Nepalese Folk Music

Thursday, January 8, 2009

बिचरा गम्बु

बच्चा बेलामा घरमा एउटा सानो कुकुर ल्याईदिनु भयो । पहाडबाट ल्याएको ठुलो जातको कुकुर हो क्यारे । सानो थियो तर एक्दमै भुक्क परेको । खैरो खैरो भुत्ला भाको, नाम चै "गम्बु" । भात खादा पनि मेरो मासुको चोक्टा त्यसलाई छुट्टाएर दिन्थे । हड्डी जति मैले खान्थे । मासु चै त्यस्ले । टोलमा भुस्याहा कुकुरहरु टन्नै थियो । त्यसैले बाहिर नजावोस् भनेर अगाडी ढोकाको चुक्कुल सधै लगाएर राख्थे ।

त्यो बेला होस्टलमा एकाबिहानै उठ्नु पर्ने बानी,घरमा ढिलो सम्म सुत्नु पाउदा त कस्तो सन्चो हुने,अबेर सम्म सुतिन्थ्यो । एकदिन त कसरी हो एकाबिहानै ६ बजे गम्बु त ढोका बाहिर पो पुगेछ । अनि आमाले "तेरो कुकुर बाहिर पुगेछ है, भाग्ला, जा! गएर ल्याईज" भन्नुभयो । टोलको ठुल्ठुलो भुस्याहा कुकुरहरुले टोक्देला भनेर अत्ताल्लिदै हत्त न पत्त बिस्तराबाट हाम्फालेर गम्बुलाई समातेर भित्र ल्याए । "राती सुत्ने बेलामा पनि ढोकाको चुक्कुल राम्रै सित लगाको हो, कसरी बाहिर निस्किनु सकेछ ? थाहा नै भएन" भन्दै फेरि बिस्तरामा गुट्मुटिनु पुगे । आमाले "अर्हे! उठ् फेरि पो सुतेछ यो त" भन्नु भएपनि म सुतिरान्थे ।

भोलिपल्ट पनि फेरि आमाले "तेरो कुकुर बाहिर फुत्क्यो, जा! लिएर आइज" भन्नुभयो । कस्तो अचम्म? त्यस्तो एकबिहानै चिसोमा बिस्तराबाट निस्किनु पर्दा कस्तो गाह्रो हुन्थ्यो । त्यैमाथि बल्ल बल्ल होस्टलबाट फुत्केर घरमा मनपरी सुत्नु पाईराको बेलामा एकाबिहानै उठ्नु पर्दा झन कस्तो हुन्छ त्यो त होस्टल बस्नु भाको छ भने तपाईलाई पनि थाहा होला । मन नलागि नलागि बिस्तरा छोडेर बाहिर गयो अनि समातेर फिर्ता ल्यायो । फेरि अर्को दिन पनि त्यस्तै ! छक्कै पर्नु । कुकुर बाहिर निस्किनु नसकोस भनेर राति सुत्नु अगाडी झन चुक्कुल पनि दुईचोटी चेक गरेर ढोका लगाउदा-लगाउदै फेरि पनि बाहिर पुगिराकै हुने । दिनदिनै हरेक बिहान उठेर लिनु जानुपर्ने ।

सध्धै त्यस्तो हुन थालेपछि त एक्दिन् त साह्रै रिस उठ्यो । रिसको झोंकमा बिस्तराबाट जुरुक्क हाम्फालेर स्वाई-स्वाई गर्दै बाहिर निस्के (मैले ट्र्याकसुट लगाएर होला त्यस्तो आवाज निस्केको) र अनि बाहिर पुगेर त्यो गम्बुलाई पाखुरामा दुईटा हातले च्याप्प पक्रेर भित्र ल्याएर भुईमा ठ्याक्क् राखे । अनि मेरो खुट्टालाई पछाडी बेस्स्स्स्मारी तन्काएर त्यसको पेटमा ढ्याम्म्म्म्म लात्ता हानेको त बिचरा त्यत्रो फुच्चे सानो कुकुर त कस्तो हुत्तिएर मेरो टाउकोको लेभलसम्म चुइइईय हावामा उडेको र कस्तो नराम्रो गरेर भुईमा भ्यात्त्त्त्त पत्राकिएको । बिचरा त्यस्को जतानामको भात खाएर टुन्न फुल्लिने पेटमा कसिलो जोड खादा त कस्तो साह्रो दुख्यो होला । पछि त आफैलाई "लाह!रिसको झोंकमा कस्तो पाप गरिएछ" भनेर डर-डर पनि लाग्यो । माया पनि लाग्यो । पुच्छर लुकाएर कुईकिरहेको गम्बुलाई फेरि च्याप्प समातेर सुम्सुम्याउनु थाले । आमाले पनि गाली गर्नुभो । आफैले गरेको काममा कस्तो नरमाईलो लाग्यो ।

भरै त पछि थाहा भयो । आमाले नै पो मलाई बिस्तराबाट छिटो उठाउने बानी बसाल्नु पर्‍यो भनेर ढोका खोल्दिनु हुदोरैछ । त्यसरी पो त्यो एकाबिहानै घर बाहिर पुग्दोरैछ । बित्थामा गम्बुलाई मैले लात हानेको । बिचरा गम्बु !

2 comments:

Aakar said...

भात खादा पनि मेरो मासुको चोक्टा त्यसलाई छुट्टाएर दिन्थे । हड्डी जति मैले खान्थे । मासु चै त्यस्ले । .............
त्यस्तो गरि पालेको गम्बुलाई पनि लात बजाइदिनु भो' है ! कुरा त मर्मस्पर्शी छ, तर म भने लात हानेको वर्णन पढेर हाँसेको हाँसेकै छु, अझ हिँड्दा पनि आवाज आउने !
हाहाहाहा

Dilip Acharya said...

तपाईको पोष्टहरु पढ्दा तपाईमा मानविय भावहरु गहिरो भेट्छु म । अनी आकारजीले भनेजस्तै म पनि सोच्दै थिएँ विहान धेरैबेर सुत्न नपाएको झोकमा कसरी त्यस्तो मन परेको कुकुरलाई पनि लात हान्न तम्सिनु भयो ? ।

तर तपाईको आमाको 'ट्रिक' पनि खुब राम्रो र रमाईलो लाग्यो ।