जिम जानु अगाडी छोराले नुनपानीमा भिजाएको एक ग्लास चना चपाउदै निस्किदा बाबाले भन्नुहुन्थ्यो "तलाई के को जिम जानु पर्यो बरु एता आएर हामीलाई माटोको डल्ला फुटाउनु सघा न, तेरो मसल पनि बन्छ । हामीलाई सजिलो पनि हुन्छ ।" कुनै दिन फेरि बेल्काको चिया-सिया खाएर टिभी हेर्नु बस्दा ठ्याक्कै आमाले भुईतल्लाबाट "अन्ते!! धारामा पानी आयो होला, पानी हेर्नु जा!" भनेर चिच्चाउनु हुन्थ्यो । अनि पानी थप्ने काम सकेपछि बारी गोड्नु त sure बोलाउनु हुन्थ्यो । अनि त्यसपछि रिसको झोंकमा माथ्थि देखिन नै सिढींमा भ्याट-भ्याट चप्ली बजार्दै ओरालो झर्थे । तर के गर्नु, जत्तिसुकै जोडले भुईमा चप्ली बजारे पनि आमाको अगाडी कै काम लाग्दैनथ्यो ।
अनि कोदालो टिपेर माटोको डल्ला फुटाउने तिर लागिन्थ्यो । हातमा ठेला त कत्ति हो कत्ति ! बारीमा ख्याल-ख्याल्यैमा आलु पनि रोपियो । बोडी सीमी, टमाटर सागसब्जिहरु सबै रोपियो । कुखुरालाई चारो खुवाउने देखिन लिएर सुली जति सफा गर्ने सबै गरियो । खोर सफा गर्दा मच्छरले खुट्टैभरि फोकैफोका पार्दिन्थ्यो । ढाडे बिरालो ले कत्ति चल्लाहरु पनि खाईदिन्थ्यो । भालेलाइ त समात्नै नसकिने । पोथीलाई छोप्दा चै थपक्कै बस्थ्यो । पोथीलाई काखमा राख्दा कस्तो तातो हुन्थ्यो । कुखुराको अन्डा टिप्नु चै कुन्नि किन हो साह्रै रमाईलो हुन्थ्यो । हामीले त अन्डा पसलमा लगेर पनि बेच्थ्यौ ।
जे होस् बारीमा पस्यो कि मच्छरले टोकेर हैरान पार्ने । पराल बालेर धुवा पार्दा चै अलिक सन्चो हुन्थ्यो तर फेरि गरम हुन्थ्यो । तर जे होस् रिस्सिन्दै भएपनि आमाबाबालाई सघाउनु चै सघाईदिन्थे । त्यो बेला रिसाई रिसाई काम गरेको आज्काल निकै याद आउछ । सबैले फेस्बुकमा फार्मभिल खेलेको देख्दा आफ्नो साँच्चिकै फार्मभिलको कथा साँट्नु मन लागेर लेखेको । आफ्नै बारीमा तरकारीहरु उमारेको भएर बजारमा किन्नु पनि त्यति जानु नपर्ने । झन त्यैमाथि सानो परिवारलाइ त पुगिहाल्ने । पैसा पनि जोग्गिने । ताजा तरकारीहरु पनि खानु पाइने । रमाईलो थियो ।
अहिले त नेपालमा महंगी बढेर जेसुकैको भाउले आकास छुएको छ हरे भनेर सुन्छु । बेला बेलामा आमाबाबालाई घरमा फोन गर्दा बारीमा के के रोप्नु भाको छ त भनेर सोद्धा, "अब त बुढो भैइयो, पहिला जस्तो काम गर्नु सकिन्न त्यसैले पहिला जस्तो रोप्नु पनि सकिन्न, सघाउने मान्छे पनि छैन । " भनेर भन्नु हुन्छ । त्यस्तो कुरा सुन्दा खेरि चै अलिक् भित्रै पोल्छ अनि पहिले पहिले आफु बित्थामा रिसाएको कुराहरु याद आउछ । नरमाईलो लाग्छ ।
त्यति खेर चै बारीमा करैले काम गरिन्थ्यो । रिस् उठ्थ्यो ।
अहिले चै बारीमा काम गर्ने एक्दमै रहर छ । रिस् पनि उठ्छ तर ...मौका नपाएर ।
Friday, October 2, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment