा हुदैन । फेरि जतिसुकै मसिनो धारा पारे पनि एकदमै पोल्ने तातो पानी आउछ । त्यैमाथि धारा पनि कुन जमानाको हो कुन्नि? थोत्रे न थोत्रे छ । अस्ति म नुहाईरादा पानी साह्रो चिसो भयो भनेर हल्का तातो पानी पार्नु खोजेको त भरै झ्वाम्मै तातो पानी बढ्यो । त्येई माथि पानीको force ले बिग्रेको shower को बिर्को पनि फ्वात्तै झर्यो । त्यत्रो ठुलो पानीको भेल त सिधै मेरो निधारमा - आत्थु ! धारा बन्द गर्नु खोज्छु, पानी बन्द नै हुदैन ! त्यो जाबो सानो चारकुने shower, पछाडि सर्नु पनि नमिल्ने, एकछिन त ओहो झन्डै मरिन ! मासुलाई देक्चीमा उमाल्दा कस्तो हुदरैछ भनेर अलिकता अनुभव पनि भयो । कस्तो साह्रो निधार पोलेर burn भैराको छ । कस्सो ! तपाईहरुले झन्डै boil गरेको मासु खान पाउनुभएन । प्रेशर कुकरमा दाल पकाउदा, बिर्को भरि पानीको पहेलो फाप्रा बन्छ नि अन्त कोट्टाउदा पनि प्वाक्क प्वाक्क उप्किन्छ नि! हो त्यस्तै मेरो पनि निधारबाट छाला त्यसरी नै उप्किन्दैछ । मैले अईनामा हेरेको । अब नया छाला पलाउने भयो । जे होस् ! अब मेरो पुरानो टेन्सनै टेन्सन ले भरिएको निधारको छाला सबै निस्केर जाने भयो । २००८ मा मेरो नया निधार हुने भयो ।

Wednesday, January 2, 2008

Jackson Height को यात्रा

मीर्क्याटले आफ्नो घाटी तन्क्याए झै म पनि झ्याल बाहिर घाटी तन्क्याउदै हेरे । हिउ परेको रहेनछ । जुता कसे र लागे सब्ब्वे तर्फ । अलिक् चिसो हावा चलेको रैछ । बाटोमा एउटा दुइटा मान्छे हिढेको देखे । नया बर्षको बेला, जाडोको मौसम, फूटपाथ भरि सुकेको पात हावाको बेग संगै गट्टरतिर बत्तासिदै थियो । बाटो मुनि ट्रेन कुदिरहेको आवाज आउदैथियो । आफ्नो मेट्रोकार्ड गोजीभित्र छाम्दै निकाले । तल मान्छेहरु अर्को ट्रेन पर्खिरहेका रैछन् । म पनि उनिहरु छेउ गएर उभिए । छेउमा एउटा मान्छे आफ्नो सानो फ्लुट बजाउदै थियो । निकै मिठो धुन थियो । तर कसैले पनि वास्ता गरेको जस्तो देखिन्न थियो । भीड जम्दै गयो । ट्रेन पनि आयो ।

ट्रेनभित्र कोहि निदाउदै थिए भने कोहि गफ हान्नैमा मस्त, कोहि आईपड खेल्दैमा मस्त भने कोहि किताब पढ्नैमा मस्त । म चै उभिइएर झ्याल बाहिर ट्रेनको रफ्तारसँगै बगेको दृश्य पछ्छ्याउदै थिए ।

