Nepalese Folk Music

Tuesday, June 23, 2009

वेस्ट अफ् एनर्जी

बाहिर वेदर चिसो छ
घर भित्र चै किन केटाहरु
चिसो AC लगाएर
सिरक ओढेर सुत्छन्?
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
यो तेस्रो पल्ट हो
मैले उठेर AC बन्द गरेको

अर्को भाई छ जस्ले
दिन दिनै एउटा दुईटा टी-शर्ट
लन्ड्रीमा हाल्छ
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
उसलाई सबैले मैला जति पोको पारेर
सबै एकैचोटी धुनु भनेको
हिजो चै हातैले धुदै थियो

Monday, June 15, 2009

डोमिन्ङो र डोनट

मैले काम गर्ने ठाउमा तीन जना मेक्सिकनहरु पनि काम गर्छन् । एउटाले म संगै पकाउछ । अर्कोले भाडा माझ्छ । अर्को चै कुचो लाउछ garbage फाल्छ । उनिहरु संग काम गर्दा गर्दा फाट्टफुट्ट दुईचार स्प्यानिश कुरा पनि टिपिन्छ । उनिहरु स्प्यानिश बोल्दा नराम्रो कुरा बाहेको अरु चै ठम्म्याउन अलि गाह्रो हुन्छ । त्यो कुचो लाउने चै नयाँ मान्छे हो । पहिला काम गर्दैन थियो । भर्खर यो पालि मात्र आएको हो । लगभग चालिस उमेर पुगेको हुनुपर्छ-त्यसको नाम डोमिङ्गो हो । त्यसको बुढी पनि एउटै ठाउमा काम गर्छ । त्यसको बुढीले "मेक्सिकोमा US Dollar लग्यो भने मुचो दिनेरो हुन्छ" भन्छ । मलाई तिनार्ले "चिनित्तो" भनेर एक आपसमा चिनाउछन ।

मैले त्यसलाई एकपल्ट, "डोमिङ्गो!! यो मैला बाहिर लगेर फाल्नु जा!" भन्दा उसलाई मनमनै रिस उठेको जस्तो छ । म जस्तो फुच्चेले उ जस्तो पाकोलाई काम अर्हायो भनेर होला । सायद म अलिकति झर्किए क्यारे । त्यसलाई राम्रो सित इङ्लिस बोल्नु नआएर होला अरु मेक्सिनहरुसंग स्प्यानिशमा बोल्दै मलाई गाली गरेको हो क्या हो कुन्नि-नराम्रो शब्दहरु चै फ्याट्टै बुझिहालिन्छ नि । त्यसलाई निहुँ खोजुम भने इङ्लिस पनि राम्रो सित बुझ्दैन । त्यसको अनुहार देख्ने बित्तिकै ईरिटेटिङ लाग्थ्यो ।

त्यसले खाली मेरो खिसी मात्रै गर्ने अनि म पनि त्यसलाई देख्ने बित्तिकै इङ्लिसमा फोह्रो फोह्रो गाली गर्ने भैराको थियो भरै त एकदिन गार्बेज सिधै बाहिर फाल्नु नलगिकन किचन पछाडीको ढोका निर पो देख्छु । एल्ले के गर्दै छ आफ्नो काम नगरिकन,अब एल्ले मेरो गाली खाने भयो भन्दै गाली गर्नु तम्सिएर गाको त त्यसले त गार्बेजमा फालेको जति Donuts हरु टिप्दै छुट्टाएर अर्को सफा बाक्समा पो हाल्दै रैछ । दिनमा बिक्री नभाको जति डोनट सबै अन्तमा फालिन्छ । त्यसलाई केटीहरुले यो सबै डोनट फाल्नु भनेर अर्‍हाएको रैछन । इङ्लिस बोल्नु नजान्ने भएर होला फाल्नु भन्दा अगाडी माग्नु अफ्ठ्यारो मानेको हुनाले त्यसले चै गार्बेजमा फालिसके पछि ढोका पछाडी कसैले नदेख्ने ठाउमा ल्याएर त्यसो गरेको रैछ ।

"तैले के गरेको यो?" भनेर सोधेको त,"मी फेमिलिया" भनेर टाउको हल्लाउदै गार्बेजमा सफा जति डोनट केलाई रह्यो । "mi familia hungry" "very very hungry" भन्दै मेरो बालबच्चा अनि अरु परिवारलाई दिन्छु भन्दा खेरि पो साह्रै माया लागेर आयो । मेरो रिस सबै पग्लियो । उभ्भिएर हेरिराखे । घिनाउनु पनि अफ्ठ्यारो लाग्यो । तम्सिएर गाली गर्नु गाको गाली गर्नु पनि मन लागेन । "अर्को पालि मागिस भने गार्बेजमा फाल्नु भन्दा अगाडी सिधै काउन्टरबाट नै बाक्समा हालेर लैजा" भनेर भने । "कम्प्रेन्दे" भन्छ । आफैलाई नराम्रो लाग्यो । आजकल म त्यसलाई गाली गर्दिन । पहिला देख्ने बित्तिकै ईरिटेटिङ लाग्थ्यो । आज्कल त्यसो हुदैन ।

Tuesday, April 14, 2009

Wednesday, April 8, 2009

US पढ्नु पुगेको नेपाली विद्यार्थी

तपाईहरु कहिलेकाई कुनै एक्दमै अफ्ठ्यारो situation मा पर्नु भएको छ?
यो साङ्ली किरालाई जस्तै न एता न उता जाउ भाको छ?
हुन त ...नेपाल फर्क्यो भने पनि मेरो यै ताल हुन्छ भन्छन सबैले ...


हवाइ'ई मा साङ्ली किराको एक्दमै बिगबीगी छ । जति सफा गरेपनि आईहाल्छ । साङ्ली मार्ने दवाई कम्पनिले चै टन्नै कमाउछ । अस्ति राती पनि उठेर किचनमा टन्नै मारेको । तर आज चै बिचरा यल्लाई देखेर कुन्नि किन हो माया लागेर आयो अन्त यो साङ्लीलाई चै उठाएर घर बाहिर लगेर झारीमा नमारिकन छोडिदिए । I hope फर्केर किचनमा चै नआवोस् । नत्र फेरि ढिंच्च किच्चाई खान्छ ।

Tuesday, April 7, 2009

डलर थिएटर

हवाइ'ई मा बोईफ्रेन्ड र गर्लफ्रेन्डहरुलाई सस्तोमा मुभी हेर्न डलर थिएटरले सजिलो बनाईदिएको छ । यो थिएटरमा मुभी हेर्नको लागि खालि एक डलर भए पुग्छ । मैले युनिभर्सिटिको टन्नै केटा केटीहरु देखे । साथीभाइहरु र जोडीहरु पनि टन्नै थिए । हामी त्यहा पुग्दा भर्खरै मुभी सकिएर मान्छेहरु बाहिर निस्कदै थिए । कतिपय मान्छेहरु त भित्र मुभी सकाएर बाहिर निस्केपछि फेरि अर्को हेर्न पस्दरहेछन । एउटा मोट्टे मान्छे त बाहिर निस्केर फेरि टिकट काउन्टर अगाडी उभिएर फिला कनाउदै अर्को मुभी हेर्नलाई भित्ताको पोस्टर केलाउदै थियो ।

हामी सबैले स्ट्रीट फाईटर द लेजेन्ड अफ चुन ली हेर्ने भनेर कुरा मिलायौ । त्यस्तो खाले मुभीहरु त आजकल मनपर्नु छोडेछ । बुढो भैइयो कि क्या हो कुन्नि? तर पनि हल्का रमाईलो भयो । हाम्रो साथी स्ट्रीट फाईटर हेर्दा रुएको देखेर पो झन हांसुठ्यो । को पो स्ट्रीट फाईटर हेरेर रुन्छ होला?
चुन ली को हिल खाले जुत्ता निकै बलियो रहेछ । कति हो तल्ला माथिबाट भुईमा हाम्फाल्दा पनि उसको जुत्ताको हिल नभाच्चिएको । चुन ली लाई सोधेर आफ्नो गर्लफ्रेन्डलाई पनि त्यस्तै बलियो जुत्ता किनेर दिनुपर्ला ।

Tuesday, March 10, 2009

So Young

युनिभर्सिटी भित्रका हरुले सामान किन्नु पर्यो भने आफ्नो स्टुडन्ट आई डी कार्ड प्रायोग गर्छन । युनिभर्सिटीलाई जति पैसा तिर्यो त्यति नै बराबर पैसाको मुल्य कम्प्युटर द्वारा त्यो कार्डमा हालिदिएको हुन्छ । अनि तपाईले त्यहि कार्डबाट खाने ठाउमा व कफि खाने ठाउमा अनि किताब पसलबाट केहि किन्नु भयो भने त्यहि कार्ड देखाएर काम चलाइन्छ । त्यो कार्ड चै मसिनमा लुत्त्त स्वापे पछि पैसा काटिन्छ । तपाईको कार्डमा तपाईको फोटो सहित नाम पनि लेखिएको हुन्छ ।

आज दिउसो काम गर्दा खेरी एकजना केटी सामान किन्नु आईपुगिन् । केटी त नभनौ तर अलिक पाको उमेरको थिईन् । पक्कै पनि ३५ नजिक हुनुपर्छ । हेर्दा त्यस्तै देखिन्थिन् । म चै पैसाको रेजिस्टर चलाउदै थिए । सामान किने वापत उनीले आफ्नो कार्ड मतिर पसारिन । मैले कार्ड लुत्त्त स्वापे । कार्ड फर्काउन अगाडी उनको नाममा मेरो आखा पर्न गयो । अनि मैले पनि नसोचिकन फ्याट्टै भनि हाले । "oh my! you're card says you're So Young" पछाडी लाईनमा उभिएकाहरु हास्न थाले । उनि हाँसिनन । रिसाईन क्यारे । उनको कोरियन नाम पो रैछ So Young तर उमेर भने काटिसकेकी । मैले जिस्कायो भन्ठानिन होला । उनको नामै त्यस्तो परे पछि मैले के गर्नु? जे होस उनि भाग्यमानी रैछिन । भोली पर्सी लौरो टेक्ने बुढी बजै भउन्जेल पनि उनको कोरियन नाम अङ्रेजीमा चै "साह्रै तन्नेरी" रहने भो ।

Sunday, March 8, 2009

the mythical Medusa


Medusa was once a beautiful young woman with beautiful hair and a symbol of fertility. Men would fall for her hair and even the male gods had lustful desires for her. She once made a judgmental remark about the beauty of the sacred temple of Athena being incomparable to her beauty. In the sacred temple of Athena, the sea god Poseidon forcefully raped her. The goddess Athena found out about this desecration which took place in her sacred temple. In her rage, she punished Medusa because Poseidon was her uncle, the god of the Sea. Athena being the virgin goddess of War herself could not point fingers to blame Poseidon for his deeds in a male order society. Secondly, Athena also held part jealousy against Medusa's beauty. So, she turned Medusa's beautiful hair into snakes and deformed her into a monster's body and cursed her that any males regardless of their lustful desires, who would gaze into her eyes would turn them into a stone. Turning male body into stone not only implied death for them but also implied castration and reduction of a fertile male population. In a sense, she was turned into a symbol of infertility.

Medusa, in her despair, would now turn anybody into a stone with her gaze. Later Athena became aware that this curse could be yielded as a power to turn enemies into stone. Athena felt how her curse upon Medusa had made Medusa even stronger and powerful. Athena wanted to kill her and sent Perseus to assassinate her. Perseus was the perfect candidate for her assasination and Perseus trickfully slayed Medusa's head without looking at her face. The cutoff head still retained its powers. Perseus then used Medusa's cutoff head to defeat his enemies by showing it towards his enemies and turning them into stone. Later Perseus handed it over to Athena and then she placed Medusa's head into her shield which gave Athena even more power.

Moral: Stories from patriarchal society. Survival of the fittest. Gods are not flawless. Poseidon got away with his misdeeds and those who suffered from his actions were Athena and Medusa, collective victims of patriarchy. The misinformed (Perseus) perpetuates the problem. Those who are portrayed as monsters might not necessarily be a monster and those who seem aesthetically perfect could be shockingly evil.


Wednesday, January 14, 2009

नेपालीमा लोप्पा कसरी ख्वाउने ?

आफ्नो दायाँ हत्केलालाई राम्रो सित तन्काएर फिजाउने
लेफ्टी हो भने देब्रे हत्केलाको औंला सबै तन्काउने
नत्र दुईटै हत्केला फिजाए पनि हुन्छ
बुढी औंला बाँकी औंलाहरु भन्दा अलग्गै टाढा हुनुपर्छ
र बाँकी औंलाहरु चै जोडिएकै हुनुपर्छ भन्नेपनि छैन
अनि हत्केला तयार भएपछि आफुलाई रिस उठेको मान्छेको अनुहार नजिक लगेर
अनुहारलाई हत्केलाले पछाडी तिर धकेल्दै
निधार देखिन सुरु गरेर चिउडो सम्म पुरै अनुहार मजाले सोर्ने
सकेसम्म हातको पंजालाई victim को अनुहार पुरै छोप्पिने गरेर फिजाउने

अनि बिस्तारी मज्जाले टाईम लिएर सोर्दा खेरी "ईइ..... हो तेरो" भनेर भन्ने । आफु भन्दा अलिक बलियो र डरलाग्दो opponent छ भने चै छिट्टो भन्दा छिट्टो स्वात्त्त लोप्पा खुवाउने अनि भाग्ने ।

Thursday, January 8, 2009

बिचरा गम्बु

बच्चा बेलामा घरमा एउटा सानो कुकुर ल्याईदिनु भयो । पहाडबाट ल्याएको ठुलो जातको कुकुर हो क्यारे । सानो थियो तर एक्दमै भुक्क परेको । खैरो खैरो भुत्ला भाको, नाम चै "गम्बु" । भात खादा पनि मेरो मासुको चोक्टा त्यसलाई छुट्टाएर दिन्थे । हड्डी जति मैले खान्थे । मासु चै त्यस्ले । टोलमा भुस्याहा कुकुरहरु टन्नै थियो । त्यसैले बाहिर नजावोस् भनेर अगाडी ढोकाको चुक्कुल सधै लगाएर राख्थे ।

त्यो बेला होस्टलमा एकाबिहानै उठ्नु पर्ने बानी,घरमा ढिलो सम्म सुत्नु पाउदा त कस्तो सन्चो हुने,अबेर सम्म सुतिन्थ्यो । एकदिन त कसरी हो एकाबिहानै ६ बजे गम्बु त ढोका बाहिर पो पुगेछ । अनि आमाले "तेरो कुकुर बाहिर पुगेछ है, भाग्ला, जा! गएर ल्याईज" भन्नुभयो । टोलको ठुल्ठुलो भुस्याहा कुकुरहरुले टोक्देला भनेर अत्ताल्लिदै हत्त न पत्त बिस्तराबाट हाम्फालेर गम्बुलाई समातेर भित्र ल्याए । "राती सुत्ने बेलामा पनि ढोकाको चुक्कुल राम्रै सित लगाको हो, कसरी बाहिर निस्किनु सकेछ ? थाहा नै भएन" भन्दै फेरि बिस्तरामा गुट्मुटिनु पुगे । आमाले "अर्हे! उठ् फेरि पो सुतेछ यो त" भन्नु भएपनि म सुतिरान्थे ।

भोलिपल्ट पनि फेरि आमाले "तेरो कुकुर बाहिर फुत्क्यो, जा! लिएर आइज" भन्नुभयो । कस्तो अचम्म? त्यस्तो एकबिहानै चिसोमा बिस्तराबाट निस्किनु पर्दा कस्तो गाह्रो हुन्थ्यो । त्यैमाथि बल्ल बल्ल होस्टलबाट फुत्केर घरमा मनपरी सुत्नु पाईराको बेलामा एकाबिहानै उठ्नु पर्दा झन कस्तो हुन्छ त्यो त होस्टल बस्नु भाको छ भने तपाईलाई पनि थाहा होला । मन नलागि नलागि बिस्तरा छोडेर बाहिर गयो अनि समातेर फिर्ता ल्यायो । फेरि अर्को दिन पनि त्यस्तै ! छक्कै पर्नु । कुकुर बाहिर निस्किनु नसकोस भनेर राति सुत्नु अगाडी झन चुक्कुल पनि दुईचोटी चेक गरेर ढोका लगाउदा-लगाउदै फेरि पनि बाहिर पुगिराकै हुने । दिनदिनै हरेक बिहान उठेर लिनु जानुपर्ने ।

सध्धै त्यस्तो हुन थालेपछि त एक्दिन् त साह्रै रिस उठ्यो । रिसको झोंकमा बिस्तराबाट जुरुक्क हाम्फालेर स्वाई-स्वाई गर्दै बाहिर निस्के (मैले ट्र्याकसुट लगाएर होला त्यस्तो आवाज निस्केको) र अनि बाहिर पुगेर त्यो गम्बुलाई पाखुरामा दुईटा हातले च्याप्प पक्रेर भित्र ल्याएर भुईमा ठ्याक्क् राखे । अनि मेरो खुट्टालाई पछाडी बेस्स्स्स्मारी तन्काएर त्यसको पेटमा ढ्याम्म्म्म्म लात्ता हानेको त बिचरा त्यत्रो फुच्चे सानो कुकुर त कस्तो हुत्तिएर मेरो टाउकोको लेभलसम्म चुइइईय हावामा उडेको र कस्तो नराम्रो गरेर भुईमा भ्यात्त्त्त्त पत्राकिएको । बिचरा त्यस्को जतानामको भात खाएर टुन्न फुल्लिने पेटमा कसिलो जोड खादा त कस्तो साह्रो दुख्यो होला । पछि त आफैलाई "लाह!रिसको झोंकमा कस्तो पाप गरिएछ" भनेर डर-डर पनि लाग्यो । माया पनि लाग्यो । पुच्छर लुकाएर कुईकिरहेको गम्बुलाई फेरि च्याप्प समातेर सुम्सुम्याउनु थाले । आमाले पनि गाली गर्नुभो । आफैले गरेको काममा कस्तो नरमाईलो लाग्यो ।

भरै त पछि थाहा भयो । आमाले नै पो मलाई बिस्तराबाट छिटो उठाउने बानी बसाल्नु पर्‍यो भनेर ढोका खोल्दिनु हुदोरैछ । त्यसरी पो त्यो एकाबिहानै घर बाहिर पुग्दोरैछ । बित्थामा गम्बुलाई मैले लात हानेको । बिचरा गम्बु !

