Nepalese Folk Music

Monday, April 28, 2008

तपाईले कति ओटा खसी ढाल्ने ?


कोसैलाई आफ्नो बिहामा पाँचवटा खसी ढाल्यो भन्दा निकै फुरुक्कै हुनु मनलाग्छ होला कि कसो? पक्कै पनि जोसुकै भएपनि निकै दंगै पर्छन होला । तर त्यो बिचरा मार पर्ने खसीलाई कस्तो अनुभव भैरहेको हुन्छ होला भनेर म त्यो खसीको दिमाग भित्र पसेर उसको मर्का बुझ्ने कोसिस गर्दैछु । एकातिर एक्दमै रमाईलो अनुभव बाँडिएको हुन्छ भने अर्कोतिर चै साह्रै डरलाग्दो त्रास छाएको हुन्छ । म किन यस्तो कुराहरु सोच्दैछु? कतै म बौलाउनु आटेको त होइन? कस्तो कस्तो खाले कुराहरु दिमागमा आँउदैछ हँ ? मुखमा क्वाम्म मासु हालिसकेपछि दाँतले दाँया र बाँया लुच्छ्दै, गालाबाट झोल चुहिएर औंला देखिन् कुईनासम्म पुगुन्जेल भने केहि पत्तो हुदैन। अनि केहि समय अगाडि जागेको दया त्यत्तिकै बिलाएर जान्छ । हाम्रो आँखा किन यसरी टाल्लिन्छ ? यस्तै छ लाईफ !

Tuesday, April 1, 2008

पेन्सिल कसरी तिखार्ने ?

आज लगभग १२-१३ बर्ष पछि होला मैले चक्कुले पेन्सिल छिलेर लेखेको । तपाईको छोरा छोरीलाई पेन्सिल चक्कुले पनि छिलेर तिखार्न सकिन्छ भनेर थाहा दिनुहोला । आजकल त सबैजना शार्पनर चलाउछन त्यसैले उनिहरुलाई यसबारे ज्ञान नहुन सक्छ । चक्कुले पेन्सिल तिखार्दा राम्रो सित ध्यान पुर्‍याएन भने औंला काट्टिनु सक्छ भनेर सचेत गराउनु होला ।

आज चक्कुले पेन्सिल छिलेर कपिमा लेख्दा त स्यानोको स्कूलको सम्झनाहरु आयो । चक्कुले पेन्सिल तिखार्ने तरिका :

१) पेन्सिल बाँया हातमा लिने र चक्कु चै दाँईनेमा ।
२) त्यसपछि दाईने हातको बुढि औंलालाई बाँया हातको बुढि औंलाको ठ्याक्कै अगाडि राखने ।
३) याद राख्नुहोस, तपाईको दुइटै बुढि औंला पेन्सिलको माथि बसेको होस् ।
४) त्यसपछि बिस्तारै बिस्तारै बाँया बुढि औंलाले दाईने बुढि औंलालाई अगाडी र पछाडी ठेल्दै तिखार्नु थाल्नुहोस् ।


तपाईसंग चक्कु छैन भने दाह्री काट्ने टोपाज ब्लेडलाई आधा भाँचेर पनि तिखार्नु सकिन्छ ।

तपाईले यो गाईडलाईन फलो गर्दा औंला काट्नु भयो भने यसमा मेरो कुनै दोष हुने छैन।

क्याटर्याक्ट विरुद्द बेसबलको टोपी

हिमाली भेगमा बस्ने बालक तथा बृद्धहरुमा घामबाट आउने अल्ट्राभायोलेट किरणले गर्दा आँखामा असर पार्ने मौका धेरै हुन्छ हरे र त्यस्पछि आँखाले नजिकको मात्रै राम्रो सित देखिने र टाढाको चै धमिलो देखिने स्तिथि आईपर्छ हरे जस्लाई "क्याटर्याक्ट" भनिंदो रहेछ । क्याटर्याक्टका कारण दृष्टिविहीन पनि भैईने रहेछ । सोहि बिषयलाई लिएर क्यानाडाकी नागरिक वेन्डा दिदीले नेपालको दुर्गम हिमाली क्षेत्रमा क्याटर्याक्ट समस्या सुल्झाउन नेपाली बालबालिका तथा बृद्धहरु माझ थुप्रै बेसबल क्याप पुर्‍याउने निधो गरेकी रैछिन । त्यसका लागि उनले सहयोगार्थ अनेक प्रयत्न गरिरहेकी रैछन । क्याटार्याक्ट निर्मूलन पार्ने अत्ति उत्तम बिचार । म यो Caps against Cataract उद्दारकर्मीहरुको बिछट्टै नौलो अनि कलात्मक ढंगको बिचारलाई मनभित्र देखिनै आत्मसम्मान गर्दछु । क्याटर्याक्ट सर्जरी भनेको धनी र पैसा हुनेलाई मात्रै उपलब्ध भएकोले गरिब जनताका लागि भने बरु टोपी नै लगाएर भएपनि यो रोग निर्मूल पार्न सकिने सोचेर नै दिदीले पाईला चालेकी हुनुपर्छ ।

तर मलाई डर लाग्छ ...निशुल्कमा कुनै पनि कुरा पाईन्दैन हरे भन्छन ।

ती बेसबल क्यापहरुले(उद्दार गर्ने दानीहरुको इच्क्षा बिपरीत)दुर्गम क्षेत्रका कलिला नेपाली बालकहरुको क्याटार्याक्ट समस्या चट्ट सफा गरे वापत कलिला दिमागमा फेरि नेपाली टोपी भन्दा बिदेशी टोपी नै दामी भन्ने खाल्के नेपाली गौरवतामा आँच पुर्‍याउने मानसिकता नजगाईदियोस । मेरो बिचारमा हाम्रो मनमा यस्तो भावनाहरु पैदा हुनु भनेको क्याटर्याक्ट भन्दा ठुला मानसिक रोग हुन् जसले गर्दा ती बेसबल क्यापहरुमा गाँसिएका अपरिचित संस्कृति, महत्व, सपना अनि भावनात्मक मुल्यहरु आदिले व्यापारिक तथा अन्य पक्षलाई उद्दारको नाममा जानेर भनौ वा नजानिकन, जे होस् लामो अवधिमा उनीहरु आँफैलाई फाईदा हुने बाटो चै नबिछाईयोस् । उनिहरुलाई फाईदा भन्दा पनि हाम्रो आफ्नै नेपाली गौरव र पहिचानलाई बेफाइदा नभओस् भन्ने मेरो मुख्य छलफलको बिषय हो । सामान्य काठको पिर्काबाट उचालिएर गचक्क परेको आरामदायी सोफा सेटमा थचक्क बस्न त कसलाई पो मनपर्दैन ?

अर्को कुरा: हामी सधै किन सहयोग दिनेमा भन्दा लिने मध्येमा मत्रै पर्छौ ? उद्दार गर्ने राम्रो राम्रो कलात्मक तरिकाहरु किन उनिहरुलाई मात्रै आँउछ ?