रुजभेल्ट एभ्न्युमा ट्रेन रोकियो । बाहिर Jackson Height बजार आइपुग्यो जसलाई अप्रवासी भारतियहरु जय-किशन हाइट पनि भनेर भन्ने गर्दारहेछन । शिकागो शहरको Devon Street लाई दिवान स्ट्रीट भने जस्तै, हासो उठ्दो । जे होस, जय-किशन हाइटको एउटा घरको भित्तामा थियो भारतिय चलचित्र अभिनेता सारुखानको ठुलो पोस्टर । छेवैमा रहेछ बंगालीको समोसा पसल । समोसा पर्‍यो मेरो फेब्रेट । मुख च्याति च्याति समोसा टोक्नु साह्रै मनपर्ने तर काठमान्डुमा कलेज पढ्दा एकचोटी केटीसाथीहरु माझ मैले चम्चाले समोसा कोट्टाउदै खाएको देखेर केटीहरु दङै परेका थिए । मलाई निकै स्वाङ पार्नु पर्ने । तर म आजकल त्यस्तो छुइन । म एकदमै pragmatic वा practical भैसकेकोछु । विदेश यात्रा र शिक्षाले मेरा ढोंगी सोचाई र बिचारहरु बदलिईसकेका छन ।

बाटो पारि रहेछ नेपाली रेस्टुरेन्ट । नेपाली रेस्टुरेन्ट देखने बित्तिक्कै किन होला दिमागमा खाली मोमोको मात्रै याद आउने ? चिउरा र भटमास खाइयो । मिठो रहेछ । अघिल्लो रात त्यहि रेस्टुरेन्ट अगाडी एकजना नेपाली जस्तै देखिने चुरोटको सर्को तान्दै उभिएका मानिसलाई हामीले भेटेका थियौ । चिने चिने जस्तो लाग्ने तर हो कि होइन भन्दै मैले रेस्टुरेन्ट छिर्नु अघि फर्किएर सोधिहाले - " दाईलाई त एकदमै चिनेको जस्तो लाग्यो नि ! "

उहाँले भुईमा फालेको चुरोट कुल्चिदै, मन्द मुस्कान लाएर भन्नुभयो - " साथीहरु सबै मलाई हरिश माथेमा भनेर चिन्ने गर्दछन् । "

एकछिन त कुनै नेपाली फिलिमको डायलग दोहोरिएको जस्तो पनि लाग्यो । खुशी मान्दै म र मेरा साथीहरु उहाँसँग हात मिलाउदै एक दुई स्न्याप फोटो खिच्यौ र रेस्टुरेन्ट भित्र पस्यौ । रेस्टुरेन्ट भित्र गाउदै थिए दिपक बज्राचार्य । नेपाल हुदा मेरो लाईफमा यिनी कलाकारहरुलाई यत्ति नजिक बाट भेट्ने मौका कहिल्यै पाएको थिएन । म मान्दछु नेपाली पप गायक गायिकाहरु प्रति मैले पहिले पहिले श्रद्धा नराखे पनि मान्छे भेट हुदाँ त रमाइलो नै हुनेरहेछ । मान्छे भेट्नु अघि र भेटेपछिको छाप बेग्लै हुदँरहेछ ।

बाँकी दिन क्विन्स एरिया घुम्दै बित्यो । जताततै स्पेनिश भाषी मेहिकनहरुले लटरम्मै ढाकेका । मेहिकाली संगीत र खानाले उनीहरुको बजार फैलिएकोछ । त्यसै गरि भारतीय अनि बंगाली, जिविइस, पोलिश, रसियन, जर्मन, चाइनिस, कोरियन, जापानी लगायत सबैको आ-आफ्नै enclave निर्मित भैसकेको रहेछ । यहाँ एकजना सोलुखुम्बुको दाईले भन्नु भाथ्यो - "यहाँ नेपालीको बस्ती हुन त अझै लाग्छ १० बर्ष । "

रात परिसकेको रैछ । बाटोको छेउमा शांग्रीला भेन्डिङ रहेछ । तातो तातो बोसो सरीको मोमो झ्वाम्म मुखमा हाल्दा त तर्कुला पिल्छिएको पनि चाल पाएनछु । सब्ब्वे ट्रेन समातेर घर फर्क्यौ । लघभग सबै पसल बन्द भैसकेका रैछन । रातीको ११:३० भैसकेको रहेछ ।