Nepalese Folk Music

Tuesday, November 25, 2008

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

थेंक्सगिभिङ डे आउदै छ । यो बेला कलेजहरुमा छुट्टी हुन्छ । कुइरेहरुको दशै सरह चाड हो यो भन्नु सकिन्छ । टाढा टाढाबाट परिवारजनहरु यो चाड मनाउनु घर फर्किने गर्दछन् । यो बेला सबैजना अबेर सम्म सुत्ने, ढिलो उठ्ने गर्दछन । परिवारका सदस्य सबै सङै बसेर खाना खाने गर्दछन । यो चाडको मुख्य भोजन चै टर्की हो । उहिले जमानामा यहाको नेटिभ अमेरिकनहरु र कुइरे बिच एक आपसलाई धानबालाको साटोमा टर्की दिएर धन्यबाद दिएको देखिनको चलन हो हरे । अब यो नोभेम्बर २७ तारिक मनाउदैछन फेरि कुइरेहरु ।

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

क्रिस्च्यन धर्म अनुसार हिन्दु लगायत अन्य धर्म जस्मा पशुबलि चढाईन्छ अथवा पशु मारकाट गरिईन्छ त्यि सबै धर्महरु विह्चक्राफ्ट (बोक्सी तंत्र) हुन भनेर बुझिएको पाईन्छ । मैले हिन्दु धर्मको पक्षमा बोलेको होइन । तर यो कुरालाई एसो बिचार गरेको । यो थेंक्सगिभिङ पर्व सांस्कृतिक होस् या धार्मिक,जेसुकै भने पनि आखिर मनाउनेहरु त मुख्य क्रिस्च्यनहरु नै हुन नि ।

भनेपछि क्रिस्च्यनहरुले पनि आखिर आफ्नो चाडपर्वमा सिधै देवतालाई चर्चमा पशुबलि नचढाए पनि आखिरमा कुखुरा वा टर्की फारममा भए पनि नदेखिदो पाराले पशुबलि त चढाउदा रहेछन् नि त । जसोसुकै गरे पनि अन्त्यमा रक्तपात त भैहाल्यो नि । भने पछि कुन् धर्म विह्चक्राफ्ट भयो त?

Saturday, November 22, 2008

आफ्नो तरकारी आफै रोपौं

नेपालमा भित्रिने सयौ ट्रकलोडका फलफूल तरकारी भारतको कुन राज्यबाट आउने गर्दछ? त्यहा तरकारी ब्यवसायिक रुपमा हुर्काईने भएकाले बारीमा कस्तो खाले बिउ छरिईन्छ त? भारतमा मात्रै नभैइ नेपाल भित्रै पनि बारीमा छरिने बिउ कहाँबाट आउने गर्दछ होला? कतै ती सबै बिउहरु बिदेशी ल्याब्रटरीमा सुई घोचेर जेनेटिकली बनाईएको त होइन कतै? हाम्रा आमा बाबा भाई बहिनीहरुले पनि यस्तै सुई घोचेर बनाईएको तरकारी त खाईरहेका छैनन्? खासगरी गर्भवती महिलाहरु । कस्तो खाना खाई रहेका होलान् मेरा भाई बहिनीहरुले?

Friday, November 21, 2008

नेपालको झण्डा

जेकी चेनले हंगकंगमा आफ्नो अफिसरलाई फोन गर्छ । अफिसर चै दिन भरि बिदेशबाट आउने फोनकलमा ब्यस्त भएपछि थकित छन अनि आफ्नो बुढीलाई उठाउन लगाउछन । टेबलमा टन्नै देश-बिदेश बाट आउने फोनकलको लागि फोन झण्डा अनुसार मिलाएर राखिएको छ । तर एउटा कुरा मैले बुझिन । के त्यो जमानामा हरेक देश बिदेशबाट आउने फोनकलको लागि छुट्टाछुट्टै फोन हुने गर्थ्यो र? फोन त केवल एउटै मात्रै भए पुग्दैन र?