नेपालीहरुको आँखा "मात्रै" जोगाउन लागिपरेका उद्दारकर्मीको प्रयास सफल रहोस् ।

यस सम्बन्धित आर्टिकल हेर्नु यहाँ थिच्नु होला ।

Saturday, March 29, 2008

अध्याँरो गुगल


आज मार्च २९, २००८ शनिबारको दिन । गुगललाई Earth Day लागेको छ हरे त्यसैले संसार भरि उर्जा सदुपयोग बारे जनचेतना जगाउन गुगलको होमपेज कालो पारिएको छ । होमपेजमा भनिएको छ हामीले बत्ति मारेका छौ । अब तपाईहरुको पालो ! नेपालमा दिनको आठ-आठ घन्टा बिजुली लोड-शेडिङ हुंदा त कतै हाम्रो देशले निकै राम्रै काममा सहभागिता जनाएको पो हो कि ? सायद हामी साह्रै प्रकृतिप्रेमी छौ क्यारे - त्यसैले होला हामीलाई दिनदिनै यो Earth Day लागि रहेको छ ।

Tuesday, March 25, 2008

लस्ट ईन ट्रान्स्लेसन

नेपालीहरुले किन बिदेशीहरुलाई नेपालीमा फटाहा कुरा गर्न मात्रै सिकाउछन कुन्नि? अहिले मेरा सहकर्मी अलिशाले म नेपाली भएको थाहा पाएपछि उनले मलाई आफुलाई एउटा दुइटा नेपाली शब्द भन्नु आउछ भनेर सुनाइन् । मैले पनि अहो! कस्तो गजब रैछ भन्दै, लौउ सुनाउ न त तिमीलाई नेपालीमा के भन्नु आउछ भनेर सोधे । आफुलाई शब्द भन्नु आए पनि त्यस्को अर्थ चै थाहा नभएको जनाउदै खट्टो तितौरा खाँदा जस्तो अमिलो आँखा हुन्छ नि हो त्यस्तै एक्स्प्रेसन लाउदै उत्साहित मुद्रामा भनिन् - लट्टा जुस !! अनि के रहेछ यो Lotta Juice जस्तो सुनिने शब्दको अर्थ भनेर आफ्नो दिमाग केलाए । दिमागमा बत्ति उत्तिखेरै बलिहाल्यो अनि हल्का मुस्कुराएर उनलाई भने त्यसले तिमीलाई फोहोरो कुरा भन्नु सिकायो । अब अरु नेपालीलाई भेट्यौ भने त्यसो कहिल्यै पनि नभन्नु ।

यसै प्रसंगमा अर्को कथा घुसाईहालुम्,मेरा फेस्बुक मित्र बबीका अनुसार उनले एकजना कुइरेनीलाई नेपाली बोल्नु सिकाउने क्रममा "माई नेम इज जुली" लाई नेपालीमा भन्नु पर्दा "मेरो नाम जुली हो " भनेर भन्नुपर्छ भनेर सिकाएछन । बिचरी जुलीले नेपालीमा "हो" को अर्थलाई अङ्रेजी "Ho" को अर्थ लगाईछन र भनिछन, म जुली but I am not a Ho.

Tuesday, February 26, 2008

नर्थ कोरियाको एम्बसी

झम्सिखेल, जावलाखेलतिरै हो क्यारे नर्थ कोरियाको एम्बेसी भएको । अहिले सम्झिदा चै साह्रै हासुठ्छ । त्यो बेला त हामी दुई भाई बाहिर जाने भनेर निकै तात्तिएका थियौ । त्यसै क्रममा कहिले कुन एम्बेसी त कहिले कुनमा पुगिराको हुन्थ्यौ । थाईलेन्डकोमा पुगिएन कि? अस्ट्रलियाकोमा पुगिएन कि? फ्रान्स, जर्मनी कता-कताकोमा त पुगिएन होला? घुम्दा-घुम्दा वाक्कै भएर घर फर्किदै गरेको बेलामा बाटोमा झम्सिखेल नजिकै हो क्यारे-नर्थ कोरियाको एम्बेस्सी देखियो । दिनभरिको कुदाईले लखतरान परेको दुई भाई हामी साह्रै थकित भएर पनि होला,"लौ घर नजिकै रहेछ, यसमा पनि पसि हालौ" भनेर कुरा मिलाईयो । मोटरबाईक गेट नजिकै अड्याउनु अगाडी किन दिमागले काम गरेन कुन्नि? दिनभरि जुन जुन त भेट्छ त्यै त्यै एम्बसी पसेको भएर होला । गेट भित्र हेर्दा घर त सुनसान थियो । ओर्लेर गेटनिर भाको बोलाउने घन्टी थ्याच्छ थिचिहाल्लियो । घन्टी बज्ने बित्तिकै हामी दुवैको दिमागमा पनि बल्ल घन्टी बज्यो । त्यसपछि त हामी दुवै भाई एक अर्कालाई हेर्दै मनमनै प्रश्न गर्यौ । नर्थ कोरियामा मर्नु जानु छ र घन्टी थिचेको ? को पो जान्छ होला त्यहाँ काम गर्नु? त्यति भन्दै हामी दुवैको एकैचोटी हासो फुट्यो । त्यसपछि अताल्लिएर छिटो छिटो भागौ भनेर मोटरबाईकमा चढ्नु आटेको भरै त भित्रबाट एउटा नर्थ कोरियाली आईमाई आईपुगिन र इङ्लिसमा सोधिन,"तपाईहरुले कसलाई खोज्नु भएको होला?"

हामी फेरि ढाँट्नु पनि नजान्ने । इङ्लिसमै उत्तर फर्कायौ, "बाटो हराएर आईपुगिएछ, माफ गर्नुहोला, सरी!" भन्दै टाप कस्यौ ।

बिदेशिने क्रममा नर्थ कोरियाको एम्बसी पुग्ने पहिलो नेपाली हामी दुईजना दाजुभाई नै होला ।

Tuesday, January 29, 2008

धेरै हतार नगरौ

जाडोको महिना थियो क्यारे । टि भी कोठामा हिटर बालेको थियौ । पाहुनालाई डाईनिङ रूममा चिसो होला भनेर टि भी कोठामा नै भात खुवाउने भन्नुभयो । त्यस्तो राम्रो कार्पेट माथि भातको सिठा अथवा चिल्लो तरकारी वा तेल-सेल झार्ला भनेर टेबल मेट बिछाईयो । पाहुनाले खाना खाएर सकाउनुभयो । पाहुनालाई Tissue Paper ल्याएर दिनु नभ्याउदै पाहुनाले त हत्त न पत्त छेउको newspaper ट्याप्प टिपेर काच्याक कुचुक पार्दै हातमुख पुछ्न थाल्नुभयो । Newspaper परेछ एक्दमै low quality paper को । हुन्छ नि त्यो सुन्धारा असन तिर बेचिने दृष्टि, देशान्तर, जनादेश खाले खबरपत्रिका । पक्कै पनि त्यस्तो पत्रिकामा सस्तो खाले मसीको प्रयोग भएको हुनुपर्छ । अब त्यस्तो खाले कागजले मुख पुछेपछि के होला ?

बिचरा हाम्रो पाहुनाले मुख पुछेर टाउको ठाडो पार्दा त उन्को गाला, मुख र निधार भरि जताततै देशान्तर र जनादेश लेखिएको अक्षरै अक्षरले पोतिएको ।

Sunday, January 20, 2008

इन्डोनेस्यन आमै

एका बिहान इन्डोनेस्यन आमैले आफ्नो नातिनीको फोटो देखाउदै भनिन् - "लुक दिस इज माई ग्रेन्डटर । " हामी जस्तो ठिटालाई के खान देखाउनु पर्यो होला उस्को नातिनीको फोटो । अझै उ अहिले तरुनी भैसकी भनेर पनि भनिन । हामी सोझो मान्छे अलिकति लजाएको एकटिङ पनि गरिहाल्यौ । मैले पनि मौकामा थपिहाले,"शी इज भेरी प्रिटी! वि केन बी कावान-कावान ! बुढि आमैले हास्दै आफ्नो नातिनीको फोटो हत्तपत्त लुकाइन् । भरै भोलिपल्ट त पुरै फेमिली एल्बम नै बाहिर टेबलमा, त्यैपनि दुई-दुई ओटा । तर अहिले मलाई एल्बम हेर्ने फुर्सद भने छैन । यी आमैले केरालाई तेलमा तारेर पकौडा जस्तो बनाउद रैछिन । अन्त सिद्रा माछा पनि इन्डोनेस्याको एक्दमै सबैलाई मनपर्ने खाना भएको बताउछिन । वहाँले पकाउनु भएको खाना खाँदा त ब्रुनाईमा नासी कातोक खाएको याद आँउछ । दुईजना बुढाबुढी सधै मस्जिद जाँदा केई न कै खानेकुरा पकाएर लैजाने गर्दछन । आवाशले भन्यो धर्म नै गर्नु छ भने घरबाट नै सुरुगरे भैहाल्यो नि हैन ? त्याँ मस्जिदमा लगेर खुवाउनु भन्दा बरु हामीलाई नै मिठो मिठो पकाएर खुवाए कति उपकार हुन्थ्यो, हामीलाई सधै भात पकाई राख्नु पनि पर्दैनथ्यो । यस्तै यस्तै कुरामा अर्को कुरा निस्कियो । मान्छे हरु किन मन्दिरमा गएर मात्र खाना बाँढछन । बाटोमा बसेको माग्ने लाई पनि किन मन्दिरमै पुग्नुपर्ने ? उपकार गर्नेहरुले के मन्दिर वा मस्जिदमै गएर मात्रै अर्काको भलो गर्नुमिल्छ भनेर सोच्दछन ? सांचो परोपकारीले त यसरी आफ्नो उपकार गर्ने गन्तव्य पक्कै पनि छुट्टाउदैनन् ।

कतिपयले भलो गरेवापत स्वर्ग पुगिन्छ भन्ने लोभमा उपकार गर्दछन । त्यो उपकार होइन, लोभ हो । त्यो उस्ले स्वर्गको ढोकाभित्र छिर्ने टिकट बनाउनु खोजेको मात्रै हो । त्यहाँ ढोकामा बस्ने accountant लाई लौ! हेर भग्वान मैले कत्ति धेरै मान्छेलाई उपकार गरेकोछु भनेर भन्नुको लागि मात्रै हो । पक्का उपकारीलाई न स्वर्ग चाहिन्छ न त पाताल नै । न उस्लाई कसैको पुजा गर्नु छ न कसैले आफुलाई पुजोस भन्ने आश नै । धर्मको कुरा गर्ने हो भने कहिल्यै पनि सकिन्दैन र मान्छेहरु एक आपसमा सधै म ठिक र त बेठिक भनेर लड्छन । यै कुराले धर्म भनेको मानव निर्मित institution हो भनेर बुझिन्छ नत्र त्यो युगमा दैविय शक्तिहरु भएको भए पक्कै पनि आजसम्म मानिसहरु यसरी लडिरहेको हुदैनथिए । धर्म भनेको अन्धोहरुको लागि हो तर यो भन्दै गर्दा मैले आफैलाई ज्ञानी भन्नु खोजेको पनि होइन । म नाष्तिक होइन । मलाई सबै धर्मको teachings हरु मनपर्छ तर धर्मसंगै संस्कृतिबाट गाँसिएर आउने rituals को भने म सबैभन्दा ठुलो शत्रु हुँ । मलाई भग्वानको फोटो पुज्नु मनलाग्दैन । बरु उस्ले सिकाएको पाठ अनि राम्रो कुराहरु पुज्नु मनपर्छ (rituals excluded)।

कहाँ इन्डोनेस्यन आमाको कुरा कहाँ गाग्रामा पुगिराको । भैगो आजलाई यति नै । त्यो फोटो एल्बम चै कुनै दिन हेरौला । पक्कै पनि त्यहाँ उन्को थुप्रै राम्री राम्री नातिनीहरुको फोटो हुनुपर्छ ।

Saturday, January 19, 2008

तातो पानी

टोइलेटभित्र बाट कसैले बेस्सरी चिच्चाएको आवाज आयो, ”आsssत्था! मा...ने !"
सुन्दा पनि साह्रो हाँसुठ्यो । पक्कै पनि प्रज्वललाई तातो पानीले झुक्काएर पोलेको हुनुपर्छ । अहिले घरमा shower बिग्रेकोछ । तातो पानी कतिखेर एकैछिनमा व्हात्त आउने हो थाहा हुदैन । फेरि जतिसुकै मसिनो धारा पारे पनि एकदमै पोल्ने तातो पानी आउछ । त्यैमाथि धारा पनि कुन जमानाको हो कुन्नि? थोत्रे न थोत्रे छ । अस्ति म नुहाईरादा पानी साह्रो चिसो भयो भनेर हल्का तातो पानी पार्नु खोजेको त भरै झ्वाम्मै तातो पानी बढ्यो । त्येई माथि पानीको force ले बिग्रेको shower को बिर्को पनि फ्वात्तै झर्यो । त्यत्रो ठुलो पानीको भेल त सिधै मेरो निधारमा - आत्थु ! धारा बन्द गर्नु खोज्छु, पानी बन्द नै हुदैन ! त्यो जाबो सानो चारकुने shower, पछाडि सर्नु पनि नमिल्ने, एकछिन त ओहो झन्डै मरिन ! मासुलाई देक्चीमा उमाल्दा कस्तो हुदरैछ भनेर अलिकता अनुभव पनि भयो । कस्तो साह्रो निधार पोलेर burn भैराको छ । कस्सो ! तपाईहरुले झन्डै boil गरेको मासु खान पाउनुभएन । प्रेशर कुकरमा दाल पकाउदा, बिर्को भरि पानीको पहेलो फाप्रा बन्छ नि अन्त कोट्टाउदा पनि प्वाक्क प्वाक्क उप्किन्छ नि! हो त्यस्तै मेरो पनि निधारबाट छाला त्यसरी नै उप्किन्दैछ । मैले अईनामा हेरेको । अब नया छाला पलाउने भयो । जे होस् ! अब मेरो पुरानो टेन्सनै टेन्सन ले भरिएको निधारको छाला सबै निस्केर जाने भयो । २००८ मा मेरो नया निधार हुने भयो ।

Wednesday, January 2, 2008

Jackson Height को यात्रा

मीर्क्याटले आफ्नो घाटी तन्क्याए झै म पनि झ्याल बाहिर घाटी तन्क्याउदै हेरे । हिउ परेको रहेनछ । जुता कसे र लागे सब्ब्वे तर्फ । अलिक् चिसो हावा चलेको रैछ । बाटोमा एउटा दुइटा मान्छे हिढेको देखे । नया बर्षको बेला, जाडोको मौसम, फूटपाथ भरि सुकेको पात हावाको बेग संगै गट्टरतिर बत्तासिदै थियो । बाटो मुनि ट्रेन कुदिरहेको आवाज आउदैथियो । आफ्नो मेट्रोकार्ड गोजीभित्र छाम्दै निकाले । तल मान्छेहरु अर्को ट्रेन पर्खिरहेका रैछन् । म पनि उनिहरु छेउ गएर उभिए । छेउमा एउटा मान्छे आफ्नो सानो फ्लुट बजाउदै थियो । निकै मिठो धुन थियो । तर कसैले पनि वास्ता गरेको जस्तो देखिन्न थियो । भीड जम्दै गयो । ट्रेन पनि आयो ।

ट्रेनभित्र कोहि निदाउदै थिए भने कोहि गफ हान्नैमा मस्त, कोहि आईपड खेल्दैमा मस्त भने कोहि किताब पढ्नैमा मस्त । म चै उभिइएर झ्याल बाहिर ट्रेनको रफ्तारसँगै बगेको दृश्य पछ्छ्याउदै थिए ।

रुजभेल्ट एभ्न्युमा ट्रेन रोकियो । बाहिर Jackson Height बजार आइपुग्यो जसलाई अप्रवासी भारतियहरु जय-किशन हाइट पनि भनेर भन्ने गर्दारहेछन । शिकागो शहरको Devon Street लाई दिवान स्ट्रीट भने जस्तै, हासो उठ्दो । जे होस, जय-किशन हाइटको एउटा घरको भित्तामा थियो भारतिय चलचित्र अभिनेता सारुखानको ठुलो पोस्टर । छेवैमा रहेछ बंगालीको समोसा पसल । समोसा पर्‍यो मेरो फेब्रेट । मुख च्याति च्याति समोसा टोक्नु साह्रै मनपर्ने तर काठमान्डुमा कलेज पढ्दा एकचोटी केटीसाथीहरु माझ मैले चम्चाले समोसा कोट्टाउदै खाएको देखेर केटीहरु दङै परेका थिए । मलाई निकै स्वाङ पार्नु पर्ने । तर म आजकल त्यस्तो छुइन । म एकदमै pragmatic वा practical भैसकेकोछु । विदेश यात्रा र शिक्षाले मेरा ढोंगी सोचाई र बिचारहरु बदलिईसकेका छन ।

बाटो पारि रहेछ नेपाली रेस्टुरेन्ट । नेपाली रेस्टुरेन्ट देखने बित्तिक्कै किन होला दिमागमा खाली मोमोको मात्रै याद आउने ? चिउरा र भटमास खाइयो । मिठो रहेछ । अघिल्लो रात त्यहि रेस्टुरेन्ट अगाडी एकजना नेपाली जस्तै देखिने चुरोटको सर्को तान्दै उभिएका मानिसलाई हामीले भेटेका थियौ । चिने चिने जस्तो लाग्ने तर हो कि होइन भन्दै मैले रेस्टुरेन्ट छिर्नु अघि फर्किएर सोधिहाले - " दाईलाई त एकदमै चिनेको जस्तो लाग्यो नि ! "

उहाँले भुईमा फालेको चुरोट कुल्चिदै, मन्द मुस्कान लाएर भन्नुभयो - " साथीहरु सबै मलाई हरिश माथेमा भनेर चिन्ने गर्दछन् । "

एकछिन त कुनै नेपाली फिलिमको डायलग दोहोरिएको जस्तो पनि लाग्यो । खुशी मान्दै म र मेरा साथीहरु उहाँसँग हात मिलाउदै एक दुई स्न्याप फोटो खिच्यौ र रेस्टुरेन्ट भित्र पस्यौ । रेस्टुरेन्ट भित्र गाउदै थिए दिपक बज्राचार्य । नेपाल हुदा मेरो लाईफमा यिनी कलाकारहरुलाई यत्ति नजिक बाट भेट्ने मौका कहिल्यै पाएको थिएन । म मान्दछु नेपाली पप गायक गायिकाहरु प्रति मैले पहिले पहिले श्रद्धा नराखे पनि मान्छे भेट हुदाँ त रमाइलो नै हुनेरहेछ । मान्छे भेट्नु अघि र भेटेपछिको छाप बेग्लै हुदँरहेछ ।

बाँकी दिन क्विन्स एरिया घुम्दै बित्यो । जताततै स्पेनिश भाषी मेहिकनहरुले लटरम्मै ढाकेका । मेहिकाली संगीत र खानाले उनीहरुको बजार फैलिएकोछ । त्यसै गरि भारतीय अनि बंगाली, जिविइस, पोलिश, रसियन, जर्मन, चाइनिस, कोरियन, जापानी लगायत सबैको आ-आफ्नै enclave निर्मित भैसकेको रहेछ । यहाँ एकजना सोलुखुम्बुको दाईले भन्नु भाथ्यो - "यहाँ नेपालीको बस्ती हुन त अझै लाग्छ १० बर्ष । "

रात परिसकेको रैछ । बाटोको छेउमा शांग्रीला भेन्डिङ रहेछ । तातो तातो बोसो सरीको मोमो झ्वाम्म मुखमा हाल्दा त तर्कुला पिल्छिएको पनि चाल पाएनछु । सब्ब्वे ट्रेन समातेर घर फर्क्यौ । लघभग सबै पसल बन्द भैसकेका रैछन । रातीको ११:३० भैसकेको रहेछ ।

Saturday, December 22, 2007

पट्टु र राशिफल

म सायद ३ क्लासमा पढ्थे । सानोमा आफ्नो बाबा र कजन् भाई सित बजार घुम्नु जादा बाटोमा भविष्य पढ्ने पट्टु फेला पर्यो । पाँच रुपिया तिर्यो भने जालीबाट निस्केर चिट्ठी तान्दै पट्टुले भविष्य बताईदिने । कस्तो बुद्धिमान पट्टु !