Thursday, December 25, 2008

त्यो भालेले अझै चिथार्छ

सानोमा हाम्रो घरमा एउटा भाले कुखुरा थियो । टोलको मान्छेहरुलाई ठुंङेर हैरान पार्थ्यो । भाले पनि निकै ठुलो थियो । नजिक पर्नु पनि कस्तो डर लाग्थ्यो । त्यो भाले सित त हाम्रो कुकुर पनि डराउथ्यो । हाम्रो कुखुराको खोर दुई तल्ले थियो । पोथी जति तल्लो खोरमा बस्थे । सायद अण्डा टिप्नु सजिलो हुन्छ भनेर होला आमाले त्यसरी राख्नु भएको । अनि त्यो रातो जुरेली भएको भालेले आफ्नो खोर बाट तलतिर सिमेन्टको भुईमा हाम्फालेर झर्दा पनि कस्तो साह्रो ठुलो "ढ्वाक्क्" आवाज निकाल्थ्यो । सानोतिनो मान्छेले हाम्फालेको जस्तै लाग्थ्यो । त्यसको नङ्रा पनि कति साह्रो चुच्चो थियो । हाम्रो आमालाई मात्रै नठुंङ्ने । बाँकी घरको सबै डराउनु पर्ने ।

जालीको ढोका च्याँss गरेर खोल्दा ढोकाबाट निस्किने मान्छेलाई त्यो भालेले कस्तो ध्यान दिएर हेरिराको हुन्थ्यो । जाली ढोका पनि आवाज नआउने गरेर बिस्तारी खोल्नु पर्ने अनि एक्दमै बिचार पुर्‍आएर पाइला चाल्नु पर्ने । पछाडी हेरेर हिड्दा हिड्दै पनि कताबाट एक्कास्सी कुद्देर आएर ठुङिहाल्थ्यो । हाम्रो घरको टोइलेट पनि घर बाहिर थियो । त्यै माथि पारी पाखा कुखुराको खोर । त्यै बाटो भएर जानु पर्ने । त्यस्तो पारी कुखुराको खोर हुँदाहुदै पनि डराई डराई टोइलेट छिर्नुपर्ने । त्यसैले त्यसको खोरको ढोका खुल्लै छ भने बरु पहिला म आमालाई बोलाउथे । मलाई टोइलेट जानु पर्यो भने त हाम्रो यस्तो खाले पानी उगाउने भाडा थियो । म त त्यो भाडामा पानी लिएर जान्थे । अनि भाले नजिक-नजिक आयो भने पानीले छेप्दिन्थे । अन्त परै बस्थ्यो । अनि बेस्मारी दौडिएर टोइलेटभित्र पसेर छिट्टो छिट्टो चुक्कुल लाउथे । फेरि निस्किने बेलामा टेन्सन हुन्थ्यो । टोइलेटको ढोकाबाट बिस्तारी चिहाएर त्यो भालेको उपस्थिति हेरिकन बिचबाटो काटे झै दाया र बाया हेरेर मात्रै दगुरिन्थे । एक्दमै टाईमिङ मिलाउनु पर्ने नत्र हमला भैहाल्थ्यो ।

बिचरा हाम्रो हुन्सिङ दाईलाई पासुलामा ठुङेर कस्तो नराम्रो चोक्टै उडाईदेको थियो । अहिले सम्झिन्दा त साह्रै हास उठ्छ । त्यो भालेले ठुङ्ने बेलामा आफ्नो घाँटी तन्काएर टाउको वरपरको प्वाँखहरु जति सबै मजुरले जस्तै फुल्लाउथ्यो । काट्टीकुट्टी एउटा त्यो जुरासिक पार्कको जनावर जस्तै देखिन्थ्यो । अनि त्यै सोचेर म डराउथे । जे होस् त्यो भालेले अरु भालेहरुलाई पनि थर्काएर राखेको थियो । हुन त म पनि घरको एउटा सानोतिनो भाले नै थिए । तर मलाई त्यसले ठिक पारेको भन्नु चै मिल्दैन, त्यो संग म अलि अलि मात्रै डराउथे । पछि त्यो भालेलाई बुढेसकाल लागेर होला आफ्नै खोरमा मात्रै बस्थ्यो हरे । म त घर छोडेर होस्टल गैसकेको थिए । आमाले त्यो भाले आफै मर्‍यो कि नत्र काटेर खायौ भन्नु भयो कुन्नि? बिर्सिए । तर छुट्टीमा घर आउदा भने नडराईकन टोइलेट पस्नु पर्दा खल्लो लाग्नेरहेछ । त्यो भालेको निकै याद आउथ्यो । हुदा पनि रिस उठ्ने, नहुदा पनि खल्लो लाग्ने । सानोको कुराहरु सम्झिन्दा रमाईलो लाग्छ । जे होस्, कहिले कसो त्यो भालेको सम्झनाले अझै चिथार्छ ।

Thursday, December 18, 2008

नाममा के छ ?