Tuesday, November 18, 2008

चिल्ड्रन अफ हेभन्

आज दुईतीन दिन भयो । निकै रमाईलो रमाईलो फिल्महरु हेरियो । अरु बेला हेर्नु मन लाग्दैन, उहि जाँच आउने बेलामा चै टन्नै हेरिन्छ । हालै हेरेको फिल्महरु मध्ये मलाई साह्रै मनपरेको चलचित्र एउटा "चिल्ड्रन अफ हेभन्" हो ।

यो चलचित्रको दुईटै भाग हेर्नुको लागि तलको लिंकमा थिच्नु होला ।

चिल्ड्रन अफ हेभन् (१)
चिल्ड्रन अफ हेभन् (२)

Saturday, November 8, 2008

तिमीहरु धेरै दाँत न तिखार

मलाई फेरी मासु खाने बिचार फर्केर आयो । साकाहारी हुनु त निकै गाह्रो पो हुँदोरैछ । सायद तपाईहरुलाई पनि यस्तै लागेर होला साकाहारी हुनु मन नपरेको । तर मासु नखादा भने जीउ चै एक्दमै हल्का भएको मलाई लाग्यो । हुन त मासु खानु चै ठिक होइन जस्तो लाग्छ । बिचरा कुखुरा, गाईगोरु, भैसी, बाख्रालाई हामीले हाम्रो उपभोगका लागि भनेर हुर्काउने गर्दछौ । कस्तो पापी हामी ! तर हामी बाच्नुको लागि भनेर मासु खाने गर्दछौ । यहि कुरा सोचेर चै मैले पनि होस् हौ अब देखि म पनि मासु खानु थाल्छु भनेर सुर कसेको छु तर एउटा खण्डमा !

म रहुन्जेल चै म कुखुराको मासु खाएर बाँच्छु तर मेरो कथा सकिसकेपछि चै मेरो हरेक पाटपुर्जा भोको गिद्धलाई चढाईनुपर्छ ।

मासु खान रुचाउने त्यी सबै मांसाहारी महानुभावहरु जसलाई आफु बाच्नुको लागि भनेर अर्काको मासु खानु चै कुनै आपत्ति नहुने तर फेरि आफु मरिसकेपछि आफ्नो जिउ चै भोको गिद्धलाई चढाईनु हुदैन भनेर जिउको चिन्ता पनि गर्ने? त्यो त साह्रै लोभी बिचार भयो नि । "आफुले अर्कासित केही कुरा लिईसकेपछि ज्ञानपूर्वक फिर्ता फर्काउनु पनि जान्नु पर्छ" भन्ने कुरा तपाई-हामी सबैले सानोमै सिकेको कुरा होइन र? यति ज्ञान हुदाहुदै पनि अनेक थरी निहुँ बनाएर कुरा बङाउने त्यस्ता स्वार्थी,मतलबी अनि लोभी महानुभावहरुलाई कुनै पनि कुराको मासु खाने कुनै अधिकार छैन !!! तिमी मोरामोरीहरु टोफु खाएर बसो ।

Wednesday, October 15, 2008

feeling infinitely finite

Ananta used to be very proud of his name which translates to "infinity". But after reading a book on philosophies in religion; to his revelation, he absolutely feels "infinitely finite". He asks himself, "What have you accomplished to live up to your name?"

(Nothing.)

How unfortunate? How hedonistic? He was miserably failing to apprehend the gist of his name. He suddenly realizes that it should be his action, not his title that describes him. He hopes to live up to his name someday, like you all do.

Help!
please throw in some,
your words of wisdom.

Saturday, October 4, 2008

एउटा बुढी बज्यै

हिजो विश्वविद्यालय तिर लाग्दा गाडीमा बसेको । छेउको सीटबाट एउटा बुढी बज्यैको झर्ने पालो आएको थियो क्यारे, गाडी रोक्नु भन्दा अगाडी नै जुरुक्क उठेर हिड्नु थालिन् । गाडी ओरालो लाग्नु थाल्यो र एकास्सी बीच बाटोमा ब्रेक हानेर रोक्दा त बिचरा बुढी बजै झन्डै लडेको गाडी भित्रै । आँखा अगाडी बुढी बज्यैलाई बल्ड्याङ खानुबाट रोक्नु सक्दासक्दै पनि चुप लागेर लडेको हेरेको भा झन कत्ति नराम्रो लाग्नेथियो । धन्न कसो समयमै बुद्धि पुर्‍याइएछ । मैले उनलाई हात दिएर नसामेतेको भा के पो हुन्थ्यो । बिचरा बुढी बज्यैलाई सहयोग गरेकोमा साह्रै खुसी ब्यक्त गर्दै धन्यबाद दिईन् । सायद भलो गर्ने बानी नभएर होला, कहिले कसो गर्ने मौका पाउदा त त्यतिखेर भने आफैलाई निकै राम्रो काम गरेको जस्तो लाग्यो । म पनि मुसुक्क हासेर "its alright" भन्दै हात हल्लाए । बज्यै बिस्तारी गाडीबाट ओर्लिन्दै आफ्नो बाटो लागिन् ।