भाईको जोखना हेराउने भनेपछि त्यो पट्टुले थुप्रै चिट्ठी मध्ये एउटा चिट्ठी तानेर भविष्यवाणी निकाल्यो जसले भाइलाई ७५ बर्ष सम्म बाँच्नेरैछौ भन्यो । भाई दङ्गै पर्नु स्वभाविक नै थियो । मलाई पनि जोखना हेरा भनेर कर गर्नुभयो । कतै बुद्धिमान पट्टुले मलाई चै तँ त अब दुइ बर्ष मात्रै बाँच्नेछस पो भन्ने हो कि भनेर डर लागेर आयो । मैले जोखना हेराउनु मानिन । बाबा र भाई दुवैले हास्दै,"छि यो नाथे डरायो " भनेर जिस्काए ।

हामी घरतिर लाग्यौ ।

महिनौ दिन बितिसक्दा पनि मेरो कलिलो दिमागमा मृत्यु प्रतिको त्रास निकैबेर घुमिरह्यो ।

सानो हुँदा आमालाई सबैले अनेकथरि प्रश्नहरु गर्छन । आमाहरु सित सबै प्रश्नको उत्तर भने हुदैन । सबै प्रश्नको उत्तर हुने आमाले पहिलोपल्ट आफ्नो प्रश्नको उत्तर दिन नसेको थाहा पाएपछि, आमालाई त्यै प्रश्न बारम्बार दोहोराएर वाक्कै पार्नु पनि रमाईलो नै हुन्छ । यसै सन्धर्भमा मैले पनि आमालाई, " यो संसारमा सबैजना मर्‍यो र एउटा मात्रै मान्छे बाच्यो भने कस्तो हुन्छ होला ? ममी " भनेर सोध्दा मेरो आमाले " त्यस्तो त हुनै सक्दैन" भनेर उत्तर दिन्थिन । फेरि पनि म खालि त्यै प्रश्न गरिराख्थे । चिडाउनु रमाइलो हुन्थ्यो ।

आज मलाई के होला, भोलि के होला भन्ने सायद यस्तै प्रश्नहरुले गर्दा होला मैले राशिफल हर्नु थालेको । आमाले "ह्या एस्तो राशिफलमा पनि पत्त्याउछ कसैले??" भनेर मलाई सल्लाह दिनुहुन्थ्यो तर फेरि आफै राशिफल पढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, " म त खाली रमाईलोको लागि मात्रै पढ्छु नि !"

मलाई लाग्छ मान्छेहरु केवल रमाइलोको लागि मात्र राशिफल पक्कै हेर्दैनन । यो राशिफल भन्ने कुरा पनि साह्रो अचम्मको छ । हाम्रो दिमाग भित्र कुनै न कुनै एउटा कुनामा यस्ता कुराहरुले यस्तो छाप पारिरहेको हुन्छ जसलाई चाहेर पनि नकार्न सकिन्न । कसैलाई स्रोत थाहा छैन तर मान्छेहरु पत्त्याउछन । जति पढेलेखेको मान्छे भएपनि खबरपत्रिकामा पहिलो हेडलाईन पढेपछि सिधै अन्तिम पेजको राशिफलमा आँखा लाउछन् । हेर्नुस है म तपाइलाई नेपालीहरु कता कताबाट चै राशिफलको हेर्नु भ्याउछन, बताउनेछु ।

सबैभन्दा पहिलो राशिफल बिहान को एफ एम रेडियोबाट सुरु हुन्छ जुन्बेला धेरैजसो सुतेका नै हुन्छन् । अनि त्यस्पछि पसलमा दुध लिन जानेहरुले पत्रिका मार्फत आफ्नो रशिफल हेर्ने गर्दछन् । त्यस्पछि अलि ढिलो उठ्नेहरुले टिभीमा नेपालीमा समाचार सकिनु अगाडी राशिफल हेर्छन् । समाचार हेर्न नभ्याउनेले ईमेज चेनल हुन्छ कि नानाथरि योगा-सोगा वा जोगीहरुको चेनलबाट राशिफल हेरेर हुन्छ, अनि आफ्नो दिन सुरु गर्छन् । भित्र भान्छामा दुध उम्लेर गैसक्यो, उता राशिफल हेर्नैमा व्यस्त । हेर्नुस त, रशिफल हेर्नै को लागि मात्रै कत्रो होडबाजी । राशिफल हेरेर मात्रै आफ्नो योजना बनाउने अनि दिन्चर्या सुरु हुने यो कस्तो चलन !

जताबाट राशिफल थाहापाए पनि (विदेशी ॠण हरेक नेपालीको टाउकोमा लघभग १४ हजार पुगेको पत्तो छैन) आफ्नो रशिफल राम्रो लागेपछि नेपालीहरु " आज त मेरो दिन एक्दमै ठिक छ " भन्दै दङ्ग पर्छन । हुन त म आफै पनि राशिफलमा राम्रो-राम्रो लेखेकोछ भने पत्त्याउथे, नराम्रो लेखेछ भने, "ह्या एस्तो कुरामा पनि बिस्वास गर्छ ??" भन्दै पत्रिका एकातिर हुरराईदिन्थे । लौ भन्नुस त, तँ भोलि सिडीबाट बल्ड्याङ खाएर चेट हुन्छस भनेर कुन राशिफलमा लेखिएको हुन्छ ? तपाई हामी सबैलाई थाहा भएकै कुरो, धेरै जसो सबैलाई सामन्य रुपमा राम्रै भविष्यवाणी गरिएको हुन्छ । तोकिएर भविष्यवाणी देखाइन्छ भने पो हेर्ने ।

हजारौ बर्ष पुरानो तारा नक्षत्रहरुको ज्ञानमा आधारित बिज्ञान र आजको जमानामा फेला पर्दै आएका नया नया तारा मण्डलहरुको ज्ञान अनुसार पहिलेको राशिफल बनाउने प्रणाली आफैमा अपुग भएको भनेर बुझ्न सकिन्छ । राशिफल हेर्ने र साइतमा मात्रै चल्ने हो भने अहिले सम्म नेपालमा सबैकुराको परिणाम राम्रै निस्किनु पर्ने हो , होइन र ? यस्तै अन्धविश्वास र राशिफलमा चलेको हाम्रो देश अनि समाजमा सिर्जिएको वर्तमान परिस्थिती हेर्दा त, लाग्छ बुद्धिमान पट्टुले कतै हामी नेपालीहरुका लागि गलत चिट्ठी त तानेन ?

Wednesday, December 19, 2007

के तपाईलाई बिहे गर्ने टेन्सन छ ?

मलाई ? खै ? दिमागमा यो कुराले कता-कता घोचेको जस्तो पनि लाग्छ, खै के हो ?

मेरा साथीभाईहरुले के-के लेख्छ हँ एस्ले लेखनुपायो भन्दैमा भन्छन होला तर मलाई आफै सित ईमान्दार हुनु मनलाग्छ । मलाई थाहा भए अनुसार यस्ता कुराहरु सबैले झेल्छन तर थोरैले मात्र कुराहरु साट्छन । आखिर फुर्सदको कुराकानी न हो ।

अहिले जताततै पुरानो साथीहरुलाई कन्ट्याक्ट् गर्यो, जसले पनि एह त्यस्ले बिहे गरेछ नि हैन, उस्ले पनि बिहे गरेछ, लौ हामी त अब बुढो हुनु आट्यौ भनेर अत्त्तालिन थाल्छन्, तैले बिहे गरिस ? - भनेर पनि सोध्छन् । घरमा फोन गर्यो, आमाले पनि उहि कुरो, "हेर है छोरा, अब त तेरो पनि बेला हुनु आट्यो नि !"

सोमालियामा खान नपाएर मान्छे मरिराछन, सबैलाई बिहे गर्नैको चिन्ता छ । ढिलो भए नि छिटो भए नि, आखिर हुने बिरुवाको चिल्लो पात भैहाल्छ । किन त्यसै बित्थामा अताल्लिनु हैन र ? हा.. हा.. अलिक भन्नु खोजेको नमिलेको जस्तो लाग्यो ।

मेरो भनाईको तात्पर्य के हो भने, पहिला आफ्नो इच्छालाई प्राथमिकता दिने कि कसो ?

युनिकोड नेपाली डट कम मा नेपाली टाइप गर्दै बसेको त ठ्याक्कै मुन्तिर जीवनसाथी डट कम को विज्ञापन - कस्तो अचम्म । मैले बिहे गर्नु पर्यो भने यस्तो म्याच-मेकिङ साइट बाट चै गर्नु नपरोस् । कसैले भन्छन् अरेन्ज्ड मेरिज राम्रो, कोहि भन्छन् लभ मेरिज । मेरो लागि चै कुन राम्रो होला कुन्नि ? सोच्दै छु , सायद दुइटैको मिसावट बनाउनु पर्ला । लभ परेर मेरिज भाको राम्रो कि मेरिज भएपछि लभ परेको ? हुन त जुनै भएपनि दुइटै राम्रो, त्यैपनि भनेको जस्तो हुन्न रे भन्छन ? खै जान्ने बुझ्ने तपाईहरु नै हो , लौ सल्लाह् दिनु पर्यो ।

तर ढुक्कको कुरो के भने, बिहे गर्ने अधिकतम् उमेर ३० हो भने मेरो त अझै २-३ बर्ष डिपोजिट् छ । क्या मोज !

This is not for Nepalese

आज मैले ठमेल सम्बन्धि ब्लग्माण्डुमा एउटा पोस्ट पढे । पोस्ट पढ्दा त अहिले भर्खरै टिकट काटेर ठमेल जाउ जस्तो लाग्ने । विदेशी पर्यटकहरुको भीड, साथीभाईहरुको जम्घट, साना साना गल्ली र पसलहरु, झिलिमिली बत्ति, मोटरसाइकल र गाडीहरुको टिटिट् र पिपिप - कल्पना गर्दा त मनै थाम्न नसकिने । ब्लग चाहर्ने क्रममा तलपटि कमेन्ट पढे । सो ठमेल बारे लेखिएको पोस्टले खालि राम्रा राम्रा कुराहरु मात्रै जनाएकोमा एक्जना असन्तुस्ट पाठकले ठमेलमा नराम्रा कुराहरु पनि भएको कुराहरु लेखिनुपर्ने भनेर गुनासो गर्नुभएको रहेछ । कुरो ठिकै हो जस्तो लाग्यो । अनि मैले पनि कमेन्ट थपे ।

" बुट्वलबाट पढ्ने सिल्सिलामा काठमान्डु पुगेका मेरा मित्रले ठमेल घुम्दा एक जोर ट्राउसर किन्न भनेर ठमेलको एउटा पसल भित्र पसेछन् । पसल भित्र छिरेर उन्ले "यो ट्राउसरको दाम कति हो दाई" भनेर सोध्दा त पसलेले झर्किदै अङ्रेजीमा सेखी झार्दै " दिस् इच् नट् फर नेपलिज् !!" भनेर थर्कायो यार भन्दै उनि मुर्मुरिएको मलाई अझै याद छ । त्यतिखेर म लगायत मेरा साथीहरु उ माथि मुर्छा परि-परि त हास्यौ तर आज यहि कुरो एसो विचार गर्दा अचम्म लाग्छ । के ठमेलमा यस्तो नेपाली र विदेशी ग्राहक छुट्ट्याउने पसलहरु पनि छन ? "

मैले यहि कुरा कमेन्टमा हालेको थिए । एसो विचार गर्दा आफ्नो ब्लग पनि खालि भाको - भरिहालौ न यहिकुरो आफ्नै ब्लगमा पनि भनेर ब्लगिहालेको । मेरा सो मित्र हालै क्यान्सस राज्यमा अध्यन्नरत हुनुहुन्छ । त्यो भन्दा बढि त के भन्ने, नत्र फेरि लात् खाइन्छ ।

Tuesday, December 18, 2007

कागबेनीको छाप

हालै प्रदर्शन अघि नै चर्चामा आएको नेपाली चलचित्र " कागबेनी " बाट - नेपाली दर्शकहरुले १० बर्ष अघि देखि नै कुर्दै आएको उच्च स्तरको छायाँकन एवं कलाकारिताको माग पुरा होला जस्तो छ । यसो ट्रैलर मात्रै हेर्दा पनि म निकै आशावादी भएकोछु । यो पाली चै मलाई यो नेपाली चलचित्र हेर्नै पर्ने जस्तो लागिरहेको छ । यसमा कलाकारहरुको एक्टिङ शैली पनि बिछट्टै राम्रो देखिन्छ ।



अरु सामान्य नेपाली चलचित्र हेर्ने हो भने त्यहा कलाकारहरुको एक्टिङ पनि भारतिय कमर्शियल चलचित्रका एक्टिङ शैली संग दुरुस्तै मिल्न जान्छ । पटकथा, पात्र, छायांकन, निर्देशन देखि लिएर पहिरन, मेक-अप, संगित, म्युजिकल बेकग्राउन्ड् सबैकुरा दुरुस्तै हिन्दि फिल्म जस्तो हुन्छ र केवल फरक भनेको मान्छे मात्रै नेपाली । अनि सबैकुरो हेर्दै भारतिय पात्रहरु जस्तो लाग्ने चलचित्रले पनि कतै नेपालीको मन जित्नसक्छ त ? त्यस्तै खाले चलचित्र हेर्ने हो भने त बरु सबैजना सिधै हिन्दि फिल्म् नै हेरी हाल्छन नि ।

मेरो विचारमा कागबेनी संगै नेपाली चलचित्र क्षेत्रमा नौलो आशा पलाएकोछ । म आशा गर्दछु यो चलचित्रमा कथावस्तु कतै नबरालियोस् र सबैको प्यारो चलचित्र बनोस् । मेरो भनाईमा सधै हिन्दि चलचित्र मात्रै हेर्दै आएका नेपाली जनताले यो चलचित्रमा हिरो र हिरोइन् गीतको बोलमा नाचेको हेर्ने माग पटक्कै नगरुन् । नेपाली दर्शकले गीत र नाच भन्दा नेपाली कथावस्तुको माग गरुन् । यो चलचित्र आउदो भविष्यमा बन्ने अरु चलचित्रहरुका लागि राम्रो उदाहारण बनोस् र अहिले पैसाले मात्रै निर्देशक-निर्माता बन्ने हरुले पाठ सिकुन् ।

तर मैले जेसुकै लेखे पनि अब खास कुरो हेर्न त बाँकी नै छ । हेरौ कागबेनीले नेपाली चलचित्र जगतमा नयां क्रान्ति नै ल्याउछ कि नत्र जुन् जोगी आएपनि कानै चिरेको भनेर सिद्ध गर्नेछ ।

यस्को नेपाली उल्था पढ्दा कस्तो हुन्छ होला ?

के तपाईहरुलाई उल्था गर्नु मनलाग्छ ? मनलाग्छ भने पहिले यसलाई उल्था गर्नुहोला । तपाईले जतिसुकै मात्र उल्था गर्नसक्नु भएपनि कृपया तल कमेन्टमा हाल्दिनुहोला । तपाईहरुको उल्था पढ्न म साह्रै उत्सुक छु । म पनि सकेसम्म प्रयास गर्नेछु । कल्पना गर्नुहोस तपाई र मेरो काम तल राखिएको अङ्रेजी चलचित्रको नेपाली subtitle बनाउने हो । नेपालीमा subtitle पढ्दा कस्तो हुदो हो कुन्नी ?

Happy Translating !

Vendetta Speech.



Voilà! In view, a humble vaudevillian veteran, cast vicariously as both victim and villain by the vicissitudes of Fate. This visage, no mere veneer of vanity, is a vestige of the vox populi, now vacant and vanished. However, this valorous visitation of a by-gone vexation, stands vivified, and has vowed to vanquish these venal and virulent vermin van-guarding vice and vouchsafing the violently vicious and voracious violation of volition. The only verdict is vengeance; a vendetta, held as a votive, not in vain, for the value and veracity of such shall one day vindicate the vigilant and the virtuous. Verily, this vichyssoise of verbiage veers most verbose. So let me simply add that it is my very good honor to meet you and you may call me V.

Sunday, December 16, 2007

The Birth of Saka

के तपाईहरुले सबैभन्दा माथि इन्टर्नेट ठेगाना हाल्ने ठाउँमा साकाहारी लेखेको देख्नु भयो ?

यहाहरुले यो केटा त साकाहारी पो रैछ भनेर अनुमान लगाउनु भयो होला । तर म पक्का साकाहारी होइन । ल्वाङ खाएर स्वाङ हो कि स्वाङ खाएर ढ्वाङ के-के हो भन्ने नेपाली उखान छ नि, हो त्यस्तै हो म । भन्नलाई साकाहारी तर चिटिङ गर्छु बेला-बेलामा ।

यहा एउटा रेस्टुरेन्ट्मा पहिलो चोटि काम गर्दा विदेशीहरुलाई मेरो नाम उच्चारण गर्नु अप्ठ्यारो भएकोले मलाई सजिलो नाम छैन तेरो भनेर सोधे । एउटाले भन्यो, हामी अब देखि तलाई Andy भनेर बोलाउछौ है भन्यो । मलाई त्यो विदेशी नाम मन परेन । त्यै माथि अझ मैले नेपालमा कृष्णलाई Kris, श्यामलाई Sam, हरिलाई Harry, रबिलाई Robbie भन्न रुचाउने नौटंकीहरु थुप्रै देखेछु । त्यो गोराले मलाई Andy भन्दा हो त्यै कुरा याद आयो । मलाई त्यस्तो तोर्पे नाम पिटिक्कै मनपरेन । अनि के नाम दिउ भनेर आफै सोचे । यहा तरकारी भन्दा कुखुराको मासु सस्तो । जहिले पनि कुखुरा खाँदा-खाँदा वाक्क भएर मासु खान कम गरेको बानी । आफैलाई अलि-अलि साकाहारी भएको भ्रम पनि भएको । "कल् मी - साकाहारी !" - भने ।

आश्चर्यचकित कुइरेहरु "व्हाट् द हेल् डज् दयाट् मीन् ?" भन्न थाले ।

तिनीहरुको अगाडी आफु प्रकृतिप्रेमी भएको ढोंङं गर्दै सबैलाई impress पार्ने स्वरमा भने - "इट् मीन्ज् दयाट् आइम् भेझटेरियन् !"

कुइरेहरु - "रियली ? यु डन्ट् ईट् एनि मिट् ? ईज् दयाट् सम्थिन् रिलिज्यस् ? "

मलाई फेरि ढाट्नु मन लागेन । के गर्नु सोझो मान्छे परे । त्यसैले हत्तार-हत्तार सच्याउदै भने - "नो ! नथिन् रिलिज्यस् । एक्चुअलि आई ईट् व्हाटेवर आई वान्ट् । जस्ट ट्राइन् कट् डाउन् मिट कन्सम्प्सन , यु नोह् , सो आइम् हाफ-भेझटेरियन ।" ( मासु खान कम गर्दै लैजाने भएकोले अर्ध-साकाहारी भने )

सबैजना हास्न थाले । सबैभन्दा ठुलो बेलायती कुक ले दिमाग लगाएर भन्यो - "इफ् यु आर् हाफ-भेझटेरियन, दयाट् मीन्स् यु आर् हाफ-साकाहारी । व्हाई डन्ट वी जस्ट कल यु हाफ अफ साकाहारी ? वी विल् कल् यु साका !" मलाई आईडिया मनपर्यो ।

उनिहरु सबैले भने -" वेल्कम टु द हाउस SAKA !! "

Friday, December 14, 2007

पुरानो स्कूल याद आयो

जीन्स्को पेन्ट लगाएर , पछाडीको गोजीमा एउटा काईयो र हातमा कापी चेपेर हिड्ने दिनहरु पनि गए । डिंगो जुत्ता कहिल्यै पनि लगाइन । पहिला नै एकचोटी पेन्टको मुन्तिर तिन्कुने कपडा टासेर लगाउने फेसन् निकै चलेको थियो । म पनि ट्राई गर्छु भनेर त्यस्तै स्कूल पेन्ट् बनाएर लगाएको त भरै स्कूलमा मिसले कैचीले काटेर फाल्दियो ।

बिहान एसेम्ब्लीमा लाइन बस्दा हातको नङ काटेको छ कि छैन, टाउकोमा तेल लगाको छ कि छैन, जुत्ता पलिस गरेको छ कि छैन भनेर चेक गर्थ्यो । एकदिन हतार्-हतारमा स्कूल् जाँदा जुत्ता टल्काउनै बिर्सेछु । त्यो दिन मोरा टिन-टिन ले ठ्याक्क् मेरो अगाडी उभिएर मलाई हेर्दै भन्यो :

के हो ? घरमा बूट-पलिश छैन ?


( त्यो दिन चै साह्रै लाज लाग्यो )

तपाईहरुको पनि एस्तै आफैलाई लाज्लाग्दो क्षणहरु छ कि छैन ?

रेड्यी, खोइ हासेको? ही ही

जीन्स्को पेन्ट लगाएर अनि पछाडीको गोजीमा एउटा काईयो र हातमा कापी चेपेर हिड्ने दिनहरु पनि गए ।एउटा केटा र एउटी केटी कलेज जान छाडी छाडी खोला खोला रोमान्स् गर्दैछन् ।

केटाले "रेड्यी, खोइ हासेको ?" भन्छ
केटीले चै "छि बाई नि" भन्दै लजाएर मुख् छोप्छिन् ।

तर जे होस् मलाई यो चै साह्रै मनपर्यो ।

Monday, December 3, 2007

यस्तो पनि हुँदरैछ

अस्ति भर्जिनियामा नेपाल पास पुच अमेरिकाये द्वारा आयोजित नेपाली कार्यक्रममा इन्डियन आईडल विजेता प्रशान्त तामाङको प्रस्तुति हेर्न पुगेको थिये। पहिले पहिले साथीभाईहरुले प्रशान्तको चर्चा गर्दा मैले त्यति ध्यान दिएको थिइन, न त टेलिभिजनमा कुनै प्रतिस्पर्धाको भाग नै हेरे, मैले केवल एकैचोटि मेरा मित्र प्रज्वल श्रेष्ठज्युले कर गरेर देखाउनु भएको youtube भिडियो चै हेरेको हु ।