हैन के हो गाठे यस्तो । कहिले केस्को नाम फेरियो भनेर सुन्निन्छ कहिले कुन्नि के को। पहिले राष्ट्रिय गान फेरियो भनेर सुनेको थिए । त्यस पछि पासपोर्टमा भएको छाप । अहिले आएर फेरि त्रिभुवन विश्वबिद्यालय को नाम फेरिन्दै छ हरे । त्यसै गरी राजमार्ग अनि त्यस्तै-त्यस्तै सम्पूर्ण राजपरिवार संग जोडिएको सबै नामहरु फेरिन्दै छ हरे ।

सोच्दैछु,कता-कता कुरा पचाउनु गाह्रो भैराको छ मलाई । हुन त राम्रै गरेको हुन कि नराम्रो त्यो म अहिल्यै चै भन्नु सक्दिन । हुन त सानो-सानो कुरा पछि गएर ठुलो हुन्छ भन्छन । लामो अवगतमा राम्रै नतिजा आउछ भने त ठिकै छ तर के भनेको-सोचेको-खोजेको जस्तै होला त? हुन त परिवर्तन भनेको एकै रातमा हुने कुरा होइन, समय लाग्छ भनेको भएर मात्रै चित्त बुझाएर बसेकोछु ।

केराको बोक्रालाई रातो रंगाए पनि भित्रको गुदी त केरै रहन्छ नि होइन र? सायद मेरो एनालजी एक्दमै मिलेन तर मैले के भन्नु खोजेको भन्दा खेरि राष्ट्रिय गान फेरेर सारा नेपालीलाई आफ्नो जन्मभूमि प्रति माया जाग्ने हो भने पो बल्ल रमाईलो भयो त । त्रिभुवन विश्वविद्यालय को नाम मात्रै होइन शिक्षा प्रणालीमा परिवर्तन ल्याएर हामी नेपाली बिद्यार्थीले बिदेशीको लागि काम नगरी आफ्नै देशमा कर्मको मेहनतले उच्चस्तरको शिक्षा हासिल गर्नु पाए पो बल्ल नाम फेरेको रमाईलो पनि हुनेछ । महेन्द्र राजमार्गको नाम मात्रै होइन बाटोमा टायर जलाउनेहरुको सोचाईमा परिवर्तन, पासपोर्टमा लगाईने छाप मात्रै होइन, सरकारद्वारा बिदेसिएका लाखौ नेपाली नागरिकको सुरक्षा र हितमा देखिएको कमिमा परिवर्तन ल्याउन सके पो नाम फेरेकोमा मज्जा पनि आउछ ।

तर अहिले मलाई एउटा कुराले चै चिन्ता लागिराको छ । त्रिभुवन बिमानस्थलको नाम त उनिहरुले पक्कै पनि फेर्न सक्दैनन् । नत्र बिचरा नेपाली विद्यार्थीहरु भर्खर सेमेस्टर सकेर अमेरिकाबाट नेपाल घर छुट्टी मनाउछु भनेर निस्केकाहरु कतै त्रिभुवन बिमानस्थल नपुगि अर्कै बिमानस्थलमा पुगेको चाल पाएर नअताल्लिउन् । आजकलको जमानामा त्यसै त प्लेन भनेको ठाउँमा ल्येन्ड नभएपछि हाईजेकमा पो परिएछ कि भन्ने डर हुन्छ । यात्रुहरु त होइन फेरि पाईलटहरु नै पो झुक्किएर, "आई?? काठमान्डुको कोअर्डिनेटस हरु त सबै मिल्छ तर फेरि अएर्पोर्टको नाम चै भिन्दै छ!" भनेर फेरि ल्यान्ड नगरी सिधै कान्दाहार पुर्याउन बेर नलाउन ।

जे होस्, साह्रै कम्प्लेन गर्ने बानी पनि लागेछ यार बिदेशमा बसेर । म पनि कतै ती देश बाहिर बसेर नेपालमा खाली यो भएन र त्यो भएन, नेपालमा यो छैन र त्यो छैन भनेर थुतूनो मात्रै खेलाउने बुध्दिजिवीहरुमा परिणत हुनु आटेको त हैन? मेरो पनि नाम फेर्ने बेला भएको त होइन कतै? ओहो डर पो लाग्यो । धेरै क्रिटिसाइज नगरुम । अब चुप लाग्छु ।

Tuesday, November 25, 2008

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

थेंक्सगिभिङ डे आउदै छ । यो बेला कलेजहरुमा छुट्टी हुन्छ । कुइरेहरुको दशै सरह चाड हो यो भन्नु सकिन्छ । टाढा टाढाबाट परिवारजनहरु यो चाड मनाउनु घर फर्किने गर्दछन् । यो बेला सबैजना अबेर सम्म सुत्ने, ढिलो उठ्ने गर्दछन । परिवारका सदस्य सबै सङै बसेर खाना खाने गर्दछन । यो चाडको मुख्य भोजन चै टर्की हो । उहिले जमानामा यहाको नेटिभ अमेरिकनहरु र कुइरे बिच एक आपसलाई धानबालाको साटोमा टर्की दिएर धन्यबाद दिएको देखिनको चलन हो हरे । अब यो नोभेम्बर २७ तारिक मनाउदैछन फेरि कुइरेहरु ।

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

क्रिस्च्यन धर्म अनुसार हिन्दु लगायत अन्य धर्म जस्मा पशुबलि चढाईन्छ अथवा पशु मारकाट गरिईन्छ त्यि सबै धर्महरु विह्चक्राफ्ट (बोक्सी तंत्र) हुन भनेर बुझिएको पाईन्छ । मैले हिन्दु धर्मको पक्षमा बोलेको होइन । तर यो कुरालाई एसो बिचार गरेको । यो थेंक्सगिभिङ पर्व सांस्कृतिक होस् या धार्मिक,जेसुकै भने पनि आखिर मनाउनेहरु त मुख्य क्रिस्च्यनहरु नै हुन नि ।

भनेपछि क्रिस्च्यनहरुले पनि आखिर आफ्नो चाडपर्वमा सिधै देवतालाई चर्चमा पशुबलि नचढाए पनि आखिरमा कुखुरा वा टर्की फारममा भए पनि नदेखिदो पाराले पशुबलि त चढाउदा रहेछन् नि त । जसोसुकै गरे पनि अन्त्यमा रक्तपात त भैहाल्यो नि । भने पछि कुन् धर्म विह्चक्राफ्ट भयो त?

Saturday, November 22, 2008

आफ्नो तरकारी आफै रोपौं

नेपालमा भित्रिने सयौ ट्रकलोडका फलफूल तरकारी भारतको कुन राज्यबाट आउने गर्दछ? त्यहा तरकारी ब्यवसायिक रुपमा हुर्काईने भएकाले बारीमा कस्तो खाले बिउ छरिईन्छ त? भारतमा मात्रै नभैइ नेपाल भित्रै पनि बारीमा छरिने बिउ कहाँबाट आउने गर्दछ होला? कतै ती सबै बिउहरु बिदेशी ल्याब्रटरीमा सुई घोचेर जेनेटिकली बनाईएको त होइन कतै? हाम्रा आमा बाबा भाई बहिनीहरुले पनि यस्तै सुई घोचेर बनाईएको तरकारी त खाईरहेका छैनन्? खासगरी गर्भवती महिलाहरु । कस्तो खाना खाई रहेका होलान् मेरा भाई बहिनीहरुले?

Friday, November 21, 2008

नेपालको झण्डा

जेकी चेनले हंगकंगमा आफ्नो अफिसरलाई फोन गर्छ । अफिसर चै दिन भरि बिदेशबाट आउने फोनकलमा ब्यस्त भएपछि थकित छन अनि आफ्नो बुढीलाई उठाउन लगाउछन । टेबलमा टन्नै देश-बिदेश बाट आउने फोनकलको लागि फोन झण्डा अनुसार मिलाएर राखिएको छ । तर एउटा कुरा मैले बुझिन । के त्यो जमानामा हरेक देश बिदेशबाट आउने फोनकलको लागि छुट्टाछुट्टै फोन हुने गर्थ्यो र? फोन त केवल एउटै मात्रै भए पुग्दैन र?

Tuesday, November 18, 2008

चिल्ड्रन अफ हेभन्

आज दुईतीन दिन भयो । निकै रमाईलो रमाईलो फिल्महरु हेरियो । अरु बेला हेर्नु मन लाग्दैन, उहि जाँच आउने बेलामा चै टन्नै हेरिन्छ । हालै हेरेको फिल्महरु मध्ये मलाई साह्रै मनपरेको चलचित्र एउटा "चिल्ड्रन अफ हेभन्" हो ।

यो चलचित्रको दुईटै भाग हेर्नुको लागि तलको लिंकमा थिच्नु होला ।

चिल्ड्रन अफ हेभन् (१)
चिल्ड्रन अफ हेभन् (२)