हुन त कुनै गर्व गर्ने कुरा त होइन । त्यैपनि ब्लग खाली नहोस भनेर यो कुरा पनि लेख्दिहालेको नि । फेरि आफैले आफ्नै गीत गायो भनेर जमाउन खोजेको जस्तो लाग्यो भने त्यसो नसोचिदिनु होला ।

Wednesday, October 1, 2008

बल्ल चाल पाए

एअर्पोर्टमा प्लेन पर्खेर बस्दा बस्दा वाक्क लागेर सबै साथीहरुलाई पालैपिलो फोन गर्दै बसे । एकजना साथीलाई फोन गरे । नम्बर डायल गरिसकेपछि उता घन्टी बज्दै थियो । केहि छिनपछि उता बाट कसैले फोन उठायो - "हलो?"

"को बोलेको?"
-मलाई चिन्यौ?
"को हो? अहं? ओह! ए-अ चिने, के छ? कत्ति पछि फोन गर्यौ त?"

(केहि बेर एता-उता कुरा भयो । फोनको कनेक्सन पनि त्यत्ति राम्रो थिएन । आवाज अलि झ्यार-झ्यार सुनिराको थियो । त्यैपनि कुरा हुँदै थियो।)

"अनि तिमी अहिले कता जानु लागेको?" उस्ले सोध्यो ।
- म आबो हवाई जानु आटेको ।

उताबाट अचानक नपत्त्याउदो उत्तर आयो । "ए! ल ल! बाई-बाई !" त्यति भन्ने बित्तिकै उसले फोन घड्याप्पै राख्यो । म त - अरे? के भएछ? किन उसले त्यसरी फोन एक्कासि राखेको होला भनेर छक्कै माने ।

(पछि थाहा भयो - मैले हवाई भन्दा उस्ले बाईबाई सुनेको रैछ । )

Saturday, September 13, 2008

कल्चरल मिसन्डर्स्टेन्डिङ

ओसन सिटीमा पहिलो पल्ट आएका एउटा नेपाली भाईलाई त्यहाको फिलिप्पे नाम गरेको मेहिकन सित परिचय गराईदेको थिए । मेहिकन फिलिपे र नेपाली भाईको चिनापर्ची भएपछि दुईजना गफगाफ गर्न थाले । म चै आफ्नै कामकुरो गर्न पट्टी लागे । नेपालबाट आएका भाई साह्रै सोझो थिए । पक्कै सोझो हुन कि मेरो अगाडी एक्टिङ गरेका हुन कुन्नि तर हाउभाउ हेर्दा सोझा नै देखिन्थे ।

उसलाई फिलिपेले जिस्केर सोधेछ - "ए! अमिगो तलाई केटी मनपर्छ?

नेपाली भाईले चै अलिक सिरियस पल्टेर नेपालमा बुढापाकाहरुले झै सोझो भन्ठान्छ भनेर होला,"अहं!मलाई त केटीहरु मनपर्दैन" भनेर भनेछ ।

फिलिपेले आएर मलाई पछाडीबाट कोट्टाउदै खुसुक्क भन्यो, "साका तेरो नेपाली भाई त ग्ये हो क्या हो, के हो? केटीहरु मनपर्दैन भन्छ नि?

Friday, August 15, 2008

यस्तै हो

खै? यो पालि झन ओसन सिटीको मुभी हलमा फ्री मा फिल्म हेर्नु जाने भनेको त त्यत्तिकै हुने भो ! टिकट चेक गर्नु ढोकामा उभिने सबै नेपालीहरु नै हुन्छन हरे । झन चिनेको नेपाली छ भने त सित्तैमा हल भित्र नै पसाईदिन्छन हरे भनेर सुनेको थिए । आफ्नो त भाग्यै रहेनछ । मेरो पनि एकदुईजना चिन्ने साथीहरुले त्यहाँ काम गरिदिएहुन्थ्यो नि । अनि त्यसपछी म पनि "चान्समा डान्स" भने जस्तै एकपल्ट पसेर सबै पाचैवटा मुभी भ्याएर निस्किन्थे ! लौ न लौ ! यहाँ कसैले मलाई पनि फ्रीमा मुभी हेर्नु पसाउने हो भने कृपया कन्ट्याक्ट गर्दिनु भएहुन्थ्यो ।

Monday, August 11, 2008

त्यस्तैखाले एउटा दिन

आज बिहान बसपार्कमा थुप्रै नेपाली विधार्थीहरु गाडी पर्खेर बसिरहेका थिए । निकै बेर भो पर्खेको तर गाडी आएन । म पनि एउटा कुनामा उनीहरु संगै गाडी कुरेर बसे । छेउमा एकजना को हो नचिनेको नेपाली विधार्थी वरपर एता र उता घुमिरहेका थिए । एक्छिनमा फेडरल एजेन्टका जस्ता देखिने दुईजना अग्ला अग्ला डिटेक्टिव हुन् क्यारे, हातमा बेन्डेड् लगाएको मान्छेलाई कसैले देखेको छ कि छैन भन्दै सोध्दै हिडिरहेका थिए । पछि एउटा नेपाली केटालाई बोलाएर सरकारी नम्बरप्लेट भएको गाडीमा बोलाएर लगेर गए । किन उसलाई बोलाएर लग्यो केहि कुरा थाहा भएन । आशा गर्दछु उनि सकुशल नै छन । जे होस, मैले चै के कुरा लेख्नु आटेको भने, त्यहा अर्को नेपालीले बाटोको छेउमा गएर पिचित्तै थुके । उसको साथीहरुले "ओए! मुला के गरेको तैले?" भनेर हपार्नु थाले । उसले भने दायाँबायाँ पुर्लुक्क हेर्दै कसैले पनि देखेनछ भनेर ढुक्क भएपछी, कलेजमा आफ्नो मेजर बिषय जनाउने हिसाबले मुसुक्क हाँसेर उत्तर फर्काए - "मेरो स्प्युटम डीस्चार्ज गरेको नि!" जे होस् उसलाई मान्नु पर्छ । काम जस्तो सुकै तल्लो गरेपनि भाषा चै निकै सभ्य प्रयोग गर्नु जानेको रहेछन् ।

Saturday, June 14, 2008

नराम्रो बानी

मेरो सानोमा थाल चाट्ने एक्दम नराम्रो बानी तर अहिले त्यस्तो छैन । दुईटा हातले समातेर ल्याप-ल्याप थाल मात्रै हो र? तरकारी पकाएको कह्रैमा उभ्रेको मसलाको लेदो माथि भात मोलेर सबै हसुर्ने । आमाले कस्तो राक्षस पाएछु भन्नुहुन्थ्यो । डाढु चाटिस भने तेरो बिहामा पानी पर्छ भन्नुहुन्थ्यो । दिदीले तरकारीमा बेसार अड्कलिनु नजानेर हो क्याओ कुन्नि? हात पखालिसकेपछि पनि पहेल्लै हुन्थ्यो । धन्न मैले त चिटिक्क गरेर खान्थे । कोसै-कोसैले त भात मुछ्नु पनि जान्दैनन । हत्केला फिजाएर गुजुङ् गुजुङ् भात मिच्छन अनि औला-औलाको चेपबाट भातको सिठा निस्कुन्जेल अचट्छन । गाँस पनि आखा चिम्लेर हाल्छन अनि राम्रो सित नचपाईकनै निल्छन । म त आजकल चम्चाले मात्रै भात खान्छु । मोर्डन पल्टिनु खोजेको त होइन तर आफ्नो हातले के के छुइन्छ के के । त्यसैले ।

Tuesday, May 6, 2008

रेस्टुरेन्ट भाषा

रेस्टुरेन्ट भित्र भान्छा कोठामा कुनै पनि कुरा सकिएको छ भने '86' भनेर कोड प्रयोग गरिने रहेछ । "के हो यो 86 भनेको?" भनेर सोद्धा, जेट्ठा कुकले मलाई बुझाए,"यदि हामी संग किचनमा पाउरोटी सिद्धियो भने बाहिर वेट्रेसहरुलाई पाउरोटी 86!! भनेर चिच्चाउनु पर्छ अनि त्यसपछी उनीहरुले हामी संग अहिलेलाई पाउरोटी सकिएको रहेछ भनेर बुझ्नेछन!"

ठ्याक्कै आज बिहान किचनमा व्हिट ब्रेड सकिएको रहेछ अनि एकजना वेट्रेसले पनि फेरि त्यहि कुराको नै अर्डर झ्यालमा सुटुक्क् छोडेर गएछिन । अस्तिनै सिकेको कुरा आज ठ्याक्कै काम लाग्ने भयो भन्ठान्दै झ्याल निर गएर अब "व्हिट ब्रेड 86!!" भनेर जोडले चिच्च्याउछु भनेर गाको त भरै जतानामको ठुलो स्वरमा "व्हिट ब्रेड 69!!" पो भनेछु । किन त्यसो भन्न पुगेछु कुन्नि आफै अचम्म परे । उता घाँटी बटार्दै सबैजनाले मलाई हेरेर गललल हास्नुथाले । "ल्हौ मार्‍यो कता टाउको लुकाउने होला" जस्तो भएर एक्छिन त कता जाम-कता जाम भाको । थोत्थोरै लाज पनि लाग्यो । एउटा कुरा भन्छु भन्दा अर्कै कुरा भनिपठाएछु ।

Friday, May 2, 2008

मोडरेसन रिक्य्वायर्ड

हेर है साथी हो ! सबैजनाले थाल्नु भन्दा अगाडि राम्रो सित बिचार पुर्‍याउनु होला । जुनै कुरा पनि धेरै भयो भने हानिकारक हुने फिलोसफी तपाई-हाम्लाई थाहा भएकै कुरा हो । जे कुरा पनि मोडरेट अथवा ठिक्कको हुनु जरुरी भएको सबैलाई थाहा नै छ ।

मैले मेरो हटमेलमा "केरा खानुको फाइदाहरु थुप्रै छन" भनेर ईमेल पाए । यसले हाम्रो जीउ भित्र रगतको बहावलाई मद्दत पुर्‍याउने र मुटु, दिमाग, ब्लड प्रेसर आद्दि इत्यादि लाई ठुलो सहयोग पुर्‍याउने कुराहरु बयान गरिएको थियो । केरामा पाईने पौष्टिक आहारहरु जस्तै ग्लुकोज, फ्रुक्टोज, सुक्रोज अनि नाना-भाति सबैकुराको फाइदाहरु उल्लेख गरिएको थियो । खास गरेर आईमाईहरुलाई छोरा पाउने रहर छ भने गर्भ कन्सिव गर्नु अगाडि केरा खाने बानी बसाले हुन्छ भनेर लेखिएको थियो । यो कुरा चै साचो हो कि होइन, मलाई पक्का थाहा भएन तर शिकागोको कुन्नि के युनिभर्सिटीमा अनुसन्धान गरिएको भनेर चर्चा गरिएको थियो । मलाई लामो डिट्येलमा पढ्नु झ्याउ लाग्यो । तर केटाहरुलाई चै केरामा भएको भिटामीन बी ले आफ्नो पोटेन्सीलाई अझै बढाउनुको लागि ठुलो मद्दत गर्ने र आफ्नो सेक्सुअल लाईफलाई एक्टीभ र चालु राख्न मद्दत गर्ने भनेर लेखिएको कुरा चै साह्रै ईन्ट्रेस्टिङ लाग्यो । त्यै भएर मैले पनि आफ्नो फ्युचरको बारेमा पहिलो पल्ट सोच्दै दिनदिनै केरा खानु थालेको त भरै कस्तो साह्रो, आज तीन दिन भैसक्यो, टट्टी अड्केर कत्रो आपत!

Monday, April 28, 2008

तपाईले कति ओटा खसी ढाल्ने ?


कोसैलाई आफ्नो बिहामा पाँचवटा खसी ढाल्यो भन्दा निकै फुरुक्कै हुनु मनलाग्छ होला कि कसो? पक्कै पनि जोसुकै भएपनि निकै दंगै पर्छन होला । तर त्यो बिचरा मार पर्ने खसीलाई कस्तो अनुभव भैरहेको हुन्छ होला भनेर म त्यो खसीको दिमाग भित्र पसेर उसको मर्का बुझ्ने कोसिस गर्दैछु । एकातिर एक्दमै रमाईलो अनुभव बाँडिएको हुन्छ भने अर्कोतिर चै साह्रै डरलाग्दो त्रास छाएको हुन्छ । म किन यस्तो कुराहरु सोच्दैछु? कतै म बौलाउनु आटेको त होइन? कस्तो कस्तो खाले कुराहरु दिमागमा आँउदैछ हँ ? मुखमा क्वाम्म मासु हालिसकेपछि दाँतले दाँया र बाँया लुच्छ्दै, गालाबाट झोल चुहिएर औंला देखिन् कुईनासम्म पुगुन्जेल भने केहि पत्तो हुदैन। अनि केहि समय अगाडि जागेको दया त्यत्तिकै बिलाएर जान्छ । हाम्रो आँखा किन यसरी टाल्लिन्छ ? यस्तै छ लाईफ !

Tuesday, April 1, 2008

पेन्सिल कसरी तिखार्ने ?

आज लगभग १२-१३ बर्ष पछि होला मैले चक्कुले पेन्सिल छिलेर लेखेको । तपाईको छोरा छोरीलाई पेन्सिल चक्कुले पनि छिलेर तिखार्न सकिन्छ भनेर थाहा दिनुहोला । आजकल त सबैजना शार्पनर चलाउछन त्यसैले उनिहरुलाई यसबारे ज्ञान नहुन सक्छ । चक्कुले पेन्सिल तिखार्दा राम्रो सित ध्यान पुर्‍याएन भने औंला काट्टिनु सक्छ भनेर सचेत गराउनु होला ।

आज चक्कुले पेन्सिल छिलेर कपिमा लेख्दा त स्यानोको स्कूलको सम्झनाहरु आयो । चक्कुले पेन्सिल तिखार्ने तरिका :

१) पेन्सिल बाँया हातमा लिने र चक्कु चै दाँईनेमा ।
२) त्यसपछि दाईने हातको बुढि औंलालाई बाँया हातको बुढि औंलाको ठ्याक्कै अगाडि राखने ।
३) याद राख्नुहोस, तपाईको दुइटै बुढि औंला पेन्सिलको माथि बसेको होस् ।
४) त्यसपछि बिस्तारै बिस्तारै बाँया बुढि औंलाले दाईने बुढि औंलालाई अगाडी र पछाडी ठेल्दै तिखार्नु थाल्नुहोस् ।


तपाईसंग चक्कु छैन भने दाह्री काट्ने टोपाज ब्लेडलाई आधा भाँचेर पनि तिखार्नु सकिन्छ ।

तपाईले यो गाईडलाईन फलो गर्दा औंला काट्नु भयो भने यसमा मेरो कुनै दोष हुने छैन।

क्याटर्याक्ट विरुद्द बेसबलको टोपी

हिमाली भेगमा बस्ने बालक तथा बृद्धहरुमा घामबाट आउने अल्ट्राभायोलेट किरणले गर्दा आँखामा असर पार्ने मौका धेरै हुन्छ हरे र त्यस्पछि आँखाले नजिकको मात्रै राम्रो सित देखिने र टाढाको चै धमिलो देखिने स्तिथि आईपर्छ हरे जस्लाई "क्याटर्याक्ट" भनिंदो रहेछ । क्याटर्याक्टका कारण दृष्टिविहीन पनि भैईने रहेछ । सोहि बिषयलाई लिएर क्यानाडाकी नागरिक वेन्डा दिदीले नेपालको दुर्गम हिमाली क्षेत्रमा क्याटर्याक्ट समस्या सुल्झाउन नेपाली बालबालिका तथा बृद्धहरु माझ थुप्रै बेसबल क्याप पुर्‍याउने निधो गरेकी रैछिन । त्यसका लागि उनले सहयोगार्थ अनेक प्रयत्न गरिरहेकी रैछन । क्याटार्याक्ट निर्मूलन पार्ने अत्ति उत्तम बिचार । म यो Caps against Cataract उद्दारकर्मीहरुको बिछट्टै नौलो अनि कलात्मक ढंगको बिचारलाई मनभित्र देखिनै आत्मसम्मान गर्दछु । क्याटर्याक्ट सर्जरी भनेको धनी र पैसा हुनेलाई मात्रै उपलब्ध भएकोले गरिब जनताका लागि भने बरु टोपी नै लगाएर भएपनि यो रोग निर्मूल पार्न सकिने सोचेर नै दिदीले पाईला चालेकी हुनुपर्छ ।

तर मलाई डर लाग्छ ...निशुल्कमा कुनै पनि कुरा पाईन्दैन हरे भन्छन ।

ती बेसबल क्यापहरुले(उद्दार गर्ने दानीहरुको इच्क्षा बिपरीत)दुर्गम क्षेत्रका कलिला नेपाली बालकहरुको क्याटार्याक्ट समस्या चट्ट सफा गरे वापत कलिला दिमागमा फेरि नेपाली टोपी भन्दा बिदेशी टोपी नै दामी भन्ने खाल्के नेपाली गौरवतामा आँच पुर्‍याउने मानसिकता नजगाईदियोस । मेरो बिचारमा हाम्रो मनमा यस्तो भावनाहरु पैदा हुनु भनेको क्याटर्याक्ट भन्दा ठुला मानसिक रोग हुन् जसले गर्दा ती बेसबल क्यापहरुमा गाँसिएका अपरिचित संस्कृति, महत्व, सपना अनि भावनात्मक मुल्यहरु आदिले व्यापारिक तथा अन्य पक्षलाई उद्दारको नाममा जानेर भनौ वा नजानिकन, जे होस् लामो अवधिमा उनीहरु आँफैलाई फाईदा हुने बाटो चै नबिछाईयोस् । उनिहरुलाई फाईदा भन्दा पनि हाम्रो आफ्नै नेपाली गौरव र पहिचानलाई बेफाइदा नभओस् भन्ने मेरो मुख्य छलफलको बिषय हो । सामान्य काठको पिर्काबाट उचालिएर गचक्क परेको आरामदायी सोफा सेटमा थचक्क बस्न त कसलाई पो मनपर्दैन ?

अर्को कुरा: हामी सधै किन सहयोग दिनेमा भन्दा लिने मध्येमा मत्रै पर्छौ ? उद्दार गर्ने राम्रो राम्रो कलात्मक तरिकाहरु किन उनिहरुलाई मात्रै आँउछ ?

नेपालीहरुको आँखा "मात्रै" जोगाउन लागिपरेका उद्दारकर्मीको प्रयास सफल रहोस् ।

यस सम्बन्धित आर्टिकल हेर्नु यहाँ थिच्नु होला ।

Saturday, March 29, 2008

अध्याँरो गुगल


आज मार्च २९, २००८ शनिबारको दिन । गुगललाई Earth Day लागेको छ हरे त्यसैले संसार भरि उर्जा सदुपयोग बारे जनचेतना जगाउन गुगलको होमपेज कालो पारिएको छ । होमपेजमा भनिएको छ हामीले बत्ति मारेका छौ । अब तपाईहरुको पालो ! नेपालमा दिनको आठ-आठ घन्टा बिजुली लोड-शेडिङ हुंदा त कतै हाम्रो देशले निकै राम्रै काममा सहभागिता जनाएको पो हो कि ? सायद हामी साह्रै प्रकृतिप्रेमी छौ क्यारे - त्यसैले होला हामीलाई दिनदिनै यो Earth Day लागि रहेको छ ।