एउटा नेपाली भएको नाताले मैले नेपाली कार्यक्रम नचुकाउने भनेर दाईहरु सित भर्जिनिया कर्यक्रमस्थलमा पुगे । कार्यक्रम सुरु भयो । मङोलियन हार्ट्सका राजु लामाले सर्वप्रथम नेपाली गीत् गाएर सबैलाई अभिनन्दन गरे । त्यस् पछि चै प्रशान्त तामाङले गीत गाउन थाले । मेरो सिट पछाडी बस्नु भएका नेपाली दिदी बहिनीहरुले मेरो कानै टुन्न हुनेगरी चिच्चाएर समर्थन गरे । प्रशान्तले चै अगाडी स्टेजबाट नेपाली गीत गाइदिएर दर्शकको मन जिते । उनले आफ्नो हिन्दी गीत गाउने कलाको प्रस्तुति पनि गरे । अनि फेरि नेपाली ढाका टोपी लगाएर "यो मन त मेरो नेपाली हो" भन्दै १९७४ ए डी को गीत गाएर दर्शकमाझ आफ्नो लोकप्रियता बढाए ।

प्रशान्त तामाङले कार्यक्रमको बिच-बिचमा छोटो ब्रेक लिदाबखत- सारङा श्रेष्ट र सरोज खनालले नेपाली गीतमा भारतीय पोशाकमा सज्जिएर पो नाच्नु थाले । एकछिन त म के नमिलेको के नमिलेको जस्तो लग्यो । हैन सायद यिनीहरुले अमेरिका आएर नेपालीको अस्तित्व नै बिर्सेका त होइनन् भन्ने जस्तो मलाई लाग्यो । त्यति मात्रै कहाँ हो र? क्यानडाबाट पाल्नु भएका दुइटा नेपाली बहिनीहरु कुनि के-के नाम हो क्यारे, अब त नेपाली पोशाकमा सजिएको नेपाली नाच हेर्न पाइने भयो भनेको त भुत्रो हुनु - जिप्सी जस्तो खाल्के लुगा लगाएर जिउ र कम्मर नछाटटिएको भएपनि जबर्दस्ती Belly Dancing गरेर मरे । त्यै पनि हिन्दी गीत हो कि अरबि गीतमा । हुन त अनुहार हेर्दा पनि केटा नै जस्तो देखिन्थ्यो । मलाई यिनीहरुले जानीबुझी रिस् उठाउन खोजेको हो कि के हो कुन्नि, भर्जिनिया कै एउटा लोकल बहिनीले अन्त्यमा अफ्नो नाचने कला प्रस्तुत गरिन् । त्यो पनि फेरि हिन्दि गीत मै नाचेर । हैन, मैले एउटा कुरा बुझ्नु सकिन, नेपाली गीतमा नाचेको भए के बिग्रिन्थ्यो? अझ गुन्यो चोलो लगाएको भए सुनमा सुगन्ध हुन्थ्यो नि हैन र? हुन त त्यो बहिनी हेर्दामा पनि साह्रै राम्री थिइन् तर के गर्नु, मेरो मन भने जितनुसकिनन् । हुन पनि बिचरीको के दोष । यतै अमेरिकामा हुर्किउन्जेल यस्तै सयौ नेपाली कार्यक्रममा गइन् होलि र जहिले पनि नेपाली गीतमा भारतीय पोशाक लगाएर नाचेको देख्दा भारत र नेपाल त एउटै हो भनठनिन् होला । बिचरालाई कसैले पनि भारत र नेपाल दुई भिन्न राष्ट्र हुन् र उनिहरुको आ-आफ्नो भेष-भुषा हुन्छ भनेर सिकाएन क्यारे ।


सयुक्त राज्य अमेरिका मैले आएपछि सबैभन्दा पहिलोचोटि उपस्थिति जनाएको नेपाली कार्यक्रममा टन्नै हिन्दी गीतहरुमा प्रस्तुति देखे तर नेपाली पोशाकमा सजिएर गरिएको नाच भने एउटा पनि देखनुपाइन । धिक्कार छ आयोजक तिमीलाई र हिन्दी र नेपाली अस्तित्व बिच फरक फरक पहिचान नराखनेहरुलाई । आफुलाई मनपरेको कुरा जोसुकैले अप्नाएपनि आफ्नो पहिचान भन्ने कुरा सदैव आफुसाथ राखनुपर्दछ ।

Tuesday, October 16, 2007

हिमाली ट्रान्षक्रिप्सन

समय पनि कति छिटो बित्छरहेछ । लघभग ४-५ बर्ष नै भैसकेछ नेपालमा हुँदा काम गरेको। त्यतिखेर म जावलाखेल अवस्थित एउटा अफिसमा काम गर्थे । यो कुरा निकाल्नुको मुख्य कारण चै मलाई office भन्ने कमेडी सिरियल हेर्दा आफ्नो पुरानो अनुभव याद आएर हो । यो शो मा कर्मचारीहरु अफिस भित्र Call of Duty खेलेर समय बिताएको देखाईएकोछ । त्यहा जावलाखेलको अफिसमा हामी कर्मचारीहरु आ-आफ्नो काम छिटो-छिटो सक्काएर अफिस बन्द गरेपछि मल्टिप्लेयर गेमिङ सुरु हुन्थ्यो । हामी संग pentium II प्रोसेसर कम्प्युटर भएकोले गर्दा नया नया गेम नचल्ने हुनाले Delta Force, Half-Life खेलिन्थ्यो अनि पछि-पछि Counter-Strike जम्न थाल्यो । त्यो दिनहरु खुब झलझलि याद आउछ । सुरेन्द्र सर, सुनिल, सन्देश, प्रोबिन, गगन दाई, माधव सर, खेम दाई, सुमेन्द्र र सुबर्ण अनि म । मेरो weapon of choice चै mp5 थियो । केटाहरु साह्रै खप्पिस थिए । आफ्नै टिमलाई गोली हानेर मार्यो भनेर रिसाउने, पख तलाई बदला लिन्छु भनेर जित्ने कुराहरु, रमाइलो हुन्थ्यो । जे होस् म चै king नै थिए । हा हा ।


भिडियोमा देखाईएको जस्तै पुरा बत्ती-सत्ती मारेर, चिया खाने ब्रेकमा माथि छतमा गएर आ-आफ्नो टिमको strategy बनाएर पुरा गहिरो छलफल हुन्थ्यो । गगन दाई जहिले पनि sniper लिएर एउटा map को कुनामा ढुकेर बस्थ्यो अन्त म चै पछाडी बाट गएर चक्कुले slit गरिदिन्थे हा हा । सुनिलको weapon of choice खालि shotgun लिन्थ्यो । प्रोबिन चै खालि त्यो दारी भाको टेरोरिस्ट लिन्थ्यो । Close encounters हुँदा opponent खालि उफ्रे को उफ्रै गर्यो भने चै त्यो सुरेन्द्र सर हो भनेर चिनिन्थ्यो । खेम दाई चै साह्रै उत्तेजित हुन्थे र उसलाई कसैले मार्यो भने भन्नुहुन्थ्यो -"मेरो mouse बिग्रेछ के त्यसैले...."

Call of Duty ले चै Loras College को सम्झना ल्याउछ ।