Saturday, November 8, 2008

तिमीहरु धेरै दाँत न तिखार

मलाई फेरी मासु खाने बिचार फर्केर आयो । साकाहारी हुनु त निकै गाह्रो पो हुँदोरैछ । सायद तपाईहरुलाई पनि यस्तै लागेर होला साकाहारी हुनु मन नपरेको । तर मासु नखादा भने जीउ चै एक्दमै हल्का भएको मलाई लाग्यो । हुन त मासु खानु चै ठिक होइन जस्तो लाग्छ । बिचरा कुखुरा, गाईगोरु, भैसी, बाख्रालाई हामीले हाम्रो उपभोगका लागि भनेर हुर्काउने गर्दछौ । कस्तो पापी हामी ! तर हामी बाच्नुको लागि भनेर मासु खाने गर्दछौ । यहि कुरा सोचेर चै मैले पनि होस् हौ अब देखि म पनि मासु खानु थाल्छु भनेर सुर कसेको छु तर एउटा खण्डमा !

म रहुन्जेल चै म कुखुराको मासु खाएर बाँच्छु तर मेरो कथा सकिसकेपछि चै मेरो हरेक पाटपुर्जा भोको गिद्धलाई चढाईनुपर्छ ।

मासु खान रुचाउने त्यी सबै मांसाहारी महानुभावहरु जसलाई आफु बाच्नुको लागि भनेर अर्काको मासु खानु चै कुनै आपत्ति नहुने तर फेरि आफु मरिसकेपछि आफ्नो जिउ चै भोको गिद्धलाई चढाईनु हुदैन भनेर जिउको चिन्ता पनि गर्ने? त्यो त साह्रै लोभी बिचार भयो नि । "आफुले अर्कासित केही कुरा लिईसकेपछि ज्ञानपूर्वक फिर्ता फर्काउनु पनि जान्नु पर्छ" भन्ने कुरा तपाई-हामी सबैले सानोमै सिकेको कुरा होइन र? यति ज्ञान हुदाहुदै पनि अनेक थरी निहुँ बनाएर कुरा बङाउने त्यस्ता स्वार्थी,मतलबी अनि लोभी महानुभावहरुलाई कुनै पनि कुराको मासु खाने कुनै अधिकार छैन !!! तिमी मोरामोरीहरु टोफु खाएर बसो ।

Wednesday, October 15, 2008

feeling infinitely finite

Ananta used to be very proud of his name which translates to "infinity". But after reading a book on philosophies in religion; to his revelation, he absolutely feels "infinitely finite". He asks himself, "What have you accomplished to live up to your name?"

(Nothing.)

How unfortunate? How hedonistic? He was miserably failing to apprehend the gist of his name. He suddenly realizes that it should be his action, not his title that describes him. He hopes to live up to his name someday, like you all do.

Help!
please throw in some,
your words of wisdom.

Saturday, October 4, 2008

एउटा बुढी बज्यै

हिजो विश्वविद्यालय तिर लाग्दा गाडीमा बसेको । छेउको सीटबाट एउटा बुढी बज्यैको झर्ने पालो आएको थियो क्यारे, गाडी रोक्नु भन्दा अगाडी नै जुरुक्क उठेर हिड्नु थालिन् । गाडी ओरालो लाग्नु थाल्यो र एकास्सी बीच बाटोमा ब्रेक हानेर रोक्दा त बिचरा बुढी बजै झन्डै लडेको गाडी भित्रै । आँखा अगाडी बुढी बज्यैलाई बल्ड्याङ खानुबाट रोक्नु सक्दासक्दै पनि चुप लागेर लडेको हेरेको भा झन कत्ति नराम्रो लाग्नेथियो । धन्न कसो समयमै बुद्धि पुर्‍याइएछ । मैले उनलाई हात दिएर नसामेतेको भा के पो हुन्थ्यो । बिचरा बुढी बज्यैलाई सहयोग गरेकोमा साह्रै खुसी ब्यक्त गर्दै धन्यबाद दिईन् । सायद भलो गर्ने बानी नभएर होला, कहिले कसो गर्ने मौका पाउदा त त्यतिखेर भने आफैलाई निकै राम्रो काम गरेको जस्तो लाग्यो । म पनि मुसुक्क हासेर "its alright" भन्दै हात हल्लाए । बज्यै बिस्तारी गाडीबाट ओर्लिन्दै आफ्नो बाटो लागिन् ।

हुन त कुनै गर्व गर्ने कुरा त होइन । त्यैपनि ब्लग खाली नहोस भनेर यो कुरा पनि लेख्दिहालेको नि । फेरि आफैले आफ्नै गीत गायो भनेर जमाउन खोजेको जस्तो लाग्यो भने त्यसो नसोचिदिनु होला ।