Nepalese Folk Music

Wednesday, October 28, 2009

टोल टोलको कथा

अहिले टोल भरि जनसंख्या पनि कति साह्रो बढेको हो गाँठे ! हरेक घरलाई आफ्नो आर्जनीले आफ्नै सन्तान पाल्नु गाह्रो भैसक्यो । सन्तानले चाहेको-भनेको जस्तो पुर्याईदिनु नसक्ने घरपरिवारलाई गाह्रो छ । खुवाउनु नसक्ने घरपरिवारको सन्तानलाई भने हुनेखाने छिमेकीसित मागेर खाने बानी भैसक्यो र हुने छिमेकीलाई चै "भनेको बेलामा चाहिए जस्तो काम अर्हाउने निहुँमा मत्रै मद्दत दिने" बानी भैसक्यो ।

कुन-कुन छिमेकीकोमा वा कुन्चै टोल तिर चै काम पाईन्छ भन्दै, आमाको सन्तानहरु एउटा देखिन् अर्को गर्दै, जता-जता त काम पाईन्छ, त्यतैतिर एकपछि-अर्को गर्दै लम्किदैछन । आफ्नै सन्तान पाल्नु नसक्ने घरपरिवार भने धन्न अलिकति भएपनि बोझ हल्का हुनेभयो भनेर दुख माने जस्तो गरेपनि एक हिसाबले ढुक्क छन । उतातिर भने अर्काको सन्तानलाई पाल्दिनु पर्ने आमाहरु चै "थुईया! कुन जुनीमा पाप गरिएछ" भन्दै नामको लागि मात्र भएपनि सौतेनी आमाको रुपमा आफ्नो घरमा बास दिदैछन। सित्तैमा बास दिन त सबैलाई गाह्रो हुन्छ । अनि आफ्नो नाजायज सन्तानलाई सानोतिनो कामहरु दिएर घुँडा तिखारुन्जेल काम गराउन तर आफूलाई दोष नपर्ने गरि सौतेनी आमैले मौकाको फाईदा उठाउन ध्यानपुर्वक व्यवस्था गरेको हुन्छिन् ।

सानोतिनो काम गरे वापत टुप्लुक्कै बाँच्नु मात्रै पुग्ने हुनाले नाजायज सन्तानहरु चै खान-लाउन नपुगेको गुनासो गर्दछन । तर सौतेनी आमाको आँखा छलेर फ्रीजबाट खानेकुरा आफै झिकेर खान जान्नेहरु पनि टन्नै हुन्छन । उनिहरु चै आफुलाई खानलाउन पुगेको ठोकुवा नगरेपनि, गुनासो गर्नेहरुसित भने मत मा मत मिलाउदछन । यिनीहरुलाई सौतेनी आमाले बेलाबखतमा निहुँ खोजेपनि बास बस्नु चै दिन्छिन् है !

अब सौतेनी आमाले भनेको र चाहेको जस्तो सबै काम ठ्याक्कै पुर्याउन जान्ने चेपारेहरु चै सौतेनी आमाको favorite सन्तान हुनुपुग्दछन् । त्यस वापत favorite सन्तानहरुले दुई-चार कपडा बेसी र अलिक मिठो-मिठो खान पनि पाईहाल्छन । तर चाकरी गर्नु नजान्नेहरुलाई भने सौतेनी आमाले "उसो भए तेरो आफ्नै घर जा!" भनेर धपाउनु पनि बेर लाउदैनिन् । अलिक ढिंठ पल्टेर बसिराख्नेहरुलाई भने समातेर ढ्वाँङमा पनि हाल्न भ्याउछिन् । हुन त सौतेनी आमैको टोलमा पनि जनसंख्या भने बढेकोबढै छ । जतासुकै सरे पनि, अहिलेलाई दुई-चार जनालाई खानलाउन पुगे पनि, ढिलो नभए छिटो, टोलको समस्या त जहाँको त्यै छ । हैन र ?

तपाईको टोलको कथा कस्तो छ ?

No comments: