Nepalese Folk Music

Thursday, December 25, 2008

त्यो भालेले अझै चिथार्छ

सानोमा हाम्रो घरमा एउटा भाले कुखुरा थियो । टोलको मान्छेहरुलाई ठुंङेर हैरान पार्थ्यो । भाले पनि निकै ठुलो थियो । नजिक पर्नु पनि कस्तो डर लाग्थ्यो । त्यो भाले सित त हाम्रो कुकुर पनि डराउथ्यो । हाम्रो कुखुराको खोर दुई तल्ले थियो । पोथी जति तल्लो खोरमा बस्थे । सायद अण्डा टिप्नु सजिलो हुन्छ भनेर होला आमाले त्यसरी राख्नु भएको । अनि त्यो रातो जुरेली भएको भालेले आफ्नो खोर बाट तलतिर सिमेन्टको भुईमा हाम्फालेर झर्दा पनि कस्तो साह्रो ठुलो "ढ्वाक्क्" आवाज निकाल्थ्यो । सानोतिनो मान्छेले हाम्फालेको जस्तै लाग्थ्यो । त्यसको नङ्रा पनि कति साह्रो चुच्चो थियो । हाम्रो आमालाई मात्रै नठुंङ्ने । बाँकी घरको सबै डराउनु पर्ने ।

जालीको ढोका च्याँss गरेर खोल्दा ढोकाबाट निस्किने मान्छेलाई त्यो भालेले कस्तो ध्यान दिएर हेरिराको हुन्थ्यो । जाली ढोका पनि आवाज नआउने गरेर बिस्तारी खोल्नु पर्ने अनि एक्दमै बिचार पुर्‍आएर पाइला चाल्नु पर्ने । पछाडी हेरेर हिड्दा हिड्दै पनि कताबाट एक्कास्सी कुद्देर आएर ठुङिहाल्थ्यो । हाम्रो घरको टोइलेट पनि घर बाहिर थियो । त्यै माथि पारी पाखा कुखुराको खोर । त्यै बाटो भएर जानु पर्ने । त्यस्तो पारी कुखुराको खोर हुँदाहुदै पनि डराई डराई टोइलेट छिर्नुपर्ने । त्यसैले त्यसको खोरको ढोका खुल्लै छ भने बरु पहिला म आमालाई बोलाउथे । मलाई टोइलेट जानु पर्यो भने त हाम्रो यस्तो खाले पानी उगाउने भाडा थियो । म त त्यो भाडामा पानी लिएर जान्थे । अनि भाले नजिक-नजिक आयो भने पानीले छेप्दिन्थे । अन्त परै बस्थ्यो । अनि बेस्मारी दौडिएर टोइलेटभित्र पसेर छिट्टो छिट्टो चुक्कुल लाउथे । फेरि निस्किने बेलामा टेन्सन हुन्थ्यो । टोइलेटको ढोकाबाट बिस्तारी चिहाएर त्यो भालेको उपस्थिति हेरिकन बिचबाटो काटे झै दाया र बाया हेरेर मात्रै दगुरिन्थे । एक्दमै टाईमिङ मिलाउनु पर्ने नत्र हमला भैहाल्थ्यो ।

बिचरा हाम्रो हुन्सिङ दाईलाई पासुलामा ठुङेर कस्तो नराम्रो चोक्टै उडाईदेको थियो । अहिले सम्झिन्दा त साह्रै हास उठ्छ । त्यो भालेले ठुङ्ने बेलामा आफ्नो घाँटी तन्काएर टाउको वरपरको प्वाँखहरु जति सबै मजुरले जस्तै फुल्लाउथ्यो । काट्टीकुट्टी एउटा त्यो जुरासिक पार्कको जनावर जस्तै देखिन्थ्यो । अनि त्यै सोचेर म डराउथे । जे होस् त्यो भालेले अरु भालेहरुलाई पनि थर्काएर राखेको थियो । हुन त म पनि घरको एउटा सानोतिनो भाले नै थिए । तर मलाई त्यसले ठिक पारेको भन्नु चै मिल्दैन, त्यो संग म अलि अलि मात्रै डराउथे । पछि त्यो भालेलाई बुढेसकाल लागेर होला आफ्नै खोरमा मात्रै बस्थ्यो हरे । म त घर छोडेर होस्टल गैसकेको थिए । आमाले त्यो भाले आफै मर्‍यो कि नत्र काटेर खायौ भन्नु भयो कुन्नि? बिर्सिए । तर छुट्टीमा घर आउदा भने नडराईकन टोइलेट पस्नु पर्दा खल्लो लाग्नेरहेछ । त्यो भालेको निकै याद आउथ्यो । हुदा पनि रिस उठ्ने, नहुदा पनि खल्लो लाग्ने । सानोको कुराहरु सम्झिन्दा रमाईलो लाग्छ । जे होस्, कहिले कसो त्यो भालेको सम्झनाले अझै चिथार्छ ।

2 comments:

Anonymous said...

तपाईंको लेखने शैली एक्द मै मनपर्छ अनि तपाईंको ब्लग पनि । । ।
तपाईंले कुनैपनि कुरालाई interesting तरिकाले लेख्नुहुन्छ । ।यो नै यस ब्लगको बिशेषता हो । धन्यवाद तपाईं र तपाईंको ब्लगलाई ।

सेतो माकुरा said...

तपाईले फुर्काउनु भयो । मेरो नाक फुल्लेर झर्नु मात्रै बाँकी छ । धन्यबाद