Tuesday, March 25, 2008

लस्ट ईन ट्रान्स्लेसन

नेपालीहरुले किन बिदेशीहरुलाई नेपालीमा फटाहा कुरा गर्न मात्रै सिकाउछन कुन्नि? अहिले मेरा सहकर्मी अलिशाले म नेपाली भएको थाहा पाएपछि उनले मलाई आफुलाई एउटा दुइटा नेपाली शब्द भन्नु आउछ भनेर सुनाइन् । मैले पनि अहो! कस्तो गजब रैछ भन्दै, लौउ सुनाउ न त तिमीलाई नेपालीमा के भन्नु आउछ भनेर सोधे । आफुलाई शब्द भन्नु आए पनि त्यस्को अर्थ चै थाहा नभएको जनाउदै खट्टो तितौरा खाँदा जस्तो अमिलो आँखा हुन्छ नि हो त्यस्तै एक्स्प्रेसन लाउदै उत्साहित मुद्रामा भनिन् - लट्टा जुस !! अनि के रहेछ यो Lotta Juice जस्तो सुनिने शब्दको अर्थ भनेर आफ्नो दिमाग केलाए । दिमागमा बत्ति उत्तिखेरै बलिहाल्यो अनि हल्का मुस्कुराएर उनलाई भने त्यसले तिमीलाई फोहोरो कुरा भन्नु सिकायो । अब अरु नेपालीलाई भेट्यौ भने त्यसो कहिल्यै पनि नभन्नु ।

यसै प्रसंगमा अर्को कथा घुसाईहालुम्,मेरा फेस्बुक मित्र बबीका अनुसार उनले एकजना कुइरेनीलाई नेपाली बोल्नु सिकाउने क्रममा "माई नेम इज जुली" लाई नेपालीमा भन्नु पर्दा "मेरो नाम जुली हो " भनेर भन्नुपर्छ भनेर सिकाएछन । बिचरी जुलीले नेपालीमा "हो" को अर्थलाई अङ्रेजी "Ho" को अर्थ लगाईछन र भनिछन, म जुली but I am not a Ho.

Tuesday, February 26, 2008

नर्थ कोरियाको एम्बसी

झम्सिखेल, जावलाखेलतिरै हो क्यारे नर्थ कोरियाको एम्बेसी भएको । अहिले सम्झिदा चै साह्रै हासुठ्छ । त्यो बेला त हामी दुई भाई बाहिर जाने भनेर निकै तात्तिएका थियौ । त्यसै क्रममा कहिले कुन एम्बेसी त कहिले कुनमा पुगिराको हुन्थ्यौ । थाईलेन्डकोमा पुगिएन कि? अस्ट्रलियाकोमा पुगिएन कि? फ्रान्स, जर्मनी कता-कताकोमा त पुगिएन होला? घुम्दा-घुम्दा वाक्कै भएर घर फर्किदै गरेको बेलामा बाटोमा झम्सिखेल नजिकै हो क्यारे-नर्थ कोरियाको एम्बेस्सी देखियो । दिनभरिको कुदाईले लखतरान परेको दुई भाई हामी साह्रै थकित भएर पनि होला,"लौ घर नजिकै रहेछ, यसमा पनि पसि हालौ" भनेर कुरा मिलाईयो । मोटरबाईक गेट नजिकै अड्याउनु अगाडी किन दिमागले काम गरेन कुन्नि? दिनभरि जुन जुन त भेट्छ त्यै त्यै एम्बसी पसेको भएर होला । गेट भित्र हेर्दा घर त सुनसान थियो । ओर्लेर गेटनिर भाको बोलाउने घन्टी थ्याच्छ थिचिहाल्लियो । घन्टी बज्ने बित्तिकै हामी दुवैको दिमागमा पनि बल्ल घन्टी बज्यो । त्यसपछि त हामी दुवै भाई एक अर्कालाई हेर्दै मनमनै प्रश्न गर्यौ । नर्थ कोरियामा मर्नु जानु छ र घन्टी थिचेको ? को पो जान्छ होला त्यहाँ काम गर्नु? त्यति भन्दै हामी दुवैको एकैचोटी हासो फुट्यो । त्यसपछि अताल्लिएर छिटो छिटो भागौ भनेर मोटरबाईकमा चढ्नु आटेको भरै त भित्रबाट एउटा नर्थ कोरियाली आईमाई आईपुगिन र इङ्लिसमा सोधिन,"तपाईहरुले कसलाई खोज्नु भएको होला?"

हामी फेरि ढाँट्नु पनि नजान्ने । इङ्लिसमै उत्तर फर्कायौ, "बाटो हराएर आईपुगिएछ, माफ गर्नुहोला, सरी!" भन्दै टाप कस्यौ ।

बिदेशिने क्रममा नर्थ कोरियाको एम्बसी पुग्ने पहिलो नेपाली हामी दुईजना दाजुभाई नै होला ।